Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय एसएसबीले धामी तर्न लागेको तुइन काटेको नेपाली छानबिन समितिको ठहर

भारतीय एसएसबीले धामी तर्न लागेको तुइन काटेको नेपाली छानबिन समितिको ठहर


काठमाडौँ ।भारतीय सुरक्षाकर्मीले नेपाली युवा जयसिंह धामी तर्न लागेको तुइनको तार काटेको पुष्टि भएको छ । भारतीय सुरक्षाकर्मीले तुइनको तार काटेर धामीलाई महाकालीमा बगाएको छानबिनबाट पुष्टि भएमा भारतसँग कडा रुपमा कुरा राख्ने जानकारी प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँडले दिएका थिए । समितिले पनि भारतसँग यस बारेमा कूटनीतिक रुपमा कुरा गर्न सुझाव दिएपछि सरकारले अब भारतसँग कसरी कुरा गर्छ यो सबैको चासोको विषय बनेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेपछि सबैको ध्यान नेपाल सरकारको भावी कदमप्रति गएको हो । छानबिन समितिले तुइन काटेको नै नभनेर भारतीय सुरक्षा बलको उपस्थितिमा भएको बताएको छ । यसलाई गृहका अधिकारीहरुले कूटनीतिक शब्द भनेका छन् ।

समितिले मंगलबार गृहमन्त्री खाँडलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृह मन्त्रालयद्वारा मंगलबार साँझ जारी विज्ञप्तिमा पनि उल्लेख गरिएको छ । उक्त प्रतिवेदनले भारतीय सुरक्षाकर्मी नेपालीको हत्या गर्न सक्रिय रहेको देखाएको छ ।

गृह मन्त्रालयद्वारा गठित उक्त समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।
यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो ।

पटक–पटक म्याद थप हुँदासमेत प्रतिवेदन बुझाउन नसकेको भनेर आलोचना खेपेको समितिले गृहमन्त्री खाँडलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँडले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो ।

गत साउन १७ गते गठित उक्त समितिलाई सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको कार्यादेश दिएको थियो । साउन १८ गते टोली स्थलगत अध्ययनका लागि त्यसतर्फ गएको थियो । छानबिन नसकिएकाले मन्त्रालयले समितिको म्याद तीनपटक थप गरेको थियो । यसअघि गएको साउन २५ तथा भदौ १ र ८ गते समितिको म्याद थप गरिएको थियो ।साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइन तरेर भारत जाने क्रममा खसेर धामी नदीमा बेपत्ता भएका थिए । पीडितपक्ष तथा स्थानीयवासीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएका कारण खसेको आरोप लगाएका छन् भने कतिपयले डोरी फुस्काइदिँदा नदीमा खसेको बताउँदै आएका छन् । जे भए पनि घटनामा भारतीय सुरक्षाकर्मी दोषी रहेको नेपाली अधिकारीहरुको छानबिन समितिले ठहर गरेको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x