Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनसरी मोरङ करिडोरका उद्योगद्वारा निर्माण सामग्रीको उच्च मूल्य वृद्धि

सुनसरी मोरङ करिडोरका उद्योगद्वारा निर्माण सामग्रीको उच्च मूल्य वृद्धि


विराटनगर । लामो समयदेखि रोकिएको पूर्वाधार निर्माणको काम सुरु हुनै लाग्दा सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीदेखि व्यवसायीले फलामजन्य निर्माण सामग्रीदेखि सिमेन्टको भाउमा एक्कासि वृद्धि गरेका छन् ।

दशैँ, तिहार तथा छठजस्ता पर्वसँगै सुरु हुन लागेको पूर्वाधार निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य वृद्धि गरी उपभोक्ताको ढाड सेक्ने नीति उद्योगी तथा व्यवसायीले गरेको उपभोक्ताहरूले गुनासो गर्न थालेका छन् । निर्माणकार्यको सिजन सुरु हुनै लाग्दा र अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि भएको भन्ने बहाना बनाएर निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि गरी उपभोक्ताको ढाड सेक्ने काम हुँदा पनि सरकार मुकदर्शक भएको आरोप उपभोक्ताले लगाउन थालेका छन् । एक व्यवसायीका अनुसार पछिल्लो समय फलामे छडको मूल्य प्रतिकेजी १० रुपैयाँदेखि २० रुपैयाँसम्म वृद्धि भएको छ ।

Open photo

यस्तै सिमेन्टको मूल्यमा ३० प्रतिशतसम्मले वृद्धि भएको व्यवसायीले नै दाबी गरेका छन् । उद्योगीहरूले भने सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातको नीतिले फलामजन्य सामग्रीको मूल्य वृद्धि भएको बताएका छन् । फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म कमी आउने अपेक्षा गरिएको भए पनि सरकारले ल्याएको प्रतिस्थापन विधेयकका कारण मूल्य वृद्धि भएको उद्योगीको भनाइ छ ।

विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरिद गर्दा प्रतिकेजी ७९ रुपैयाँ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी ८३ रुपैयाँ मूल्य कायम रहेको थियो । विधेयकपछि रोलिङ मिल्सहरूले प्रतिस्पर्धा गर्न नसकी उत्पादन नै रोक्न थाल्दा केही डन्डी उत्पादन गर्दै आएका उद्योगीहरूले मूल्यमा कार्टेलिङ गरी जथाभावी मूल्य कायम गरेको यहाँका एक व्यवसायीले जानकारी दिएका छन् । उनका अनुसार अहिले उद्योगहरूले फलामे छड किन्दा प्रतिकेजी एक सय छ रुपैयाँदेखि एक सय १० रुपैयाँसम्ममा दिनेगरेका छन् ।

Open photo

डन्डीसँगै सिमेन्टको मूल्य पनि वृद्धि भएर आउन थालेको व्यवसायीले बताएका छन् । जसले गर्दा निर्माण हुँदै आएका पूर्वाधार निर्माणका काम पनि महँगो पर्नजाने अवस्था सिर्जना हुन थालेको छ । सिमेन्ट उत्पादनमा तीव्र प्रतिस्पर्धा हुँदा ठूला सिमेन्ट उद्योगले मूल्य बढाउँदा त्यति चासो नदिएको कारण अहिले सिमेन्टको मूल्य साबिक मूल्यमा २० देखि ३० प्रतिशतसम्म बढेको छ । सिमेन्ट उद्योगीहरूले कोइलाको मूल्यमा उच्च वृद्धि भएको र भारतमा पनि सिमेन्टको मूल्यमा वृद्धि भएको बहाना बनाएर नेपालमा पनि मूल्य बढेको दाबी गर्न थालेका छन् । अहिले केही सिमेन्ट उद्योगहरूले मात्र मूल्य बढाएकोले यसलाई समय छँदै नियन्त्रण गर्नतर्फ सरकारले कदम चाल्नुपर्ने व्यवसायीको माग छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x