Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजार ओरालो लागेपछि लगानीकर्ताहरूले गुहारे अर्थमन्त्री

सेयरबजार ओरालो लागेपछि लगानीकर्ताहरूले गुहारे अर्थमन्त्री

१०८ अंकले बजार ओरालो लाग्दा ११ अर्ब २४ करोडको सेयर कारोबार


काठमाडौं । लगातार सेयरबजार ओरालो लागेपछि लगानीकर्ताहरूले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई गुहारेका छन् । लगानीकर्ताहरूले आइतबार विज्ञप्ति जारी गर्दै सेयरबजार सुधारको लागि १३ बुँदे सुझाव प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा समेत माग गरेका छन् ।

पुँजी बजारको विकास र विस्तार, लगानीकर्ताको हकहित र लगानी सुरक्षालाई मध्यनजर गर्दे, पुँजीबजारलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा नियमन तथा सुपरिवेक्षण गर्ने सर्वोपरी संस्थाहरू र अधिकारप्राप्त व्यक्तिहरूले बेला–बेलामा प्रदर्शन गर्ने पुँजीबजारको विकास र विस्तारका काम र कदमहरूको विरुद्धमा हामीले बेला–बेलामा खबरदारी गर्दे आएका छौँ, लगानीकर्ताहरूले भनेका छन् । तर यसका बाबजुद फेरि पनि एकपछि अर्को गर्दै उक्त संस्थाको अधिकारप्राप्त पदमा बसेर पुँजीबजारलाई नकारात्मक प्रभाव पार्ने विभिन्न गतिविधिहरू भइरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ, पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले विज्ञप्ति जारी गर्दे भनेका छन् । विज्ञप्तिमार्फत समितिले आफ्नो १६ बुँदे सुझाव प्रस्तुत गर्दै गभर्नर अधिकारीले राजीनामा दिनुपर्ने माग गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट पुँजीबजारको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय–समयमा नियोजितरुपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यसमितिहरूले समग्र पुँजीबजार अगाडि बढ्न सकिरहेको छैन । त्यसकारण गभर्नरज्यूको यथाशीघ्र राजीनामा माग गर्दछौँ, सघर्ष समितिले भनेको छ । समितिले विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरशः पालना गराउन पनि अर्थमन्त्रीसमक्ष माग गरेका छन् ।

मौलिक हकअन्तर्गत सम्पत्तिको हकमाथि प्रहार गरी नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा चार करोड र १२ करोडको सिमा लगाएको छ, मौद्रिक नीतिमार्फत समग्र पुँजी बजारको विकासको बाधक बनेको यो व्यवस्था तुरुन्त खारेज गरिनुपर्ने समितिले विज्ञप्तिमार्फत माग गरेको छ । समितिले लघुवित्त कम्पनीहरूले २० प्रतिशतभन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशतभन्दा माथिको रिजर्भ राख्नुुपर्ने अनुचित र अव्यावहारिक व्यवस्थालाई तत्काल खारेज गर्न माग गरेको छ ।

यसैगरी एक प्रतिशतबाट एक दशमलव तीन प्रतिशत हुनेगरी बढाइएको असल कर्जासम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरी एक प्रतिशत नै कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयसीमालाई संशोधन गरी एक सय २० दिनको औसत मूल्य कायम गर्न, अरु क्षेत्रमा प्रवाह हुने कर्जाजस्तै सेयर कर्जालाई पनि टोटल ल्यान्डिङ फण्डमा समावेश गर्न माग गरेको छ ।

समितिले कोभिड १९ को महामारीले पछाडि परेको समग्र अर्थतन्त्रलाई राहत हुने गरी मुद्दती निक्षेप ब्याजदर न्यूनभन्दा न्यून कायम राख्न पनि माग गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सेयरबजारमार्फत सेयर खरिदबिक्री गर्न रोक लगाउने गरी जारी गरिएको निर्देशन तत्काल खारेज गरी बैंक तथा वित्तीय संस्थाहरूले पुँजीबजारमा लगानी गर्न पाउने पुरानै व्यवस्था कायम राख्न पनि समितिले माग गरेको छ ।

यीबाहेक अत्यधिक र असमान ब्रोकर कमिसनलाई शून्य दशमलव १० प्रतिशत अर्थात् फ्ल्याट रेटमा झार्नुपर्ने, बृहत् आर्थिक चलखेल गरी साना लगानीकर्ताहरूलाई निरुत्साहित र बजारबाट बहिर्गमन गर्ने उद्देश्यले ल्याउन लागिएको बुक बिल्डिङ तत्काल खारेज गरी एक सय रुपैयाँ प्रतिकित्ता मूल्यमा नै साधारण सेयर जारी गर्ने व्यवस्था मिलाउन पनि समितिले माग गरेको छ । ब्रोकर कम्पनीहरूबाट हुने विभिन्न अनुचित कार्यहरू जस्तै फोन नउठाउने, बिक्री गरेको सेयरको पैसा उचित समयमा नतिर्ने, खातामा सेयर नहाल्नेजस्ता गतिविधिहरूलाई यथाशीघ्र नियन्त्रण गर्न पनि संघर्ष समितिले माग गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x