Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो विद्युतीय राहदानी संस्कृतिविद् जोशीलाई

पहिलो विद्युतीय राहदानी संस्कृतिविद् जोशीलाई

दुई महिनाभित्र सबै ठाउँबाट विद्युतीय राहदानी


काठमाडौं । सरकारले बुधबारदेखि विद्युतीय राहदानी (इ–पासपोर्ट) प्रचलनमा ल्याएको छ । एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री डा. नारायण खड्काले पहिलो विद्युतीय राहदानी शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गर्दै विद्युतीय राहदानी प्रचलनमा ल्याएका हुन् ।

मन्त्री खड्काले विद्युतीय राहदानी अन्तर्राष्ट्रियजगत्मा प्रयोग हुने र नेपालको पहिचान प्रतिविम्बित गर्ने महत्वपूर्ण कागजात भएको बताए । राहदानी विभागले समयमै सुरक्षित, भरपर्दो, विश्वसनीय तथा अन्तर्राष्ट्रिय रुपमा मान्य विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा खुसी व्यक्ति गर्दै छिटै ७७ वटा जिल्ला प्रशासन कार्यालयहरु, १८ वटा इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित ४० वटा नियोगहरुबाट विद्युतीय राहदानी जारी गरिने उनले बताए ।

मन्त्रालयका सचिव भरतराज पौड्यालले यन्त्रवाहक राहदानी (एमआरपी) र विद्युतीय राहदानीको विशेषताहरुको तुलनात्मक वर्णन गर्दै मन्त्रालय एवम नेपाल सरकारका अन्य सहयोगी निकायहरुको समन्वय, सहयोग र निर्देशनमा राहदानी विभागले समयमै विद्युतीय राहदानी जारी गर्न सफल भएको बताए । विद्युतीय राहदानी प्रचलनमा ल्याए पनि सन् २०३१ तथा सोभन्दा पछिसम्म एमआरपी प्रयोग गर्न सकिने समेत उनले जानकारी गराए ।

संस्कृतिविद् जोशीले आफूसँग उपलब्ध भएको पुरानो राहदानी विभागको संग्रहालयमा राख्ने प्रयोजनार्थ विभागका महानिर्देशकलाई दिँदै राहदानी नेपालको राष्ट्रियताको प्रतीक भएको र यसलाई समयक्रमअनुसार अद्यावधिक गरिएकोमा विभागलाई आभार व्यक्त गरे ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी डाटापेज पोलीकार्वोनेट रहेको, चिप्समा बायोग्राफिक डाटासमेत संग्रहित रहेको र विभिन्न सुरक्षा विशेषतासहित रहेको बताए । सबै स्थानमा प्रत्यक्ष दर्ता प्रणाली जडान हुने, अनलाइनबाट प्रि–इनरोलमेन्ट गरी आफ्नो उपयुक्त समय बुकिङ्ग गरी आवेदन गर्न सकिने र छिटो राहदानी प्रिन्ट हुने भएकोले अहिलेभन्दा समय बचत भई जिल्ला र विदेशस्थित नियोगमा समेत १५ दिनभित्र राहदानी प्राप्त गर्न सकिने गरी डिजाइन गरिएको हुँदा सहजता हुने बताए ।

करिब तीन हप्तापछि राहदानी विभागबाट पूर्ण रुपमा जारी गरिने, डिसेम्बर महिनासम्मा जिल्ला प्रशासन कार्यालयहरु र इलाका प्रशासन कार्यालयहरुबाट र जनवरी महिनासम्मा विदेशस्थित नेपाली नियोगहरुबाट विद्युतीय राहदानी जारी गर्ने विभागको योजना छ ।

विद्युतीय राहदानीसँग राष्ट्रिय परिचयपत्रको अन्तराबद्धता मिलाइएको हुँदा राष्ट्रिय परिचयपत्र बनाउन आवेदन गर्दा प्रयोग भएको औँठाछाप र तस्बिर विद्युतीय राहदानीको लागि प्रमाणीकरणको प्रमुख आधार भएकोले विद्युतीय राहदानी बनाउनुअघि अनिवार्यरुपमा राष्ट्रिय परिचयपत्रको लागि आवेदन गर्न पनि विभागले अनुरोध गरेको छ ।

यसअघिको बाध्यकारी व्यवस्थाअनुरुप एमआरपी जारी गरेअनुरुप विद्युतीय राहदानी भने वितरण गरिएको होइन । पछिल्लो समय विश्वमा विद्युतीय राहदानीको बढ्दो प्रयोगसँगै सरकारले यसलाई मुलुकमा लागू गरेको हो । यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले हस्तलिखित राहदानी मान्य नहुने भएसँगै नेपालमा एमआरपी लागू गरिएको थियो । बाध्यकारी व्यवस्था भएसँगै सरकारले हस्तलिखित राहदानी अन्त्य गरेको थियो । सोहीअनुरुप २०६७ पुस ११ देखि नेपालमा एमआरपी जारी गरिएको हो । हालसम्म ६९ लाख २६ हजार पाँच सय १७ वटा राहदानी विभागले वितरण गरेको छ । सो संख्यामा करिब शतप्रतिशत एमआरपी वितरण गरिएको हो । त्यसभन्दा अघि नेपालमा हस्तलिखित राहदानी प्रयोगमा थियो ।

सरकारले आईकाओको प्रावधानअनुसार एमआरपी जारी गर्ने कार्यलाई सुव्यवस्थित गर्न २०६७ जेठ ११ देखि केन्द्रीय राहदानी कार्यालय स्थापना गरेको थियो भने विभागले राहदानी ऐन, २०२४ र राहदानी नियमावली, २०७७ अनुसार राहदानी वितरण गर्दै आएको छ । विभागले पहिलो चरणमा २० लाख विद्युतीय राहदानी छपाइ र पर्सनलाइजेसन गर्नेछ। विद्युतीय राहदानी त्रिपुरेश्वरस्थित पर्सनलाइजेसनसेन्टरबाट वितरण गरिनेछ । (आर्थिक देनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x