राष्ट्र बैंकद्वारा पुनर्कर्जाको आवेदन माग, प्रतिशाखा पाँच जनालाई पुनर्कर्जा
प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोडसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि २०७७ पूर्णरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएसँगै वाणिज्य बैंक, विकास बैंंक र फाइनान्स कम्पनीहरुसँग पुनर्कर्जाको लागि आवेदन माग गरेको छ । कात्तिक १४ गते आइतबार राष्ट्र बैंकले एकमुष्टरुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन माग गरेको हो । सोअनुरुप यही मंसिर १९ गतेसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुले यस्तो कर्जाको लागि आवेदन दिइसक्नुपर्नेछ ।
यसअघि राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै २०७८ असार २५ गतेदेखि नै पुनर्कर्जासम्बन्धी कार्यविधि २०७७ पूर्णरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले परिपत्रमार्फत भनेको थियो, ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ अनुरुप एकमुुष्ठरुपमा प्रदान हुुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरिने भएकाले इजाजतप्राप्त संस्थाहरुले कार्यविधिमा उल्लिखित व्यवस्थाहरु अवगत गरी आवश्यक तयारी गर्न समेत अनुरोध गरिएको छ ।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप स्रोत आवश्यक पर्ने भएकोले पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुने कुल स्रोत रकमको अधिकतम पाँच गुणासम्म बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको छ । कोभिड–१९ को असर न्यून भएसँगै यो सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध स्रोतको आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनर्कर्जा लघु घरेलुु तथा साना उद्यम पुनर्कर्जा मानिनेछ । बैंकले समय–समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिनेछ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरूलाई मानिनेछ ।
घरेलु, साना तथा लघुवित्त र विशेष पुनर्कर्जाअन्तर्गत नपरेकालाई भने साधारण पुनर्कर्जा मानिने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको लागि राष्ट्र बैंक स्वयंले दुई प्रतिशत एवं सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकहरुसँग पाँच प्रतिशतसम्म ब्याज लिन सक्नेछन् । यसैगरी विशेष पुनर्कर्जाको हकमा भने राष्ट्र बैंक स्वयंले लिने ब्याजदर एक प्रतिशत र इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले लिने ब्याज भने तीन प्रतिशत तोकिएको छ । साधारण पुनर्कर्जाको हकमा भने नेपाल राष्ट्र बैंकले लिने ब्याजदर तीन प्रतिशत र इजाजतप्राप्त संस्थाहरुले ग्राहकसँग लिने ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुनेछैन । ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अतिप्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछ ।
राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुनेछैन । बैंकले ग्राहकअनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुनेछैन । राष्ट्र बैंकका अनुसार बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुनेछैन ।
एकमुष्ट रूपमा प्रदान गरिने पुनर्कर्जाको लागि बैंकले इजाजतपत्र प्राप्त संस्थाहरूबाट आवेदन आह्वान गर्नेछ । राष्ट्र बैंकका अनुसार उक्त आह्वानमा तोकिएको समयावधिभित्र इजाजतपत्र प्राप्त संस्थाले आफ्ना प्रत्येक शाखाहरूबाट लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण पुनर्कर्जा पाउने ऋणीका लागि प्रतिशाखा न्यूनतम पाँच ग्राहकले सुविधा पाउने गरी विवरण पेश गर्नुुपर्नेछ ।
यी हुन् पुनर्कर्जाको लागि तोकिएका क्षेत्र : नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि कोभिड १९ बाट अतिप्रभावित र मध्यम प्रभावित दुई क्षेत्रलाई समेटको छ । यस यी क्षेत्रअन्तर्गत पर्ने उद्योग, व्यवसायहरुले पुनर्कर्जाको लागि बैंक तथा फाइनान्स कम्पनीहरुले कात्तिक १४ देखि मंसिर १९ गतेसम्म पुनर्कर्जा माग गर्दै आवेदन दिन सक्नेछन् ।
पुनर्कर्जाको लागि राष्ट्र बैंकले तोकेको कोभिड १९ को अतिप्रभावित क्षेत्रअन्तर्गतको पर्यटन रहेको छ । यसअन्तर्गत ट्रेकिङ, ट्राभल एजेन्सी, टुर अपरेटर, क्यासिनो, मसाज, स्पा, होटल तथा पर्यटक आवास, साहसिक पर्यटन, हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, पार्टी प्यालेस, चलचित्र आदिले पुनर्कर्जाको लागि आवेदन दिन सक्नेछन् । मध्यम प्रभावित क्षेत्रअन्तर्गत खप्ने सामानहरु जस्तै फलाम, स्टिल, टायर, अस्पताल, क्लिनिक, प्रशोधन तथा बिक्रीवितरण केन्द्र, वन तथा खनिजजन्य उद्योग, औषधि, निर्माण व्यवसाय, छपाइ, प्रकाशन तथा सञ्चार गृह, जलविद्युत्, नवीकरणीय ऊर्जालगायतका क्षेत्रहरु तोकिएका छन् ।
संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशत सीमित हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । हाल एकमुष्ट पुनर्कर्जा उपयोग गरिरहेका ऋणीहरु यस आह्वानमा पुनः आवेदन दिन योग्य नहुने र एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक, वित्तीय संस्थामार्फत भएको आवेदन व्यहोरा सुनिश्चित गर्नुपर्नेछ ।
पुनर्कर्जाको लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नुपर्नेछ । आवेदनको लागि ऋणी छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँच वटा ग्राहक ऋणी समेटिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया