Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग राज्यमन्त्रीकै उद्योगमा मजदुरले न्यूनतम पारिश्रमिक पाएनन्

उद्योग राज्यमन्त्रीकै उद्योगमा मजदुरले न्यूनतम पारिश्रमिक पाएनन्


शंकर लुइँटेल
विराटनगर, माघ १९
संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको उद्योगमा कार्यरत मजदुरहरुले राज्यले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भेटिएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको दुगडको उद्योगमा कार्यरत मजदुरहरुले आफूहरुले न्यूनतम पारिश्रमिक नपाएको बताएका हुन् ।

पहिलो संविधानसभामा नयाँ पार्टी दर्ता गरी नवनेपाल निर्माण पार्टी गठन गरी संविधानसभामा चुनाव लडेका दुगड पराजित भएपछि नेकपा प्रवेश गरेर राज्यमन्त्री भएका हुन् । उद्योगी दुगडले विराटनगरमा होटल हेरिसन र दुगड इस्पाइसेस तथा फुड प्रोडक्ट प्रालि सञ्चालन गर्दै आएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बने पनि दुगड इस्पाइसेसका मजदुरहरुले आफूहरुको श्रमशोषण भएको गुनासो गरिरहेका छन् ।

राज्यमन्त्री दुगडको इस्पाइसेस एण्ड फुड प्रोडक्टमा सरकार आफैँले घोषणा गरेको श्रम ऐन नै प्रभावित पारी मजदुरको श्रमशोषण भएको छ । राज्यमन्त्रीमा नियुक्ति हुनु अगाडिदेखि नै सुनसरी मोरङ औद्योगिक करिडोरमा मन्त्री दुगडको दुगड इस्पाइसेस एण्ड फुड प्रोडक्टले मजदुरलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको सम्बन्धमा श्रम कार्यालयमा उजुरी परेको थियो ।

उजुरीपछि न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पटक–पटक श्रम कार्यालयबाट निर्देशन हुँदा समेत सञ्चालक समेत रहेका राज्यमन्त्री दुगडले अटेर गरेको कम्पनीमा कार्यरत एक मजदुरले आर्थिक दैनिकलाई बताए । सरकारले मजदुरका लागि न्यूनतम दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक तोके पनि उद्योग सञ्चालक तथा मन्त्री दुगडले ३ सयदेखि ४ सय रुपैयाँसम्म मात्र पारिश्रमिक दिने गरेको पीडित मजदुरले बताए ।

राज्यमन्त्री दुगडले ठेक्कामा मजदुर ल्याएर उद्योग सञ्चालन गरी सरकार आफैँले ल्याएको श्रम ऐनको समेत खिल्ली उडाएका छन् । त्यस्तै मन्त्रीले सञ्चालन गरेको होटल हेरिसनमा समेत न्यूनतम पारिश्रमिकसम्बन्धी विवाद रहेको ट्रेड युनियनका एक पदाधिकारीले जानकारी दिए । राज्यमन्त्री दुगडको नेशनल पोलिटेङ, एसिया इन्टरनेशनल केमिकल्स, दुगड इस्पाइसेस एण्ड फुड प्रोडक्डट, होटल हेरिसन सबै उनकै नाममा दर्ता कायम रहेको छ ।

व्यवसाय र उद्योग समेत दाजुभाइको बीचमा अंशबण्डा भए पनि कानुनी रुपमा दाजुभाइ सञ्चालक हुन नसक्ने भएपछि सबै उद्योग व्यवसायका सञ्चालक भने राज्यमन्त्री दुगड रहेका छन् । व्यावहारिक रुपमा दाजुभाइबीचमा अंशबण्डा भए पनि नेपालको प्रचलित कानुनअनुसार आवश्यक पर्ने प्रमाणहरु जुटाउने आधार दाजुभाइसँग नभएका कारण कानुनी रुपमा सञ्चालक मात्र मन्त्री दुगड आफैँ हुन् ।

पछिल्लो समय राजनीतिलाई समेत प्रभावित पारेर सांसद हुँदै मन्त्रीसम्म भए पनि दुगड आफैँले मजदुरको श्रमशोषण गरेका हुन् । सरकार आफैँले घोषणा गरेको न्यूनतम पारिश्रमिक स्वयं मन्त्रीकै उद्योगमा लागू नहुनुले श्रमजीवीहरुमाथि राज्यले नै अन्याय गरेको छ । व्यापारबाट आफूलाई उद्योगीको रुपमा स्थापित गराएका मन्त्री दुगडले सञ्चालन गरेको दुगड इस्पाइसेस एण्ड फुड प्रोडक्टमा भएको न्यूनतम पारिश्रमिक विवादका विषयमा ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष सुशील कोइरालाले समस्या भएको बताए । उनले मन्त्रीको उद्योगमा न्यूनतम पारिश्रमिकको विषयमा समस्या रहेको स्वीकार गर्दै सरकार आफैँ कारबाहीको प्रक्रियामा नगएपछि त्यसै थन्किएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x