Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा तिते फापरको दुई नयाँ जात विकास

दोलखामा तिते फापरको दुई नयाँ जात विकास


दोलखा ।जिल्लाको बैतेश्वर गाउँपालिकामा रहेको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले रैथाने बालीअन्तर्गतको फापरको दुई नयाँ जात विकास गरेको छ । कार्यालयले हालचालै तिते फापर–१ र तिते फापर–२ को नयाँ जात विकास गरी खेती गर्न सिफारिस गरेको छ । रैथाने बालीको खेती वृद्धि गर्न पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले रैथाने जातको बाली र बीउको अनुसन्धान गर्दै आएको छ । फापरको माग नेपालमा अत्यधिक रहेकाले नयाँ जातको बीउ विकास गरेर उत्पादन वृद्धि गर्न बाली अनुसन्धान कार्यक्रम काब्रे लागिपरेको छ । रैथाने अन्न बालीअन्तर्गत पर्ने फापरको खेती नेपालमा कमै मात्रामा हुनेगरेको छ । नेपालमा मीठे र तिते फापरको खेती हुनेगरेको भए पनि अहिलेको उत्पादनले धन्न नसकेकाले थप उत्पादन वृद्धि गर्नलाई फापरको नयाँ जात तिते फापर १ र २ ले सहयोग पुग्ने पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाका वरिष्ठ वैज्ञानिक एवं कार्यक्रम संयोजक डाक्टर सुवास सुवेदीले बताए ।

रैथाने बाली छाडेर उन्नत जाततर्फ किसान लाग्दा फापरलगायतका रैथाने बालीको खेती घट्दै गएकोले रैथाने बालीका जातलाई विकास गर्नुपर्ने उनले बताए । उनका अनुसार नेपालका इलामदेखि जुम्लासम्म यसको खेती गर्दै आएको भए पनि किसानले खेत बारीमा कमै मात्रा लगाउने गर्छन् । पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे आफूले उत्पादन गरेको रैथाने फापरलगायतको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समय कार्यालयमा फापरको बीउ खोज्ने किसान बढेको छ । किसानले चाहेजतिको बीउ दिन नसके पनि बीउ उत्पादनको दर हेरेर वितरण गर्ने गरेको डा. सुवेदीले बताए । सुवेदीका अनुसार झ्याकु र विगुबाट स्थानीय जातको फापरको बीउ जम्मा गरेर जातीय सुधार गरी उक्त जातको फापरको बीउ विकास गरिएको हो । पहाडी बाली अनुसन्धानले नयाँ जात विकास गरी नेपाल कृषि अनुसन्धानमा परिषद्मा सिफारिस गरेको सुवेदीले जानकारी दिए ।

फापर उच्च पहाडी भेगको एक प्रमुख खाद्यान्न बाली भएकाले यसको जातीय विकास र सरक्षण गर्न आवश्यक रहेको सुवेदी बताउँछन् । उनका अनुसार नेपालमा फापरलाई भौगोलिक स्थानअनुसार ग्रीष्म, हिउँद, शरद र वसन्त बालीको रूपमा खेती गरिँदै आएको छ । फापर मौरीको लागि उत्तम चरन बालीको रूपमा लोकप्रिय रहेको छ । त्यसैगरी फापरमा रुटिन पदार्थ हुनु यसको मुख्य विशेषता हो । तिते फापरमा रुटिन पदार्थ बढी पाइन्छ । रुटिन पदार्थले मानव शरीरको रक्त कोशीका मजबुत गर्ने र रगत जम्नको लागि ठुलो भूमिका खेल्ने गर्दछ । त्यस्तै औषधिका हिसाबले फापरलाई रुघा, खोकी, टाउको दुख्दा र ज्वरोमा यसको पेस्टलाई प्रयोग गर्न सकिने डाक्टर सुवेदी बताउँछन् । साथै ग्यास्त्राइटिस, पखाला साथै पेट दुखेमा फापर खाँदा निको हुनेगर्छ । औषधि र विशेष परिकारको रूपमा नेपालका होटल, रेस्टुरेन्टमा समेत यसको माग हुनेगर्छ । खेतीका हिसाबले पछाडि परेको यस बालीको खेती गर्न अन्य बालीभन्दा धेरै सजिलो रहेको डाक्टर सुवेदी बताउँछन् ।

मीठे फापर मध्य पहाडी जिल्लामा समुद्री सतहको नौ सय मिटरदेखि १७ सय मिटरको उचाइसम्म लगाउन सकिनेछ । त्यसैगरी बाली अनुसन्धान कार्यक्रमले विकास गरेको नयाँ जातको तितेफापर १ र २ लाई समुद्री सतहको ६ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा खेती गर्न सकिनेछ । मुख्यगरी फापरलाई नेपालका उच्च पहाडी क्षेत्रमा वैशाखदेखि जेठमा, पहाडी क्षेत्रमा भदौ र असोज, मध्य पहाडी क्षेत्रमा माघ र फागुन र तराई र भित्री मधेसमा कात्तिकमा लगाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रेले जनाएको छ ।सुवास बस्नेत 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x