Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ दशमलव तीन प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप

१५ दशमलव तीन प्रतिशतले बढ्यो बैंकिङ क्षेत्रको निक्षेप

चालू आर्थिक वर्षको सुरुवाती सातासम्मको कुल निक्षेप ४६ खर्ब ९३ अर्ब


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ दशमलव तीन प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३ दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २० दशमलव आठ प्रतिशतले बढेको छ । २०७८ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः आठ दशमलव छ प्रतिशत, ३४ दशमलव तीन प्रतिशत र ४८ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव सात प्रतिशत, ३२ दशमलव दुई प्रतिशत र ४८ दशमलव दुई प्रतिशत रहेको थियो । २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१ दशमलव २२ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०७७ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ९८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४ दशमलव नौ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १० दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २६ दशमलव तीन प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५ दशमलव दुई प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५ दशमलव तीन प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह नौ दशमलव नौ प्रतिशतले बढेको छ ।

२०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव सात प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव पाँच प्रतिशत र १३ दशमलव तीन प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ४० दशमलव दुई प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १९ दशमलव एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १४ दशमलव छ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५ दशमलव नौ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २५ दशमलव चार प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १८ दशमलव नौ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४ दशमलव आठ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८ दशमलव दुई प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४ दशमलव एक प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११ दशमलव नौ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७ दशमलव छ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३ दशमलव दुई प्रतिशतले बढेको छ । यस अवधिमा हायर पर्चेज कर्जा भने पाँच दशमलव पाँच प्रतिशतले घटेको छ । 

राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन उपकरण बिक्री गर्ने
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन उपरकण जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार साउन १३ गते अर्थात् आज बुधबार अपराह्न ३ बजेसम्ममा उक्त परिमाणमा मौद्रिक उपकरण जारी गर्न लागिएको हो ।

बोलकबोलको माध्यमद्वारा बिक्री गर्न लागिएको यो निक्षेप संकलन उपकरणको परिपक्व हुुने अवधि १४ दिन तोकिएको छ । सो अनुसार उपकरणको सावाँ ब्याज भुक्तानी मिति भने २०७८ साउन २७ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्नसक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।

खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोको रुपमा समेत प्रयोग गर्र्न सकिनेछ ।

साउनको पहिलो सातासम्म पुग्यो ४६ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप
चालू आर्थिक वर्षको सुरुवाती सातासम्म बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप ४६ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरुले मात्र उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।

उक्त निक्षेपमध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको निक्षेप ४१ खर्ब ५८ अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले संकलन गरेको निक्षेप पाँच खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल कर्जा रकम भने ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । उक्त कर्जामध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ३७ खर्ब सात अर्ब र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कर्जा रकम चार खर्ब ४८ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x