Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ । बुधबार रातिदेखि नै निगमले मूल्यवृद्धि गरी देशभर लागू गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनाइदिएको छ । नेपाल आयल निगमले कात्तिक १२ गते पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।

निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको मूल्यमा तीन रुपैयाँ वृद्धि गरेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर आठ ९५ वृद्धि गरेको छ ।

निगमका अनुसार वृद्धि भएको नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९ रुपैयाँ पुगेको छ भने खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ७५ रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको जनाउँदै नेपालमा पनि वृद्धि भएको जनाएको छ । निगमलाई १५ दिनमा तीन अर्ब दुई करोड रुपैयाँ घाटा हुने अवस्था रहेको कारण मूल्यवृद्धि गर्नुपरेको निगमले दाबी गरेको छ ।

नेपालले भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दैै आएको छ । प्रत्येक महिनाको दुई पटक भारतीय आयल कर्पोरेसनले निगमलाई मूल्यसूची पठाउने गर्छ । त्यही मूल्यअनुसार निगमले खरिद गर्ने गरेको छ ।

भारतीय आयल कर्पोरेसनबाट खरिद गरेर वृद्धि भएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई अझै दुई अर्ब ६२ करोड रुपैयाँ घाटा नै रहेको निगमले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । निगमले स्वचालित मूल्यअनुसार वृद्धि भएको जनाएको छ । निगमका अनुसार वृद्धि भएको मूल्यअनुसार पनि अझै पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर छ सय ५७ रुपैयाँ ८४ पैसा घाटा नै रहेको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट फेरि यही कात्तिक ३० गते अर्को मूल्यसूची आउनेछ । त्यतिबेला पनि मूल्यवृद्धि गर्नुपर्ने निगमले दाबी गरेको छ । निगमका अनुसार भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलियम पदार्थ प्रतिलिटर ३७ रुपैयाँ ५३ पैसा र डिजेल प्रतिलिटर ३० रुपैयाँ ६५ पैसाले नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ सस्तो रहेको कारण भारतमा तस्करी हुने गरेको छ ।

सरकारले कडाइ गरेको दाबी गरे पनि त्यसमा नियन्त्रण गर्नसकेको छैन । भारतीय गाडीहरु सामान बोकेर नेपाल आएर फर्किएर जाँदा नेपाली पम्पमा तेल हालेर जाने गरेका छन् भने कतिपय पम्पवालाहरुले अवैध मार्गबाट तेल भारततर्फ बिक्री गर्ने गरेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x