‘थोत्रा’ मुलुकको लाइनमा नेपाल किन परिरहेको छ ?
काठमाडौं । १९औँ शताब्दीमा दुईपल्ट बेलायतको प्रधानमन्त्री भएका एक ‘राजनेता’ बेन्जामिन डिजराइलीले त्यसताका भनेका थिए– एक राजनीतिक पार्टीले विश्वासघात, धोका, तुच्छता र छुच्चोपन देखाउने जस्ता काम गर्न नसकिने भनेको हुनै सक्तैन, किन कि राजनीतिमा सम्मान इज्जत हुँदैन । करिब १४० वर्षपहिले बेलायतको राजनीति अहिले नेपालको जस्तै ‘फोहोर’ नै रहेछ । तर, त्यसखालको राजनीति सुध्रँदै २०औँ शताब्दीको अन्ततिर विश्वको धेरै प्रजातान्त्रिक मुलुकहरुको राजनीतिक पार्टीहरु गतिशील हुँदै आइसकेको थुप्रै उदाहरणहरु छन् । विडम्बना के छ भने गत ३२ वर्षमा नेपालको हरेक ठूला पार्टीभित्र प्रजातान्त्रिक अभ्यासको नाममा देखाइरहेको ताण्डव नृत्यलाई दृष्टिगत गर्दा सजिलै प्रमाणित गर्न सकिन्छ कि नेपालमा पार्टीहरुले उन्नतिशीलता पटक्कै देखाउन सकेको छैन, पुरानै ढर्रामा बस्न रुचाइरहेका छन् ।
पश्चिमाजगत्को केही विज्ञहरुको भनाइअनुसार सामान्य विवेकबुद्धि (कमन सेन्स) भनेको सबैले महसुस गर्न सक्ने एक स्पष्टसँग देखिने सत्य कुरा भए पनि कुनै–कुनै सामान्य कुरामा पनि पक्का पनि केही लुकेको अति जटिल प्रत्युत्तर होला भनी धेरैले सोचिरहेको हुने रहेछ । वास्तविक यथार्थ के हो भने लोकतान्त्रिक मुलुकमा राजनीतिक पार्टी जहिले पनि ड्राइभिङ सिटमा बस्छ र पार्टीले नै देश हाँकिरहेको हुन्छ । यस अर्थमा राजनीतिक पार्टी सक्षम नभएसम्म कुनै हालतमा मुलुक उँभो नलाग्ने एक अकाट्य यथार्थ हो । तसर्थ, गत ३२ वर्षमा मुलुकले बंगलादेश, भुटान, भियतनाम, क्याम्बोडिया लाओसजति पनि विकास गर्न नसकेकोमा मुख्य दोष चार÷पाँचवटा ठूला पार्टीहरुमा जान्छ नै । तर, यस सम्बन्धमा बुद्धिजीवीहरुको लामा–लामा लेख रचना, बहस, अन्तर्क्रियामा मुलुकले अपेक्षाकृत ढंगले विकास गर्न नसकेको कारक तत्वहरु भनी अन्य विषयहरुमा नै बढी ध्यान केन्द्रित गर्ने गरेको हुँदा आम नागरिकको ध्यान अन्यत्र मोडेर पार्टीहरुको बचाउ गर्न खोजेको हो कि भन्नेसम्मको शंका गर्नुपर्ने स्थिति सृजना भएको छ ।
कुनै पनि मुलुकको लागि सबैभन्दा महत्वपूर्ण दस्तावेज भनेको संविधान भनेजस्तै कुनै पनि राजनीतिक पार्टीको सबैभन्दा महत्वपूर्ण डकुमेन्ट भनेको पार्टी विधान हो । पार्टी के कसरी सञ्चालन गरेर लोकतान्त्रिक प्रतिस्पर्धामा मुलुकको सबैभन्दा सक्षम उत्कृष्ट पार्टी बनाएर जनताको मन जित्ने भन्ने कुरालाई पार्टीको विधानले निर्देशित गर्नुपर्ने हो । हरेक पार्टीमा वर्षौँदेखि चलिरहेको पुस्तान्तरणको विषय अवैज्ञानिक र अव्यावहारिक मात्र होइन पार्टीको क्षमता वृद्धिमा खासै भूमिका खेल्दैन । गुणवान् र योग्य व्यक्तिहरुको बाहुल्य हुने पार्टी निर्माणमा जोड दिएर पार्टी विधान संशोधन गर्न सकेको खण्डमा पुस्तान्तरणको इस्यू स्वतः गौण भएर जान्छ । नेतृत्व झमता र व्यवस्थापकीय कुशलतालाई भन्दा जेल–जंगल बसेको अवधि र पार्टी झण्डा बोकेको वर्षलाई बढी प्राथमिकता दिनथालेपछि अहिलेको २१औँ शताब्दीको माहोलमा पार्टीमा कुनै ठोस सुधार नहुने घामजस्तै छर्लंग छ ।
राष्ट्रनिर्माणमा पार्टीहरुको ठूलो भूमिका हुने थाहा हुँदाहुँदै पनि पार्टी शुद्धीकरणमा नेता र कार्यकर्ताहरु गम्भीर भएर किन नलागेको भनी जनताले सडक आन्दोलन नै गर्नुपर्ने समय आइसकेको छ भन्दा अतिशयोक्ति नहोला । किन कि अहिलेसम्म मुलुक चलाउने जिम्मा पार्टीहरुले फुर्तीका साथ लिइरहेकै हो र गत ३२ वर्षमा अन्य मुलुकहरुको तुलनामा निरन्तर रुपमा नेपाल पछि पर्दै गएको विभिन्न तथ्यांकहरुबाट प्रष्ट देखिरहेको पनि एक यथार्थ हो । अहिले पनि दुई सयवटा मुलुकहरु तँछाडमछाड गरेर विकासको बाटोमा दौडिरहेका छन्, तर पार्टीहरुलाई राष्ट्रनिर्माणको विषय उचारण गर्न पनि फुर्सद छैन र गत ३÷४ वर्षको अवधिमा प्रमुख पार्टीहरुको हबिगत र बिजोग हामीसामु छर्लंग छन् ।
पार्टीहरुले कोर्स परिवर्तन गरेर पार्टीको भिजन, मिसन, रणनीति, नेतृत्वक्षमता, कार्यशैली आदिमा व्यापक सुधार नगरेसम्म मुलुक उँभो नलाग्ने निश्चित छ । आँदो ८/१० वर्ष घटीमा ८/९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेर अघि बढ्न सकेको खण्डमा मात्र ८/१० वर्षपछि बल्ल अन्य ५/७ वटा मुलुकलाई उछिनेर विश्व रंगमञ्चमा नेपाल पनि एक ठोस समृद्धिको बाटोमा गइरहेको छ भनी देखाउन सक्छ । विचारणीय कुरा के छ भने हरेक मुलुकको अर्जुनदृष्टि आर्थिक वृद्धिदर बढाउनेमा नै हुने भएकोले उनीहरुभन्दा उच्च गतिमा नगएसम्म नेपाल सधैँ पछि परिरहेकै हुन्छ र विश्व रंगमञ्चमा नागरिकको प्रतिव्यक्ति आयको आधारमा तीन दर्जनजतिको ‘थोत्रो’ मुलुकहरुको लाइनमा नेपाल परिरहेकै हुन्छ । यो लाजमर्दो स्थितिबाट बाहिर आउन पार्टीहरुको क्षमता वृद्धि अपरिहार्य छ ।
२०४६ सालपछि लागू भएका सबै संविधानहरु निर्माण गर्दा ४/५ दर्जन मुलुकको संविधान अध्ययन गरेको भनेर जनताको माझमा सांसदहरुले भनेकै हो । नेपालमा जस्तै बहुदलीय लोकतन्त्र भएका सयभन्दा बढी मुलुक छन् । तीमध्ये द्रुतगतिमा विकास गर्न सफल भएका मुलुकहरुमा एकदम परिपक्वता हासिल गरिसकेका राम्रा असल भिजनरी राजनीतिक दलका विधान नियम कार्यविधिहरु मगाएर हाम्रा पार्टीहरुले अध्ययन गरेर नयाँ नै विधान नियम कार्यविधि बनाएमा फाइदाबाहेक कुनै बेफाइदा हुँदैन । संविधान निर्माण गर्दा मिल्ने अनि पार्टी विधान निर्माण गर्न ‘माटो सुहाउँदो’ चाहिने वा अन्टसन्ट बहाना बनाएर मिल्दैन भन्न पाइँदैन । ४/५ दर्जन मुलुकको विधान अध्ययन गरेर हरेकपल्ट संविधान निर्माण गर्दा विश्वकै उत्कृष्ट संविधान बनाएको भनी दाबी गर्ने पार्टीहरुले त्यही बाटोमा गएर विश्वकै उत्कृष्ट पार्टी विधान बनाउन कन्जुस्याइँ किन ?
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया