Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकार्यालय सहयोगीको आम्दानी आठ करोड ९८ लाख

कार्यालय सहयोगीको आम्दानी आठ करोड ९८ लाख


काठमाडौँ, माघ १७
काठमाडौंको कुनै सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीले आफ्नो जीवनभर कति आम्दानी गर्ला ? उसको परिवारको गाँस, बास र कपास, शिक्षा, स्वास्थ्य र यातायात खर्च पनि तलबबाटै खर्च गर्दा जीवनभर जागिरबाट बचाउने सम्भावना कम नै हुन्छ । अहिले मात्र होइन धेरै पहिलादेखि नै काठमाडौं महंगो सहरमा पर्छ । पहिला पैसाको धेरै महत्व हुन्थ्यो । तलब थोरै हुन्थ्यो भने महंगी पनि थोरै नै हुन्थ्यो । तलबको तुलनामा २०४५/०५० सालतिरको बजार मूल्य बढी नै हुन्थ्यो । अहिलेको तलब र त्यतिबेलाको मूल्य तुलना गर्दा मात्र कति सस्तो जमाना थियो भन्न सकिने हो । तर, मूल्य र तलबको तुलना त्यसरी गर्न मिल्दैन । जुनबेलाको तलब हुन्छ त्यही बेलाको मूल्य गणना गरिन्छ । त्यही भएर सरकारी तलब अहिलेसम्म पनि केवल जीविकोपार्जनका लागि मात्र ठिक्क हुने गर्छ । अहिले पनि तलबबाट परिवार पाल्न धौ–धौ पर्छ भने पहिला पनि यही हो ।

२०४५ कात्तिक १९ गते सेवा कार्यालय सहयोगीको रुपमा सरकारी जागिरमा प्रवेश गरेका मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले २०७५ असोज २५ गतेसम्म आठ करोड ९८ लाख ५८ हजार छ सय १३ रुपैयाँ अतिरिक्त आम्दानी गरेको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जागिरको अवधिमा कार्यालय सहयोगी बस्नेतले ७४ लाख ७३ हजार तीन सय ७३ रुपैयाँ मात्र वैध आम्दानी गरेका छन् । अहिले उनको सम्पत्ति नौ करोड ७३ लाख ३१ हजार नौ सय ८६ रुपैयाँ देखिएको छ । उनको उक्त सम्पत्तिबाट वैध आम्दानी घटाउँदा आठ करोड ९८ लाख ५८ हजार छ सय १३ रुपैयाँ अतिरिक्त आम्दानी गरेको भेटिएको हो । कार्यालय सहयोगीले नै त्यति धेरै आम्दानी गरेका छन् भने उक्त कार्यालयमा सोही अवधिमा बसेको अन्य तहका कर्मचारीले कति आम्दानी गरेका होलान् ? तर, अख्तियारले त्यतिबेलाका कर्मचारीको सम्पत्तिको छानबिन नगरी ती कार्यालय सहयोगीविरुद्ध मात्र मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय चावहिल (हाल निलम्बित) कार्यालय सहयोगी राजेन्द्र बस्नेतले पदीय दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेकोले कारबाही गरिपाऊँ भनी आयोगमा उजुरी दर्ता भएपछि आयोगले छानबिन थालेको थियो । अख्तियारका अनुसार बस्नेत मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी नगद असुल गरी राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको भन्ने कसुरउपर विशेष अदालतमा २०७५ पुस १५ गते दायर मुद्दाको कसुरउपरको सुरु अनुसन्धानको क्रममा २०७५ असोज २५ गते पक्राउ परेका थिए । सोही समयमा उनीबाट स्रोत नखुलेको ११ लाख समेत बरामद भएको थियो । अख्तियारका अनुसार गैरकानुनी सम्पत्ति आर्जन विषयउपरको अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरुबाट बस्नेतले आफू तथा आफ्नो परिवारका सदस्यहरुलगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा दर्ता कायम रहने गरी जग्गा र सवारीसाधन र व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा खर्च लगानी गरेको भेटिएको थियो ।

कार्यालय सहयोगी बस्नेतले आफू तथा श्रीमती सीता बस्नेतको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रजिष्ट्रेसन दस्तुर समेत छ करोड ७४ लाख २५ हजार एक सय ४५ रुपैयाँ, आमा टुकु कुमारी बस्नेतको नाममा रहेको जग्गामा निज राजेन्द्र बस्नेतले लगानी गरी बनाएको घर निर्माणमा ६२ लाख ९० हजार पाँच सय ४८ रुपैयाँ कर्जा एवं सापटी चुक्ता प्रयोजनमा ३९ लाख ७६ हजार दुई सय ९० रुपैयाँ, जीवन बीमाका विभिन्न पोलिसीहरुमा प्रिमियम शुल्कमा पाँच लाख ७० हजार चार सय ९० रुपयाँ, सवारीसाधन खरिदमा ३७ लाख ३१ हजार अंशीयार दाजुभाइलाई अंशबापत नगद भुक्तानी गरेका थिए । सो नगर भुक्तानीमा १५ लाख रुपैयाँ, पुँजीगत लाभकरमा ३ लाख ४७ हजार ४० रुपैयाँ, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार तीन सय २५ रुपैयाँ खर्च गरेको अख्तियारले फेला पारेको छ ।

यस्तै, सेयर खरिदमा १८ हजार, भ्रष्टाचारजन्य कसुरउपरको अनुसन्धानमा पक्राउ पर्दा निजको साथमा फेला परेको स्रोत नखुलेको नगद ११ लाख, श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा पठाई बैंकिङ च्यानलबाट भतिजा कृपा बस्नेतलाई उपलब्ध गराई कृपा बस्नेतको नामबाट लगानी गर्नमा एक करोड रुपैयाँ, निज राजेन्द्र बस्नेत एवं निजका परिवारका सदस्यहरुको नाममा सञ्चालित विभिन्न बैंक खाताहरुमा जाँच अवधिमा देखिएको अन्तिम मौज्दात ५ लाख ८७ हजार एक सय ४८ समेत गरी अनुसन्धानमा लिइएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा विभिन्न शीर्षकमा खर्च एवं लगानी गर्नमा निजले ९ करोड ७३ लाख ३१ हजार नौ सय ८६ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार बस्नेतको अहिलेको कुल सम्पत्तिमा वैध आम्दानी घटाउँदा निजको वैध आय ७४ लाख ७३ हजार तीन सय ७३ को तुलनामा आठ करोड ९८ लाख ५८ हजार छ सय १३ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ । निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको आठ करोड ९८ लाख ५८ हजार छ सय १३ रुपैयाँ निजले राष्ट्र सेवक भएपश्चात् के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बस्नेतलाई जम्मा बिगो आठ करोड ९८ लाख ५८ हजार छ सय १३ रुपैयाँ कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साथै निजले स्रोत पुष्टि गर्न नसकेको एवं गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगो आठ करोड ९८ लाख ५८ हजार छ सय १३ रुपैयाँ साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम जफत समेत गरी पाउन पनि माग गरिएको छ ।

कार्यालय सहयोग बस्नेत तथा सम्पत्ति जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमती सीता बस्नेत आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी निज राजेन्द्र बस्नेतको साथमा फेला परेको नगद ११ लाख संलग्न राखी बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x