Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा कम्पनीहरूको चुक्ता पुँजी बढ्यो

बीमा कम्पनीहरूको चुक्ता पुँजी बढ्यो

२५ दशमलव ५९ प्रतिशत जनता बीमाको दायरामा, कुल बीमा शुल्क संकलन ३५ अर्ब नाघ्यो


काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजी बढेको छ । नियमनकारी निकाय बीमा समितिका अनुसार नेपालमा हाल १९ वटा कम्पनीहरुले जीवन बीमा, २० वटा कम्पनीहरुले निर्जीवन बीमा र दुईवटा कम्पनीहरुले पुनर्बीमासहित गरी कुल ४१ वटा बीमा कम्पनीहरुको कारोबार सञ्चालन गर्दै आएका छन् । यीमध्ये सबैजसो बीमा कम्पनीहरुको चुक्ता पुँजी बढेको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको मात्र चुक्ता पुँजी १७ दशमलव ९६ प्रतिशतले बढेको छ । जसअनुसार गत आवको सोही अवधिमा ३३ अर्ब ४४ करोड रुपैयाँ रहेको जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी बढेर ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसैगरी निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पनि गत आवको भदौ मसान्तको तुलनामा चालू आवको भदौ मसान्तसम्ममा १५ दशमलव ९९ प्रतिशतले बढेको छ । जसअनुसार गत आवको भदौ मसान्तममा १७ अर्ब रुपैयाँ रहेको निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी चालू आवको भदौ मसान्तसम्ममा बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

चालू आवको भदौ मसान्तसम्ममा बीमा दायरामा आएको कुुल जनसंख्या भने २५ दशमलव ५९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बीमाको पहुँचमा आएको कुल जनसंख्या २२ दशमलव ३७ प्रतिशत रहेको थियो । समितिका अनुसार बीमा कम्पनीहरुको कुल कार्यालय संख्या पनि गत आवको भदौ मसान्तको तुलनामा ११ दशमलव ५७ प्रतिशतले बढेर तीन हजार एक सय १५ पुगेको छ ।

गत आवको सोही अवधिमा भने यस्तो संख्या दुई हजार सात सय ९२ रहेको थियो । बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको कुल संख्या पनि पछिल्लो अवधिमा १० दशमलव शून्य चार प्रतिशतले बढेको छ । गत आवको भदौ मसान्तमा बीमा कम्पनीहरुमा कार्यरत कुल कर्मचारी संख्या १० हजार ९१ रहेकोमा अहिले यस्तो संख्या बढेर ११ हजार एक सय चार पुगेको छ ।

समितिका अनुसार गत आवको भदौ मसान्तसम्मको तुलनामा चालू आवको भदौ मसान्तसम्ममा कुल बीमाशुल्क संकलन रकम पनि ३४ दशमलव २२ प्रतिशतले बढेको छ । गत आवको भदौमा सबै किसिमका बीमा कम्पनीहरुको कुल बीमा शुल्क रकम २५ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा चालू आवको भदौ मसान्तसम्ममा यस्तो रकम बढेर ३४ अर्ब ५३ करोड ४७ लाख २० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बीमा शुल्क रकम भने छ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुको यस्तो रकम चार अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । यसैगरी चालू आवको भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बीमाशुल्क रकम २८ अर्ब १३ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको यस्तो रकम २० अर्ब ९६ करोड रुपैयाँ रहेको थियो ।

समितिका अनुसार चालू आवको भदौ मसान्तसम्ममा कुल निर्जीवन बीमा लेखको संख्या भने सात दशमलव ६६ प्रतिशतले बढेर चार लाख ७३ हजार दुई सय ६४ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या चार लाख ३९ हजार पाँच सय ८८ रहेको थियो । यसैगरी चालू आवको पछिल्लो अवधिमा कुल जीवन बीमा लेखको संख्या पनि १० दशमलव ८४ प्रतिशतले बढेर ८७ लाख ९६ हजार ८८ पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो संख्या ७९ लाख ३५ हजार पाँच सय ५३ पुगेको थियो ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x