Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वाधारको काम गर्ने सडक डिभिजनहरू प्रमुखविहीन

पूर्वाधारको काम गर्ने सडक डिभिजनहरू प्रमुखविहीन

१९ जनाको मात्र सरुवा


काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ मा पूर्वाधारको काम गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका कार्यालयहरुको काम नराम्रोसँग प्रभावित भएको छ । टेन्डर प्रकाशित गरेर सडकहरु निर्माणमा जानुपर्ने बेलामा अझै पनि सरकारले बजेट पठाउन सकेको छैन ।

केपी ओली नेतृत्वको सरकार विस्थापित भएपछि शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले पुरानो बजेटलाई प्रतिस्थापन गर्ने नयाँ बजेट ल्यायो । तर, उक्त बजेट ल्याउनुअघि नै सरकारले झण्डै २८ सयवटा सडक र पुलको टेन्डर प्रकाशित नगर्न निर्देशन दियो । त्यसपछि बजेटमा एक हजार चार सयवटा त्यस्ता सडक र पुल योजनाहरु हटाइएको घोषणा गरियो ।

हटाइएका भनेका र नयाँ थप गरिएका योजनाहरु अझैसम्म पनि भौतिक मन्त्रालय हुँदै सडक डिभिजनहरुमा पुगेको छैन । चालू आर्थिक वर्षको साढे दुई महिना बितिसक्न लाग्दा पनि अझै सडक र पुलको टेन्डर कहिले हुने निश्चित छैन । केही योजनाहरुमा काम भइरहे पनि डिभिजन प्रमुखहरु खाली हुँदा काम नै रोकिने अवस्था सिर्जना भएको छ । भौतिक मन्त्रालयले कार्यालय प्रमुखहरुको सरुवा असोज १५ गतेसम्म गरिसकेर कामको वातावरण बनाउनुपर्नेमा मंगलबारको मितिमा बुधबार १९ जनाको मात्र सरुवा गरेको छ । यसरी सरुवा गर्दा अधिकांश सडक डिभिजन प्रमुखविहीन बन्नपुगेका छन् ।

मन्त्री नभएको बहाना बनाएर भौतिक मन्त्रालयले समयमै सरुवा नगर्दा काममा अन्योल सिर्जना भएको एक डिभिजन प्रमुखले आर्थिक दैनिकलाई बताए । ‘मन्त्रीले सरुवा गर्ने होइन’, ती डिभिजन प्रमुखले भने, ‘नियमित रुपमा हुने सरुवालाई सचिवले रोक्नु कुनै कारण नै थिएन । नियमित रुपमा हुने सरुवालाई समयमै गरेको भए कामलाई गति दिन सजिलो हुन्थ्यो ।’

भौतिक मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभिन्न आयोजना र डिभिजन प्रमुखको सरुवा गर्दा केही डिभिजन प्रमुख खाली हुनपुगेको छ । एकै पटक सरुवा गरेको भए सजिलो हुनेमा अब दशैँ विदा सुरु हुने बेलामा सरुवा गर्न खोज्दा कतिपय ठाउँमा सरुवा भएकाहरुको रमाना लिने र हाजिर हुने काममै समय लाग्ने देखिएको छ । लामो विदाको अगाडि सरुवा हुँदा कार्यालय प्रमुख भएर जानेहरुले ब्रिफिङ लिन नै ढिला हुने देखिन्छ । त्यसले पनि काम चुस्त रुपमा अगाडि बढाउन समस्या पर्ने देखिन्छ ।

भौतिक मन्त्रालयले डिभिजन प्रमुख र निमित्त प्रमुखको सरुवा गरेको छ । मन्त्रालयका अनुसार मेघराज मरासिनी, नायायणदत्त भण्डारी, अंगलाल रोकाया, केदार प्रसाद नेपाल, किरण कार्की, अमृतमणि रिमाल, ज्ञानेन्द्र कुमार झा, कुवेर नेपाली, अर्जुन सुवाल, नारायण प्रसाद निहुरे, दीपेन्द्र पाण्डेय, विजय कुमार थापा, अविमन दास मुल्मी, श्याम कुमार यादव, मुकुन्दराज मरासिनीलाई सरुवा गरेको छ । त्यस्तै निमित्त प्रमुखहरु लीला बहादुर भण्डारी, विष्णुबाबु पाण्डे, नवराज बास्तोला र हर्क बहादुर प्रधानलाई पनि सरुवा गरेको छ ।

मरासिनीलाई मध्यपहाडीको पर्वतबाट धुलिखेल सरुवा गरिएको छ भने भण्डारीलाई गल्छी–त्रिशूलीबाट मध्यपहाडीको पर्वतमा सरुवा गरिएको छ । रोकायालाई पुल सेक्टर २ बाट सडक विभागमा पठाइएको छ । भण्डारीलाई सरुवा गर्दा नुवाकोट डिभिजन खाली हुनपुगेको छ । नुवाकोटमा कसैलाई पनि पठाइएको छैन । किरण कार्कीलाई खारेज भएको खुर्कोटबाट नागढुंगा–मुग्लिङ सडकमा पठाइएको छ । अमृतमणि रिमाललाई नागढुंगा–मुग्लिङबाट विभागको पुलमा फिर्ता पठाइएको छ । ज्ञानेन्द्र कुमार झालाई कान्ति राजमार्गबाट भौतिक मन्त्रालय पठाइएको छ । उक्त कान्ति राजमार्ग खाली हुन गएको छ । दुई ठाउँमा सहसचिवमा लिखितमा नाम निकालेर अन्तर्वार्ताको पर्खाइमा रहेका कुवेर नेपालीलाई काठमाडौं चक्रपथ सडक विस्तारमा पठाइएको छ । अर्जुन सुवाललाई चक्रपथ विस्तारबाट विभागमा पठाइएको छ । नारायण प्रसाद निहुरेलाई मध्यपहाडी धुलिखेलबाट काठमाडौं डिभिजन सरुवा गरिएको छ ।

त्यस्तै, दीपेन्द्र पाण्डेयलाई हुलाकी राजमार्गको इटहरीबाट सडक विभाग पुलमा काज फिर्ता गरिएको छ । विजय कुमार थापालाई सडक डिभिजन सुर्खेतबाट हुलाकी राजमार्ग इटहरी पठाइएको छ । तर, सुर्खेतजस्तो कर्णाली प्रदेशको राजधानी भएको सडक डिभिजनमा कसैलाई पनि नपठाई खाली राखिएको छ । अविमन दास मुल्मीलाई सडक डिभिजन इलामबाट सडक विभागको पुलमा काज फिर्ता गरिएको छ । श्याम कुमार यादवलाई इलाम डिभिजनमा काजमा पठाइएको छ । मुकुन्दराज अधिकारीलाई पाल्पा डिभिजनबाट गल्छी–त्रिशूली आयोजनामा पठाइएको छ । तर, पाल्पा डिभिजन पनि खाली भएको छ । भौतिक मन्त्रालयले उक्त डिभिजनमा कसैलाई पनि पठाएको छैन । निमित्त प्रमुख लीला बहादुर भण्डारीलाई जुम्ला डिभिजनबाट पुल क्षेत्र सेक्टर ३ मा पठाइएको छ तर जुम्लामा कसैलाई पनि पठाइएको छैन । विष्णुबाबु पाण्डेलाई सहिदमार्गबाट हुलाकी कार्यालय कपिलवस्तु पठाइएको छ तर सहिदमार्ग खाली हुनपुगेको छ । नवराज बास्तोलालाई पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४ बाट सोही कार्यालयको कामु प्रमुख बनाइएको छ भने हर्क बहादुर प्रधानलाई रेल विभागबाट सडक विभाग पठाइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x