Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई ठूला आयोजना : गफ बढी, काम सुस्त

दुई ठूला आयोजना : गफ बढी, काम सुस्त


महेन्द्रनगर ।विसं २०६२÷०६३ को जनआन्दोलन सकिएसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउने प्रस्ताव तत्कालीन सरकारले अघि सा¥यो । भारतसँग सिमाना जोडिएको दोधारा चाँदनीमा मुलुककै आर्थिक विकासमा टेवा पुग्ने आयोजना बन्ने खबरले हर्षित सुदूरपश्चिमवासीको यो चाहना भने दशक नाघिसक्दा पनि सुरुआत हुने तरखर छैन ।

सुरुमा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा स्थापना गर्ने योजनासहित काम अघि बढे पनि त्यहाँ स्थानीयले विस्थापित हुने डर र उनीहरूको अवरोधका कारण प्रभावित बन्यो । केन्द्रबाट आउने अनुगमन र उच्चस्तरका पदाधिकारीले समेत सम्झाउन नसकेपछि आयोजना निर्माणस्थल दोधारा चाँदनीकै मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा प्रस्ताव गरिएको छ

‘सुख्खा बन्दरगाह बन्ने भनेपछि यहाँ जग्गाको मूल्य छोइनसक्नुभयो, स्थानीयले पनि सुखद् दिन आउने अनुभूति गरे तर आयोजनाको काम भने फिल्डमा देखिएन ।’ दोधारा चाँदनीका स्थानीय प्रेमबहादुर भट्टले भने, ‘सुख्खा बन्दरगाह बनाउन अब बहानाबाजी बनाएर ढिलाइ गर्नहुन्न ।’ उनले सुख्खा बन्दरगाहको निर्माणले दोधारा चाँदनीको मुहार फेरिने बताए । यहाँ स्थापना हुने सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीको गुरुयोजनासमेत बनिसकेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले दोधारा चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिरहेको जानकारी दिए । उनले बन्दरगाहको वातावरण प्रभाव मूल्यांकन (ईआईए)का लागि परामर्शदाता छनोट गरिसकेको जानकारी दिए ।

‘हामीले ईआईएका लागि परामदर्श दाता छनोट गरेर सम्झौताको चरणमा छौँ’, उनले भने, ‘साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि पनि परामर्शदाता छनोटको काम अगाडि बढेको छ ।’ उनले उक्त बन्दरगाहको डीपीआर बनाउन छ महिनादेखि नौ महिनासम्म लाग्ने बताए । तीन वर्ष दश महिनाभित्र बन्दरगाह बनाउन लक्ष्य रहेको इन्टरमोडल यातायात विकास समितिको भनाइ छ । दुई सय ७८ बिघा क्षेत्रफलमा बन्ने बन्दरगाह निर्माणका लागि सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सुख्खा बन्दरगा हबभित्र कस्टम, एडमनी ब्लक, वेट ब्रजी, बैंक कस्टम, ल्याब, वायर हाउस, ट्रक पार्किङ, वाटर ट्र्याक एरिया, डिस्पोजल एरिया, प्रहरी फोर्स, क्वारेन्टाइन ब्लक, रेल्वे प्लाटफम, रेलवे वायर हाउस र कन्टेर यार्डलगायतका संरचना बन्नेछन् । बन्दरगाहका रेलमार्ग भने दोस्रो चरणमा तयार गर्ने योजना रहेको छ ।

बन्दरगाह प्रस्तावस्थल वरपर भने जग्गाको किनबेच निकै बढेको छ । ‘कुनै बेला लाख रुपैयाँ कट्ठा बेच्न खोेज्दा पनि यहाँ ग्राहक पाउन मुस्किल हुन्थ्यो’, दोधारा चाँदनी नगरपालिका–१ का बिस्ने सुनारले भने, ‘अहिले त प्रतिकट्ठा ८० लाखसम्म पनि किनबेच गाउँमा भएको छ ।’ उन पनि सुदूरपश्चिमको प्रमुख व्यापारिक नाकाका रुपमा हेरिएको क्षेत्रमा बन्दरगाह बने समृद्धिको सपना साकार हुने बताए । ‘सुख्खा बन्दरगाहपछि आएको महाकाली नदीको चारलेन सकिने बेला भइसक्यो’, उनले भने, ‘विसं २०६४ तिर बनाउने भनेको सुख्खा बन्दरगाह खै कहाँ पुग्यो ?’
त्यसैगरी यहाँको वेदकोट नगरपालिकामा बन्ने अर्को सुदूरपश्चिमकै ठूलो आयोजना हो, दैजी छेला औद्योगिक क्षेत्र । झण्डै २५ वर्षअघि वेदकोट –२ मा बनाउने भनेको औद्योगिक क्षेत्रको कामको गति पनि सुस्त नै छ ।

गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रको काम भने अझै सन्तोषजनक रुपमा अघि बढेको छैन् । ‘दुई वर्षभित्र स्थापना गर्ने औद्योगिक क्षेत्र बनाउने भनेको २५ वर्ष भइसक्यो’, वेदकोटका स्थानीय रघुवीर पन्तले भने, ‘यहाँ ठूला विकास गर्ने र मुहार फेर्ने विषयमा गफ बढी भए ।’ औद्योगिक क्षेत्र स्थापनास्थलमा रुख छपानको काम थालिए पनि त्यो कोरोना कहरले प्रभावित बन्यो । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट क्षेत्रीय कार्यालय नेपालगञ्जले उक्त कामको रेखदेख गरिरहेको छ । सो क्षेत्रको ३०० बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना हुनेछ । वेदकोट–२ का वडाध्यक्ष एवं प्रवक्ता नरेशबहादुर सिंहले औद्योगिक क्षेत्रको काम प्रभावकारी नभएको बताए । ‘शिलान्यासपछि रुख छपानको काम केही समय भयो’, उनले भने, ‘अझै ५० प्रतिशत रुख छपान बाँकी नै छ ।’ औद्योगिक क्षेत्र स्थापना गर्ने योजना विसं २०५१ मा सुरु भएको थियो । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x