Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यापारीहरूको माग

तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यापारीहरूको माग


काठमाडौं । नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरूले माग राखेका छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै नाका पूर्णरूपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन् ।

भूकम्पपछि यो नाका अस्थिर रूपले सञ्चालन भइरहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले एक ज्ञापनपत्र बुझाउँदै नाका पूर्णरूपले सञ्चालनका लागि माग गरिएको हो । संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौँ विपत्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै नेपाल चीनबीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासामु व्यापारीहरू पुगेका हुन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई ज्ञापन गर्दै राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्णरूपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए । नाका अस्थिर हुँदा सयौँको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार हुँदा काम गर्ने मजदुर अहिले बिचल्लीमा परेकाले पूर्णरूपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ । नाकाबाट हुने व्यापारका साथै प्रधानमन्त्रीसामु उद्योग वाणिज्य संघ र सीमापार वाणिज्य संघले विपत् न्यूनीकरणका लागि पहल गरिदिन अनुरोध समेत गरे ।

सिन्धुपाल्चोकमा यसअघि पनि २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्राकृतिक रूपमा विपतग्रस्त बन्दै आइरहेको छ । कोदारी, तातोपानी, चाकु, बाह्रविसे, लामोसाँघु, खाँडीचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिरोको जोखिममा रहेकाले आवश्यक ऋध्ययन गरी स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले बताए ।

पटक–पटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ । बाह्रबीसेबाट २६ किलोमिटर माथि पर्ने कोदारीसम्मका सडक क्षतविक्षत अवस्थामा छ । पहिरोले २०७४ साउनमा भाँच्चिएको लार्चा पुल अहिलेसम्म बन्न सकेको छैन । क्षतिग्रस्त पुल बन्न र राजमार्गको विस्तार एवं उन्नति हुन नसक्दा नाका सञ्चालनमा समस्या आएको नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x