Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्र निरन्तर दबाबमा : निर्यातमा सुधार देखिए पनि उच्च आयातका कारण व्यापारघाटा बढ्दो

अर्थतन्त्र निरन्तर दबाबमा : निर्यातमा सुधार देखिए पनि उच्च आयातका कारण व्यापारघाटा बढ्दो

विदेशी मुद्रा सञ्चिति १८ प्रतिशतले घटेर ११ खर्ब ४६ अर्ब ८८ करोड कायम


काठमाडौं । पछिल्लो समय मुलुकको वित्तीय क्षेत्र थप दबाबमा देखिएको छ । सरकारले विदेशी विनिमय सञ्चिति बढाउन आयातलाई कटौती गर्दै निर्यातलाई प्रोत्साहन गर्ने नीति अगाडि सारे पनि अर्थतन्त्रमा त्यसको प्रभाव न्यून मात्र देखिएको छ । मुलुकको वैदेशिक व्यापारघाटामा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात तथा उपयोगमा मितव्ययिता अपनाउन हप्तामा दुई दिन सार्वजनिक विदा दिने नीति पनि सरकारले लिएको छ । एक महिना परीक्षण कालको लागि भन्दै सरकारले जेठ महिनाभरि सातामा दुई दिन सार्वजनिक विदा दियो भने असार महिनादेखि पुरानै व्यवस्थाअनुसार सरकारले विदा कटौती गरिसकेको छ । तर सबै कुरा गर्दा पनि अर्थतन्त्रमा अपेक्षितरुपमा सुधार आउनसकेको छैन ।

निर्यातमा सामान्यरुपमा बढेको देखिए पनि त्यसको दुई गुणाले आयात बढ्दा मुलुकको वैदेशिक व्यापार निकै कमजोर देखिएको छ भने व्यापारघाटा बढेको छ । विश्व श्रम बजारमा कोभिड १९ को असर कम भइसक्दा पनि नेपालले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय अर्थात् रेमिट्यान्स रकम उल्लेख्यरुपमा बढ्नसकेको छैन । जसले गर्दा विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको छ । सोही कारण पनि मुलुकको अर्थतन्त्र पछिल्लो समय थप दबाबमा पर्र्दै गएको छ । जुन कुराको पुष्टि नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको १० महिनाको प्रतिवेदनले पनि गरेको छ । प्रतिवेदनअनुसार चालू आवको १० महिनामा कुल वस्तु निर्यात ५९ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२ दशमलव दुई प्रतिशतले बढेको थियो । यस अवधिमाा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२ दशमलव नौ प्रतिशत र २५ दशमलव छ प्रतिशतले बढ्दा चीनतर्फको निर्यात भने २४ दशमलव नौ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैँचा, पिनालगायतका वस्तुको निर्यात बढ्दा अलैँची, चिया, औषधि (आयुर्वेदिक), दन्तमञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा कुल वस्तु आयात भने २८ प्रतिशतले वृद्धि भई १६ खर्ब चार अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव तीन प्रतिशतले मात्र बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२ प्रतिशत, २३ दशमलव आठ प्रतिशत र ४९ दशमलव नौ प्रतिशतले बढेको देखिएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्सलगायतका वस्तुको आयात बढे पनि एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामललगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ ।

आयात र निर्यातबीचको उच्च असन्तुलनकै कारण चालू आवको १० महिनामा कुल वस्तु व्यापारघाटा २४ दशमलव नौ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यो भनेको मुलुकको झण्डै एक आर्थिक वर्षको बजेट बराबर हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८३ अर्ब ९४ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ५५ अर्ब आठ करोड रुपैयाँबराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले कमी
वर्तमान सञ्चिति साढे छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
पछिल्लो समय मुलुकमा विदेशी विनिमय सञ्चिति घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले कमी आई २०७९ वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा २१ दशमलव एक प्रतिशतले कमी आई नौ अर्ब २८ करोड कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १८ दशमलव तीन प्रतिशतले घटेर १० खर्ब १७ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरुमा रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ वैशाख मसान्तमा १६ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुसार २०७९ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ दशमलव एक प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिनाको वस्तु आयात र साढे छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालू खाता पाँच खर्ब ४७ अर्ब रुपैयाँले घाटामा
मुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी १० महिनाको प्रतिवेदनअनुसार चालू खाता पाँच खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब ५१ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको थियो, राष्ट्र बैंकले भनेको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब १४ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा चार अर्ब ५७ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१ दशमलव तीन प्रतिशतले कमी आई सात अर्ब ९९ करोड कायम हुंदा खुद प्रत्यक्ष वैदेशिक लगानी १८ दशमलव दुई प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा शोधनान्तर स्थिति भने दुई खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति सात अर्ब ७५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा राष्ट्र बैैंकले जानकारी दिएको छ ।

खुद सेवा आय ८९ अर्ब ३१ करोड रुपैयाँले घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनाको अवधिमा मुलुकको खुद सेवा आय ८९ अर्ब ३१ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५९ अर्ब ९७ करोड रुपैयाँले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत चालू आवको पछिल्लो १० महिनामा भ्रमण आय दुई सय ५९ दशमलव नौं प्रतिशतले बढेर २२ अर्ब ४५ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय छ अर्ब २४ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय एक सय ४३ दशमलव चार प्रतिशतले वृद्धि भई ७२ अर्ब आठ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ५१ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २९ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६४ करोेड रहेको राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण आप्रवाहमा शून्य दशमलव दुई प्रतिशतले वृद्धि
चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको मुलुकले विश्व बजारमा श्रम बेचेबापत प्राप्त गर्ने आय अर्थात् विप्रेषण आप्रवाह शून्य दशमलव दुई प्रतिशतले बढेको छ । यस अवधिमा आठ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दशमलव छ प्रतिशतले कमी आई छ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव एक प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई दुई लाख ७८ हजार दुई सय ९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैैंकले जनाएको छ ।

Open photo

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा एक सय ८५ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार चार सय ६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर शून्य दशमलव शून्य एक प्रतिशतले वृद्धि भई नौ खर्ब तीन अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७ दशमलव एक प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x