Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवायुसेवा कम्पनी र प्राधिकरणले गुमाए ३७ अर्ब आम्दानी

वायुसेवा कम्पनी र प्राधिकरणले गुमाए ३७ अर्ब आम्दानी

नेपाल वायुसवा निगमले करिब ७ अर्ब रुपैयाँ, हिमालय एयरलाइन्सले करिब ३ अर्ब र आन्तरिक वायुुसेवा कम्पनीहरुले करिब १५ अर्ब गुमाए


काठमाडौँ ।कोभिड १९ महामारीका कारण मुलुकका वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्बौँ आम्दानी गुमाएका छन् । कोभिडका कारण वायुसेवा कम्पनीहरुले करिब २५ अर्ब रुपैयाँ आम्दानी गुमाएको प्राधिकरणले जनाएको छ । जसमध्ये नेपाल वायुसेवा निगमले करिब सात अर्ब रुपैयाँ, हिमालय एयरलाइन्सले करिब तीन अर्ब रुपैयाँ तथा आन्तरिक वायुुसेवा कम्पनीहरुले करिब १५ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएको प्राधिकरणको वार्षिक प्रतिवेदन (२०७७÷०७८) मा उल्लेख छ ।

यस्तै लकडाउनको सुरुको अवस्थादेखि गत असारसम्ममा प्राधिकरणले भने कोभिडपूर्वको प्रक्षेपित आयभन्दा करिब १२ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएको छ । यसरी समग्रमा वायुसेवा कम्पनी र प्राधिकरणले ३७ अर्ब रुपैयाँ आम्दानी गुमाएका छन् । लकडाउनको कारण प्राधिकरणको आम्दानी आर्थिक वर्ष २०७६÷०७७ को प्रक्षेपित आम्दानीमा १० अर्ब ५४ करोड ४१ लाख रुपैयाँले न्यून हुन पुगेको थियो भने आर्थिक वर्ष २०७७÷०७८ मा प्राधिकरणको आम्दानी ७२ प्रतिशत कमी हुन पुगेको छ ।

कोभिडबाट प्राधिकरणको आम्दानी एवं राज्यको अर्थतन्त्रमा परेको प्रभावको कारण प्राधिकरणको स्रोतबाट हुने विकास निर्माणको कार्य प्रभावित भएका छन् । नेपाल सरकारको स्रोतबाट सञ्चालित ठूला आयोजनालाई भने बजेट अभाव नहुने भए पनि आन्तरिक विमानस्थलहरुको विकास तथा स्तरोन्नतिको कार्यक्रम प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । कोभिडको संक्रमण फैलिन नदिन नेपाल सरकारले २०७६ चैत ११ देखि लकडाउन गरेको र २०७७ भदौ १६ देखि सीमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दा वायुसेवा कम्पनीहरु समस्यामा परेका हुन् ।

त्यस्तै कोभिडको दोस्रो लहरका कारण समेत अन्तर्राष्ट्रिय नियमित उडान प्रभावित बन्न पुगेको थियो । कोभिडको दोस्रो लहरको कारण निषेधाज्ञा जारी गरेको कारण वैशाख २६ गतेदेखि अन्तर्राष्ट्रिय नियमित उडानमा रोक लगाइएको थियो भने स्थितिमा केही सुधार आएपछि गत जेठ १८ देखि सीमित अन्तर्राष्ट्रिय उडान र गत असार १७ देखि सीमित आन्तरिक उडान सुरु गरिएको थियो । जसले गर्दा एयरलाइन्सहरुले उडान भर्न नसक्दा आम्दानी हुन सकेन ।

यस्तै नियमित उडानमा रोक लगाइएको अवस्थामा आकस्मिक उडान भने एयरलाइन्स अर्थात् हेलिकप्टरले गरेका थिए । कोभिडका बिरामी तथा अन्य आकस्मिक प्रयोजनका लागि यात्रुलाई हेलिकप्टरबाट उद्धार गर्न सहुलियत दरमा हेलिकप्टर भाडा दर कायम गरी सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । कोभिडको यात्रु ओसारपसारका लागि छवटा हेलिकप्टर कम्पनी तथा एउटा हवाइजहाज कम्पनीलाई वायुयानमा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा हुने गरी यात्रु च्याम्बर तथा अन्य आवश्यक व्यवस्थाको परिपालन गराई अनुमति प्रदान गरिएको थियो । कोभिड महामारीको विशेष परिस्थितिमा संक्रमण रोकथामको लागि विश्वभर विभिन्न मुलुकहरुले लगाइरहेको हवाइ उडान रोकेको सन्दर्भमा नेपाली वायुसेवाहरुलाई अत्यावश्यक यात्रु तथा स्वास्थ्य सामग्री ओसारपसारमा नियामक निकायको स्तरबाट समेत पहल गरी उडानहरुलाई सहजीकरण गरिएको थियो ।

प्रतिवदेनअनुरुप प्राधिकरणले कोभिडको समयमा हवाइसेवालाई पुनः सञ्चालनमा ल्याउनका लागि वायुसेवा, विमानस्थल तथा अन्य उडडयान सेवाले अपनाउनुपर्ने ‘सुरक्षा तथा स्वास्थ्य सावधानीका सम्बन्धमा एयरलाइन्स निर्देशिका विमानस्थल र विमानस्थल क्षेत्रमा कोभिड जारी गरेको, सोहीबमोजिम वायुसेवा कम्पनीहरु र विमानस्थलले समेत आ–आफ्नो सुरक्षात्मक कार्यविधि’ तर्जुमा गरी प्राधिकरणबाट स्वीकृत गराई हवाइ यात्रु तथा हवाइ सेवामा संलग्न कर्मचारीहरुका लागि स्वास्थ्य सुरक्षा मापदण्डाको प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षित उडान सञ्चालन गरेको थियो । प्राधिकरणका अनुसार हालसम्म मुलुकको नागरिक उड्डयन क्षेत्र सामान्य अवस्थामा आउनसकेको छैन ।

यस्तै कोभिडका कारण नेपालमा मात्र नभई विश्व समुदायमा समेत नागरिक उड्डयन तथा एयरलाइन्स क्षेत्रमा असर परेको छ । अन्तर्राष्ट्रिय नागरिक उडडयन संगठन (आईकाओ) ले कोभिडको कारण एसिया प्रशान्त क्षेत्रमा सन् २०२० मा अन्तर्राष्ट्रिय उडानमा ७४ प्रतिशत र आन्तरिक उडानमा ५० प्रतिशत हवाइ यात्रु घटेको जनाएको छ । त्यस्तै सन् २०१९ को तुलनामा सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानमा ६७ देखि ७५ प्रतिशतसम्म र आन्तरिक उडानमा २० देखि ३० प्रतिशतसम्म हवाइ यात्रु घट्न सक्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको कार्यप्रकृतिबमोजम वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा विमानस्थलमा भौतिक पूर्वाधार विकास, एयर नेभिगेसन प्रणालीको आधुनिकीकरण, उडान सुरक्षा सुदृढीकरण तथा संस्थागत सुधारलाई प्राथमिकतामा राख्ने गर्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x