लालीगुरास बहुउद्देश्यीय सहकारीका कार्यकारी निर्देशकविरुद्धको ठगी मुद्दा अलपत्र
काठमाडौं : ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्याकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारीको आवरणमा गरेको अर्बौंको ठगी धन्दामा राज्यका सबै निकायले रहस्यमयी मौनता देखाएका छन् ।
मिटरब्याज शैलीमा ब्याज असुली गर्ने र ब्याज तिर्न नसक्ने ऋणीको धितो कम मूल्यांकन गरी ठगी गर्दै आएका भण्डारीविरुद्ध नेपाल प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी), राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय र सहकारी विभागमा उजुरी परेका थिए । चर्चित गायक रामकृष्ण ढकालले त लालीगुराँस सहकारीबाट ठगिएको भन्दै सहकारी विभागमा तत्कालीन रजिष्ट्रार टोकराज पाण्डेलाई भेटेरै उजुरी दिएका थिए । हाल अख्तियार प्रमुख रहेका प्रेम कुमार राई गृहसचिव रहेको बेला ढकालले भेटेरै उजुरी दिएका थिए । तर, ती निकायहरुबाट कारबाही हुनु त परको कुरा, छानबिन समेत भएको छैन । भण्डारीको प्रभावमा सीआईबीमा रहेको फाइल वर्षौँदेखि तामेलीमा राखिएको छ । ठूला सहकारीमाथि सुपरिवेक्षणको अधिकार पाएको राष्ट्र बैंक मौन छ ।
भण्डारीको सहकारीमा मिटरब्याजी महेश सिंहको लगानी रहेको थियो । त्यति मात्रै होइन माओवादी युद्धकालमा लुकाइएको कालोधन यही सहकारीमा लुकाइएको छ । भण्डारीले ललितपुरका माओवादी इन्चार्ज तथा हाल ऊर्जा तथा जलस्रोतमन्त्री रहेकी पम्फा भुसालका पीए हरि दाहाललाई समेत लगानी गरेका छन् । लगानी गरेको स्टेटमेन्ट आर्थिक दैनिकसँग उपलब्ध छ । त्यस्तै माओवादीकै नेता तथा पूर्वमन्त्री गणेशमान पुनले पनि यही सहकारीबाट रकम लिएका छन् । यता यसअघि गृहमन्त्री समेत रहेका शक्ति बहादुर बस्नेतले पनि आफ्ना भतिज नाता पर्ने मुक्ति बस्नेतको नाममा रकम निकालेका छन् । त्यो रकम उनले चुक्ता गरेका छैनन् । स्रोतका अनुसार युद्धकालको पैसा भएका कारण उक्त रकममा सहकारीले ताकेता समेत गर्नसकेको छैन ।
यता सर्वसाधारण ऋणीलाई भने भण्डारीले १८ देखि २० प्रतिशत मिटरब्याज शैलीको ब्याज असुली गर्दै आएका छन् । ब्याज तिर्न नसकेका ऋणीको सम्पत्ति लिलाम गर्दा भण्डारीले लालीगुराँस इन्भेष्टमेन्ट नामक कम्पनीमार्फत मूल्यांकन गर्ने र आफ्नै सहायक कम्पनी खडा गरेर बहुमूल्य घरजग्गा हत्याउने गरेका छन् । सोही विषयमा सीआईबीले छानबिन थालेको थियो । तर, तत्कालीन सीआईबी प्रमुखहरु पुष्कर कार्की र निरज शाहीले आर्थिक प्रभावमा परेर फाइल नै अघि बढाएनन् । प्रहरी महानिरीक्षक भएर अवकाश पाएका सर्वेन्द्र खनालले पनि अर्बौँको ठगीधन्दामा आँखा चिम्लिदिए ।
जग्गा खरिदका लागि श्री लालीगुराँस सहकारीबाट केशव पुरीसहित उनकै साझेदारहरुले दुई करोड ९० लाख रुपैयाँ सामूहिक ऋण लिएका थिए । तर, सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले पुरीलाई थाहा नै नदिई पुरीको लिलामी मात्रै गरिएन दाखिल खारेज नै गरिएको छ । त्यसविरुद्ध उनले विभिन्न निकायमा उजुरी दिए । उनको उजुरीबारे वर्षौँसम्म कतै सुनुवाइ भएको छैन ।
पीडित केशव पुरीले २०७२ फागुन १६ गते सहकारीहरुको राष्ट्रिय संगठन राष्ट्रिय सहकारी महासंघमा उजुरी गरेका थिए । दर्ता नम्बर ३५४ रहेको उजुरी पत्रको सोही दिन दर्ता भएको जानकारी दिइए पनि अहिलेसम्म कुनै कारबाही भने भएको छैन । त्यसो त सहकारी महासंघ नै भण्डारीको कठपुतली बन्ने गरेको आरोप छ ।
त्यस्तै २०७२ साल फागुन १३ गते नै पीडितहरु योगेन्द्र सिलवाल र केशव पुरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । एक दिनपछि दर्ता भएको उक्त उजुरी दर्ता नम्बर ५ सय ६४ माथि हालसम्म कुनै छलफल वा कानुनी कारबाही भएको छैन ।
सहकारीले नियमविपरीत आफूहरुको सम्पत्ति हत्याएको भन्दै उनीहरुले फेरि २०७३ वैशाख २० गते राष्ट्रिय सहकारी महासंघमा उजुरी दिएका थिए । तर, उक्त उजुरीमा पनि केही सुनुवाइ भएन ।
त्यतिमात्रै होइन पीडितहरुले २०७२ फागुन १३ गते तत्कालीन उपप्रधान तथा सहकारीमन्त्री चित्रबहादुर केसीलाई भेटेरै उजुरी बुझाएका थिए । ‘सुरुमा उहाँ हामीलाई भएको अन्यायविरुद्ध कारबाही गर्ने निर्णयमा पुग्नुभएको थियो’, पीडित केशव पुरी भन्छन्, ‘पछि केही शक्ति केन्द्रको फोन आएपछि उहाँले केही गर्न सक्नुभएन ।’
२०७२ चैत १६ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी परे पनि प्रहरीले लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीलाई पक्राउ गर्न सकेन ।
सहकारी, बैंक तथा सबै वित्तीय संस्थाहरुको नियामक निकाय हो राष्ट्र बैंक । तर राष्ट्र बैंकले पनि उनीहरुलाई न्याय गर्न सकेन । २०७४ कात्तिक ७ गते पीडितहरु राष्ट्र बैंकमा लालीगुराँस सहकारीले ठगेको प्रमाणसहित उजुरी लिएर पुगेका थिए । राष्ट्र बैंकले उनीहरुको उजुरी दर्ता गरेको रेकर्डमा देखिन्छ । तर, राष्ट्र बैंक पनि कारबाहीमा अघि बढ्न सकेन ।
आफूहरुले लिएको ऋण तिर्दै गर्दा केही समय समस्या भएपछि कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले धम्क्याएको उजुुरीमा आरोप लगाइएको छ ।
‘त्यस संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले ग्यारेन्टीका लागि थप जायजेथा राख्न दबाब दिँदै धम्काउन थाले र हामी बाध्य भएर हामी र हाम्रा मान्छेका नाममा भएको जग्गाहरु थप धितोको रुपमा राख्न बाध्य भयौँ’, पीडितहरुले दिएको उजुरीमा भनिएको छ, ‘जसका लागि ललितपुर किटिनी गाविस वडा नम्बर ९ को कित्ता नं. १७ क्षेत्रफल ७ रोपनी ९ आना किटिनी वडा नम्बर ८ को कित्ता नम्बर ६९ क्षेत्रफल १ रोपनी एक आना २ पैसा किटिनी ४ ‘क’को कित्ता नम्बर १०६ क्षेत्रफल ३ रोपनी ५ आना साथै सोही स्थानको कित्ता नम्बर १६१ क्षेत्रफल ८ आना जग्गाहरु थप ग्यारेन्टीको रुपमा राख्न बाध्य बनाइयो र राख्यौँ ।’
उनीहरुले दिएको उजुरीमा भण्डारीले गरेको मनोमानीको फेहरिस्त नै उल्लेख गरिएको छ । ‘हामी दुवै जना निज कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीलाई भेट्न जाँदा नभेट्ने तर स्टाफसँगै कुरा गरेर जानु भन्ने ती स्टाफहरुले सही जानकारी नदिने हामीले तिर्नुपर्ने सावाँ र ब्याजको स्टेटमेन्ट माग्दा स्टेटमेन्ट नदिने दिए पनि हातैले टाइप गरी दिने जस्ता व्यवहार गरियो’, राष्ट्र बैंकमा परेको उजुरीमा भनिएको छ, ‘पछिल्लो समयमा हामीले बुझ्दा हामीलाई जानकारी नै नदिई उक्त जग्गाहरु दाखिल खारेज गरी संस्थामा लगेको जानकारी बाहिरैबाट हुन आयो ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया