Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राइकोट इन्डस्ट्रिजका सीईओ चाण्डोक पक्राउ

ट्राइकोट इन्डस्ट्रिजका सीईओ चाण्डोक पक्राउ


विराटनगर । विराटनगरका उद्योगी बासुदेव गोल्यानका छोरा शक्ति गोल्यानले सञ्चालन गर्दै आएको तयारी पोसाक उत्पादन गर्ने ट्राइकोट इन्डस्ट्रिज प्रालिका सीईओ सञ्जय चाण्डोकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । गोल्यानले सञ्चालन गर्दै आएको उद्योगमा कार्यरत श्रमिकहरूले सीईओ चाण्डकले पटक–पटक दुर्व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उद्योग परिसरमा उपस्थित ठूलो संख्यामा भेला भएका श्रमिकहरूले सीईओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुर्व्यवहार गर्नुको साथै पुरूष श्रमिकहरूलाई कामबाट निकाल्ने धम्की दिने गरेको भन्दै कारबाहीको माग राखेका थिए । कर्मचारी आन्दोलित भएपछि उक्त उद्योगमा प्रहरी पुगी उद्योगका सीईओ चाण्डकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।

प्रहरीले थप अनुसन्धान गरेर घटनाबारे सार्वजानिक गर्ने बताएको छ । अहिले सीईओ चाण्डोक प्रहरी नियन्त्रणमा नै रहेका छन् । उद्योगमा कार्यरत श्रमिक महिलाहरूलाई सीईओ चाण्डकले पटक पटक दुर्व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको त्यहाँ कार्यरत मजदुरले जानकारी दिएका छन् । सीईओ चाण्डकले दिएको पीडा सहन नसकेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ । उद्योगमा कार्यरत करिब तीन सय श्रमिक पछिल्लो समय आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले दुव्र्यवहार गर्ने सीईओलाई हटाएर प्रशासनले कारबाही गर्नुपर्ने र उद्योगले श्रम ऐनले तोकेअनुसारको सेवा सुविधा दिनुपर्ने माग राखेका छन् ।

उद्योगी गोल्यानले नियुक्ति गरेका सीईओ चाण्डोक भारतीय नागरिक हुन् । मजदुरले सीईओ चाण्डोकले उद्योगको एचआर फाँटकी एक महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप पनि लगाएका छन् । उनीहरूका अनुसार उद्योगमा कार्यरत २४ वर्षीय एक महिला कर्मचारीसँग सीईओ चाण्डोकले व्यक्तिगत मामलाका कुराहरू सोधखोज गर्ने, रातिराति फोन गर्ने र काममा चित्त नबुझेको भन्दै तनाव दिने गरेका थिए । उक्त घटनाको बारेमा जानकारी लिन खोज्दा सञ्चालक शक्ति गोल्यान भने सम्पर्कमा आउन चाहेनन् । तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको ट्राइकोट इन्डस्ट्रिजमा ३५० जनाभन्दा बढी मजदुर कार्यरत छन् । जसमध्ये एक सय ५० को संख्यामा महिला कामदारहरू मात्र कार्यरत रहेका छन् ।

तीन वर्ष अगाडि चाण्डोक सीईओको जिम्मेवारीमा आएपछि महिला मजदुरहरू दुव्र्यवहारमा पर्न थालेको श्रमिक महिलाहरूले जानकारी दिएका छन् । उद्योग सञ्चालक शक्ति गोल्यानले पनि त्यहाँ कार्यरत मजदुरबाट उजुरी आएपछि उद्योग अनुगमनमा पुगेको ट्रेड युनियन र श्रम कार्यालयको टोलीलाई समेत अनुगमनमा अवरोध पु-याउँदै आएका थिए । जसका कारण मजदुरहरूको मागअनुसारको अनुगमन हुन नसकेको मजदुर नेताहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x