Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्वाचन नागरिक शिक्षा प्रवर्द्धन गर्न १७ प्रकारका हाते पुस्तिका सार्वजनिक

निर्वाचन नागरिक शिक्षा प्रवर्द्धन गर्न १७ प्रकारका हाते पुस्तिका सार्वजनिक


काठमाडौं, फागुन ७
निर्वाचन आयोगले १७ प्रकारका नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार चौथो निर्वाचन दिवसका अवसरमा पारेर आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन र निर्वाचनको महत्व बुझाउन उक्त पुस्तक सार्वजनिक गरेको हो । पुस्तकको लोकार्पण गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हरेक मतदातामा निर्वाचनको महत्व बुझ्न र निर्वाचनमा सहभागी बढाउने सन्देश प्रवाह गर्न उक्त पुस्तक सहयोगी हुने बताए ।

सत्र प्रकारका हाते पुस्तिकामध्ये पहिलो तहका लागि रातो रङ्गमा पाँचवटा स्रोत पुस्तिका मतदान, मतदाता नामावली, लोकतन्त्र, निर्वाचन र समावेशीता र निर्वाचन शीर्षकमा प्रकाशित गरिएको छ भने दोस्रो तहका लागि प्याजी रङ्गमा छवटा स्रोत पुस्तिका निर्वाचनको महत्व, मतदानको महत्व, मतदाता नामावलीमा नाम दर्ता, निर्वाचन र राजनीतिक दल, समावेशी निर्वाचन र परिवर्तन र निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था शीर्षकमा प्रकाशित गरिएको छ ।

यसैगरी तेस्रो तहका लागि निलो रङ्गमा छवटा स्रोत पुस्तिका निर्वाचन विवाद र विवाद निरूपण, निर्वाचन र सामुदायिक संस्थाको भूमिका, नेपालको निर्वाचन प्रणाली, निर्वाचन र निर्वाचन चक्र, लोकतन्त्रका लागि निर्वाचन र समावेशीकरण शीर्षकमा स्रोत पुस्तिका प्रकाशन गरिएका छन् । उक्त स्रोत पुस्तिका प्रयोगसम्बन्धी निर्देशिकासमेत प्रकाशन गरिएको छ । समुदायमा आधारित विभिन्न संघसंस्थाहरूलाई निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गरी बुझाइको दायरालाई फराकिलो पार्न तथा स्पष्टरूपमा निर्वाचनमार्फत योग्य प्रतिनिधि निर्वाचित गर्नको लागि यी पुस्तकहरू सहयोगी स्रोतको रूपमा रहने आयोगले बताएको छ ।

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका तयार गरी समुदायमा आधारित संघसंस्थामार्फत निर्वाचन तथा मतदाता शिक्षा अघि बढाउने कार्यक्रम बनाइएको हो । मतदातालाई श्रव्यदृश्यका माध्यमबाट निर्वाचन र मतदानका सम्बन्धमा जानकारी गराउन, मताधिकार र मतको महत्व बोध गराई सहभागिता जनाउन र आफूले प्रदान गरेको मतको सदुपयोग गर्न मतदातालाई सचेत एवं जागरुक गराउने उद्देश्यले यूएनडीपी ईएस्पीको सहयोगमा तयार गरिएको ‘एक भोट’ नामक लघु चलचित्र पनि मंगलबारबाट नै प्रदर्शन प्रारम्भ भएको छ । चलचित्रमा निर्वाचनमा एक भोटको महत्व तथा निर्वाचनका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापबाट निर्वाचनलाई के–कसरी प्रभावित गर्न सक्दछ र त्यसबाट सजग र सचेत कसरी रहने भन्ने सन्देश छ ।

समुदायमा आधारित विभिन्न संघसंस्थालाई निर्वाचन र नागरिक शिक्षामा क्षमता अभिवृद्धि गरी बुझाइएको दायरालाई फराकिलो पार्न तथा स्पष्टरूपमा निर्वाचनमार्फत योग्य प्रतिनिधि निर्वाचित गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । उपनिर्वाचन, २०७६ का सन्दर्भमा निर्वाचनसम्बन्धी गतिविधिलाई समेटेर छायाङ्कन गरिएको संक्षिप्त भिडियोसमेत प्रदर्शन गरिएको थियो । सो अवसरमा आयोग र मातहतका कार्यालयमा दीर्घसेवा गर्ने चार कर्मचारीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ ।

साथै आयोगले विभिन्न कार्यक्रमहरू गरी निर्वाचन दिवस मनाएकोे छ । आयोग परिसरमा वृक्षरोपण, सरसफाइ, खेलकुद र रक्तदानलगायतका कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ । आयोग परिसरमा भएको वृक्षारोपण तथा सरसफाइ कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त तथा सचिवलगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो भने कर्मचारीहरूका बीच मेच घुमाई खेल सञ्चालन गरिएको थियो । नेपाल रेडक्रम सोसाइटीको समन्वय र सहयोगमा भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम आयोग परिसरमा रहेको सशस्त्र प्रहरी बल, नेपाल २४ नं गुल्म हे.क्वा.प्र.का.सु., कान्तिपथबाट रक्तदानमा उल्लेख्य सहभागिता रहको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x