Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्यूनीकरण र एसडीजी कार्यान्वयनमा सहकार्य

महासंघ र संयुक्त राष्ट्रसंघबीच स्तरोन्नतिको प्रभाव न्यूनीकरण र एसडीजी कार्यान्वयनमा सहकार्य


काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न संयुक्त राष्ट्रसंघ र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्नेबारे छलफल भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्ता संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न सहकार्य, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौती सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भएको हो ।

छलफलमा महासंघका अध्यक्ष गोल्छाले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुनसके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्नसक्ने उनको भनाइ थियो । नेट २०३० ले नेपालले अबको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नति हुन पूरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । सोहीअनुसार निजी क्षेत्रमा पर्नसक्ने प्रभाव र न्यूनीकरणका उपायसहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको छ ।

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरिसकेको अध्यक्ष गोल्छाले स्पष्ट पारेका थिए । यसका कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसँग पनि सहकार्य आवश्यक रहेको उनले बताए । अध्यक्ष गोल्छाले संयुक्त राष्ट्रसंघसँग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताए ।

सो अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक साराले चुुनौतीलाई वहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमताको प्रशंसा गरेकी थिइन् । कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो । एसडीजीका लक्ष्य निर्धारित समयभित्रै पूरा गर्ने कार्यमा महासंघको सहकार्य महत्वपूर्ण रहेकाले यसमा सहयोग गर्न पनि उनले आग्रह गरिन् ।

नेपालको स्तरोन्नति र एसडीजीका लक्ष्यहरू पूरा गर्ने कार्यदिशामा निजी क्षेत्र दह्रिलो सहयोगी हुनसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्वपूर्ण हुने उनले बताइन् । सो अवसरमा संयूक्त राष्ट्रसंघ र महासंघबीच हुनसक्ने सहकार्यका विविध क्षेत्रका विषयमा पनि छलफल भएको थियो । छलफलमा महासंघ सचिवालय र संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x