Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारछैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक

छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक


काठमाडौं । अर्थ मन्त्रालयले छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार मन्त्रालयमा आयोजित एक समारोहबीच भन्सार सुधार योजना सार्वजनिक गरेका हुन् । सोही कार्यक्रममा उनले नेपाल राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरूको संगालो समेत सार्वजनिक गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजनामा समावेश गरिएका विषयहरूबाट सेवाग्राहीहरू सन्तुष्ट भएर अपेक्षित लक्ष्य हासिल भए मात्र यसको सफलता ठहरिने बताए । उनले पारदर्शी र सरल भन्सार प्रशासन सञ्चालनको लागि छैटौँ सुधार योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । नीतिगत र कानुनी सुधार योजना आए मात्र भन्सार सुधार योजनाले साकार रूप लिने भएकोले त्यसतर्फ आफूले ध्यान दिने उनको भनाइ थियो । उनले राजस्व परामर्श समितिले दिएका सुझावहरूले आगामी नीति निर्माणको लागि महत्वपूर्ण सन्दर्भ सामग्रीको काम गर्ने बताए । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार सुधार योजनामा राखिएका विषयहरू भन्सारमा कार्यरत हरेक कर्मचारीका व्यक्तिगत कार्यसम्पादनका प्रतिबद्धताहरू भएको बताए । छैटौँ सुधार योजनाले भन्सार प्रशासन र भन्सार राजस्वका क्षेत्रहरू व्यवस्थित भई अपेक्षित उपलब्धि हासिल हुने उनको विश्वास थियो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुषाल र नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले विषयवस्तुको संक्षिप्त प्रस्तुति गरेका थिए । छैटौँ भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न पाँचवटा उपलब्धिहरू प्रक्षेपण गरिएको छ । व्यापार सहजीकरण, थथार्थपरक राजस्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिको रूपमा राखिएको छ ।

व्यापार सहजीकरणअन्तर्गत निकासी पैठारी प्रक्रियालाई सहजीकरण गर्नेगरी यसलाई समयसापेक्ष, लागत प्रभावी र अनुमानयोग्य बनाइने, यथार्थपरक राजस्व संकलनअन्तर्गत भन्सार कानुनको परिमार्जन र परिपालना गर्दै यथार्थपरक राजस्व संकलनमा वृद्धि गर्ने, समाजको संरक्षण एवं सुरक्षाअन्तर्गत मुलुकमा अवैध व्यापार र हानिकारक मालवस्तुहरूको आवागमनलाई निषेध गर्न मालवस्तुको परिवहन, ढुवानीका साधनहरू र ढुवानीका उपकरणहरूउपर निगरानी एवं नियन्त्रणका उपायहरू अवलम्बन गरिएको हुने योजनाको उपलब्धिमा उल्लेख छ । यस्तै योजनाअनुसार स्वचालित भन्सार प्रणालीअन्तर्गत भन्सार जाँचपासका सबै प्रक्रियाहरू प्रविधिद्वारा स्वचालित गरिएको हुनेछ । देशभरका २९ वटा भन्सार कार्यालयहरूमा ‘नेपाल भन्सार स्वचालन प्रणाली’ कार्यान्वयन गरिएको हुनेछ ।

संगठनात्मक विकास र क्षमता अभिवृद्धिअन्तर्गत भन्सार प्रशासनको प्रतिस्पर्धात्मक क्षमता अभिृद्धि गर्ने लक्ष्य राखिएको छ । आधुनिक भन्सारका मापदण्ड लागू गर्नको लागि संगठनात्मक क्षमता बढाइउने लक्ष्य योजनामा समावेश गरिएको छ । भन्सार सुधार योजनाले उल्लिखित उपलब्धिहरूअन्तर्गत १५ वटा प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ । उक्त उपलब्धिअनुसार व्यापार सहजीकरण, समन्वयात्मक सीमा व्यवस्थापन, स्वेच्छिक अनुपालन, प्रभावकारी जाँचपासपछिको परीक्षण, राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार, भौतिक पूर्वाधारमा सुधार, व्यवस्थापकीय क्षमताको सुदृढीकरण, राष्ट्रिय सुरक्षा, जनस्वास्थ्य, अर्थतन्त्र, बौद्धिक सम्पत्तिको संरक्षण, वातावरण र समाजको संरक्षणका क्षेत्रमा सहजीकरणलगायत रहेका छन् ।

यस्तै सरोकारवालाबीच समन्वय र सञ्चार, सुदृढ जोखिम व्यवस्थापन, यथार्थपरक राजस्व संकलन, स्वचालित प्रणालीको विस्तार, वैदेशिक व्यापार तथ्याङ्क व्यवस्थापन, सदाचार र सुशासन प्रवद्र्धन, सामाजिक सुरक्षाका लागि नीति तथा प्रक्रियाहरूको एकीकृत ढंगले कार्यान्वयनजस्ता प्रतिफल छैटौँ भन्सार सुधार योजनाले अपेक्षा गरेको छ । नेपालमा राज्यको उत्पत्तिसँगै सुरु भएको भन्सार प्रशासनले विसं २०६० देखि भन्सार सुधार कार्ययोजना लागू गर्दै आएको छ । पाँचौँ भन्सार कार्ययोजना २०७८ असारमा सम्पन्न कार्यान्वयनमा ल्याइएको थियो ।

यस्तै कार्यक्रममा नेपाल राजस्व परामर्श समितिले गठनको एक वर्ष पुगेको अवसर पारी पहिलो वार्षिक प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको छ । साथै समितिले १३ वर्षयताका राजस्वसँग सम्बन्धित विभिन्न सुझावहरू समेटिएको पुस्तक समेत सार्वजनिक गरेको छ । ‘राजस्व परामर्श समितिका सुझाव तथा सिफारिसहरूको संगालोमा २०६६ देखि २०७८ सालसम्म दिइएका विभिन्न सुझाव तथा सिफारिसहरू समावेश गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x