Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुर्घटना बीमासम्बन्धी नयाँ निर्देशिका \

दुर्घटना बीमासम्बन्धी नयाँ निर्देशिका \


काठमाडौं । बीमा समितिले दुर्घटना बीमालाई व्यवस्थित गर्नको लागि दुर्घटना बीमासम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिका अनुसार दुर्घटना बीमाको दाबी प्रक्रिया झन्झटिलो र ढिलो समेत हुने गरेको अवस्थामा त्यसलाई थप व्यवस्थित गर्नको लागि नयाँ निर्देशिका ल्याइएको हो ।

निर्देशिकाअनुसार सामूहिक दुर्घटना बीमालेखको हकमा प्रत्येक बीमितको नाम ठेगाना, उमेर, पद र सम्पर्क नम्बर अलग–अलग रुपमा खुलाउनुपर्नेछ । ‘तर बीमितको नाम ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्न नसकिने सामूहिक बीमालेखको हकमा बीमितको संख्या मात्र खुलाउन सकिनेछ’, निर्देशिकामा भनिएको छ । बीमालेखमा नाम उल्लेख भएका व्यक्तिको हकमा बीमालेखको पूरा अवधिभर र बीमालेखमा नाम उल्लेख नगरी संख्या मात्र उल्लेख भएका बीमितको हकमा निजको कार्य अवधि (ड्युटी आवर) का अवधिभित्र भएको घटनाको मात्र रक्षावरण हुनेछ । बीमासम्बन्धी मूलभूत विवरण तथा बीमाशुल्क गणनासम्बन्धी विवरण बीमा समितिको तोकेको निर्देशनबमोजिम प्रष्टरुपमा उल्लेख गर्नुपर्नेछ । ‘सामूहिक बीमालेखअन्तर्गत बीमा अवधिभर जुनसुकै समयमा बीमितको संख्या थपघट गर्न सकिनेछ’, निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार दुर्घटना बीमाअन्तर्गत जारी गरेको बीमालेख बीमक तथा बीमित वा बीमालेख धारक बीचको द्विपक्षीय करार हुुनेछ । सोअनुरुप बीमालेखमा उल्लेख भएका शर्त तथा व्यवस्थालगायतका सम्पूर्ण प्रावधान बीमक तथा बीमित वा बीमालेख धारक दुुवैले पालना गर्नुपर्नेछ । ‘बीमालेखको शब्दावली, विषय, अन्तर्वस्तु, ढाँचा तथा बीमालेखको कुुनै पनि कुरा बीमा समितिबाहेक अन्य कसैले पनि संशोधन, परिमार्जन तथा कुनै परिवर्तन गर्न पाउनेछैन’, निर्देशिकामा भनिएको छ । निर्देशिकाअनुसार बीमालेखमा बीमाशुल्क गणना गर्दा मूल बीमांक रकम, सम्पुष्टिमा थप गरी लिन चाहेको थप जोखिमबाहेकको रकम, बीमालेखले उपलब्ध गराउने औषधि उपचारको रकमबाहेक थप औषधोपचारको रकम अलग–अलगरुपमा खुलाउनुपर्नेछ ।

समितिका अनुसार दुर्घटना बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिको लागि मात्र जारी गर्न सकिनेछ । बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेट) सहित उल्लेख गर्नुपर्नेछ । बीमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मितिबीच ३० दिनभन्दा बढी दिनको फरक पारी बीमालेख जारी गर्न पाइनेछैन । यसरी जारी भएको बीमालेख जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजेसम्म बीमा अवधि समाप्त हुनेछ । एक वर्षभन्दा लामो अवधिको लागि यस्तो बीमालेख जारी गर्न पाइनेछैन ।

निर्देशिकामा जुनसुकै कुरा लेखिएको भए पनि कुनै तोकिएको कार्य गर्न कुुनै आयोजनामा कार्यरत व्यक्तिको लागि सामूहिक बीमा गर्दा उक्त आयोजना अवधिभरका लागि एकैपटक दुर्घटना बीमा गर्न सकिनेछ । ‘यसैगरी यस दफामा जुनसुकै कुरा लेखिएको भए पनि सार्वजनिक निर्माणमा संलग्न मजदुरको सामूहिक बीमा गर्दा एउटै बीमकमा पूरा आयोजना अवधिभर बीमा गरेको अवस्थामा अन्तिम वर्षमा हुन आउने एक वर्षभन्दा कम अवधिको लागि छोटो अवधिका बीमादरको सट्टा समानुपातिक बीमादर लागू हुनेछ’, बीमा समितिले भनेको छ ।

यो निर्देेशिकाअनुसार बीमकहरुले व्यक्तिगत दुर्घटना बीमा र सामूहिक दुर्घटना बीमालेख जारी गर्न सक्नेछन् । सोअनुुरुप बीमित वा बीमालेख धारकले अनुरोध गरेमा एक वर्षभन्दा कम अवधिको लागि बीमालेख जारी गर्नुपर्नेछ र त्यस्तो बीमालेखलाई छोटो अवधिको बीमालेख भनिनेछ । छोटो अवधिको बीमालेखअन्तर्गत एक महिनासम्मको लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एक महिनादेखि तीन महिनासम्मको लागि वार्षिक बीमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि छ महिनासम्मको लागि वार्षिक बीमाशुल्कको ६० प्रतिशत, छ महिनादेखि एक वर्षसम्मको लागि शतप्रतिशतसम्म बीमादर कायम गर्न सकिने निर्देशिकामा उल्लेख छ । छोटो अवधिको बीमालेख एकपटक जारी भइसकेपछि सोको पुनः समय बढाउन पाइनेछैन । यो व्यवस्थाअनुसार बीमालेख जारी गर्दा बीमितको पेशासँग निहित जोखिमहरु प्रष्टसँग खुलाउनुपर्नेछ ।

व्यक्तिगत दुर्घटना बीमाको लागि न्यूनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँ हुनेछ । निर्देशिकाअनुसार सामूहिक दुर्घटना बीमाको लागि भने दुई जनादेखि २५ जनासम्मको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम दुई रुपैयाँ, २६ जनादेखि एक सय जनासम्मको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ७५ पैसा, एक सय जनाभन्दा बढीको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ५० पैसा र क्षतिपूर्तिस्वरुप एक लाखभन्दा बढी रकमको औषधोपचार खर्च लिन चाहेमा थप औषधोपचार खर्चको लागि थप गरिएको बीमांकको पाँच प्रतिशतसम्म बीमाशुल्क कायम हुने निर्देशिकामा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x