Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालभर १७ हजार २ सय ७४ विदेशी श्रमिक

नेपालभर १७ हजार २ सय ७४ विदेशी श्रमिक

सुरुङमा काम गर्ने चिनियाँ प्राविधिक बढे


काठमाडौं । हरेक दिन सयौँको संख्यामा नेपालीहरु कामको खोजीमा वैदेशिक रोजगारीमा गइरहेका छन् । तर, विदेशी नागरिक पनि नेपालमा कामका लागि आउने गरेका छन् भन्दा नौलो लाग्न सक्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हालसम्म १७ हजार जनाभन्दा बढी विदेशी नागरिक नेपालमा काम गर्नका लागि आएका छन् ।

अदक्ष र अर्धदक्ष नेपालीहरु विदेशमा काम गर्न जान्छन् भने दक्ष विदेशी नागरिक भने नेपालमा काम गर्न आउने गरेका छन् । नेपालमा अदक्ष विदेशी कामदार ल्याउन नपाइने सरकारले बाध्यकारी व्वयस्था गरेको कारणले गर्दा पनि अधिकांश दक्ष विदेशी कामदार नेपाल आउने गरेका हुन् ।

हालसम्म नेपालमा १५ हजार एक सय ७२ जना पुरुष र दुई हजार एक सय दुई जना महिला गरी कुल १७ हजार दुई सय ७४ जना विदेशी नागरिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ ।

पहिलेदेखि नेपालमा काम गरेर बस्दै आएका र नयाँ आउने क्रम समेत जारी रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक सनत केसीले बताए । ‘विदेशी कामदारको हकमा धेरै नवीकरण गर्ने र थोरै नयाँ आउने अहिलेको प्रवृत्ति छ’, महानिर्देशक केसीले आर्थिक दैनिकसँग भने, ‘नयाँ आउनेमा भने चिनियाँ नागरिक धेरै छन् । उनीहरु विशेष गरी सुरुङमा काम गर्नका लागि आएका हुन् ।’

नेपालमा सडक र जलविद्युत् आयोजनाहरुका लागि सुरुङ निर्माण गरिँदै छ । ती आयोजनाहरुमा दक्ष कामदारको रुपमा चिनियाँ प्राविधिकहरु आएर काम गरेको हुँदा उनीहरुको संख्या बढ्को विभागको भनाइ छ । काठमाडौं–तराई द्रुतमार्ग, थानकोट–नागढुङ्गा सिस्नेखोला, माथिल्लो तामाकोशी परियोजनालगायतका सुरुङमार्गमा लामो समयदेखि चिनियाँ प्राविधिज्ञले काम गर्दै आएका छन् । यस्तै विभिन्न विमानस्थल निर्माणको काममा समेत विदेशी कामदारहरु कार्यरत छन् ।

नेपालमा आउनेमध्ये ठूलो संख्यामा भने इन्जिनियर हुने गरेको र त्यसपछि क्रमशः चिकित्सक, प्राविधिज्ञ, प्राध्यापक, शिक्षक र विषय विज्ञ हुने गरेका छन् ।

यस्तै पछिल्लो चार वर्षमा (सन् २०१७ देखि हालसम्म) सात हजार नौ सय ७० जना विदेशीहरु नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिएको विभागले उपलब्ध गराएको तथ्यांकमा भनिएको छ ।

जसमध्ये श्रमस्वीकृति नवीकरण गर्ने दुई हजार तीन सय ३७ जना पुरुष र चार सय ६७ जना महिला र नयाँ श्रम स्वीकृति लिने चार हजार छ सय ८५ जना पुरुष र चार सय ८१ जना महिला छन् ।

सो अवधिमा सबैभन्दा बढी काम गर्न नेपाल आउने नागरिकहरुमा चिनियाँ र त्यसपछि क्रमशः बेलायत, अमेरिकी, भारत, दक्षिण कोरियालगायतका नागरिक छन् ।

चार वर्षमा पाँच हजार छ सय ७५ जना चिनियाँ, चार सय आठ जना बेलायती, दुई सय ४५ जना अमेरिकी, एक सय ९० जना भारतीय र एक सय ६८ जना दक्षिण कोरियाली नागरिक नेपालमा कार्यरत छन् । उनीहरु श्रम स्वीकृति नवीकरण तथा नयाँ श्रम स्वीकृति लिएर यहाँ कार्यरत रहेका छन् ।

एक सय १७ जना जापानी, ९२ जना अष्ट्रेलियन, ७० जना फ्रान्सेली, ६१ जना र्जमनी, ३८ जना बंगलादेशी, ३० जना ब्राजिलियन, ३८ जना क्यानेडियली नागरिक नेपालमा कार्यरत रहेका छन् । यसका साथै श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, युरोपेली मुलुक इटली, न्युजिल्यान्ड, अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुक भेनेजुयला, सिरिया, जिम्बाबे, भेनेजुयला, दक्षिण अफ्रिका, नाइजेरियालगायतका दर्जन मुलुकका नागरिक नेपालमा कार्यरत रहेको पाइन्छ ।

यता वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या भने मासिक करिब ४० हजार रहेको छ । मासिक करिब ४० हजार जना युवाले श्रम स्वीकृति लिने गरेको पाइन्छ भने त्यसमध्ये कति उड्ने गरेको भने एकीन नहुने वैदेशिक रोजगार विभागको भनाइ छ ।

विदेशी नागरिकहरुको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ अनुरुप विदेशी कामदारहरु नेपाल आउने गरेका छन् । नियमअनुसार रोजगारदाताले आवश्यक परेको खण्डमा विज्ञापन गरी पाँच प्रतिशत विदेशी कामदार ल्याउन सक्नेछ भने बाँकी आवश्यक कामदार भने सरोकारवाला सरकारी निकायसँग सम्झौता गरी अघि बढ्नुपर्ने हुन्छ । विदेशी दक्ष कामदार मात्र आउने हुँदा तिनीहरुबाट छिटो छरितो काम हुनुको साथै उनीहरुसँगै स्थानीय युवाहरुले समेत काम गर्ने हुँदा उनीहरु समेत दक्ष बन्न सक्ने हुँदा नेपाललाई फाइदाजनक रहेको श्रम विज्ञहरुको भनाइ छ ।

दक्ष विदेशी कामदार आउने हुँदा उनीहरुको सेवा सुविधा आकर्षक हुने गरेको छ भने अर्कोतर्फ नेपालमा उपलब्ध नहुँदा आकर्षक सेवा सुविधासहित विदेशी कामदार ल्याउनुपर्ने बाध्यता समेत छ । जसले गर्दा विदेशी कामदारहरुलाई नेपाल बसाइ सहज समेत हुँदा श्रम नवीकरण गरेर बस्ने विदेशीको संख्या प्रायःजसो धेरै हुने गरेको महानिर्देशक केसीले आर्थिक दैनिकलाई भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x