Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारी खातामा तीन खर्ब २५ अर्ब रुपैयाँ नगद मौज्दात

सरकारी खातामा तीन खर्ब २५ अर्ब रुपैयाँ नगद मौज्दात


काठमाडौं । सरकारी खातामा तीन खर्ब २५ अर्ब १५ करोड रुपैयाँ नगद मौज्दात देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा उक्त परिमाणमा नगद मौज्दात देखिएको हो । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको महालेखाको भनाइ छ । २०७८ असार मसान्तमा भने यस्तो मौज्दात एक खर्ब ९८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

चालू आर्थिक वर्ष २०७८/०७९ को वैशाख मसान्तसम्ममा संघीय सरकारको कुल खर्च रकम भने नौ खर्ब आठ अर्ब ८६ करोड रुपैयाँ छ । यस अवधिमा चालू खर्चतर्फ सात खर्ब १६ अर्ब ८७ करोड, पुँजीगत खर्चतर्फ एक खर्ब १८ अर्ब २७ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्चतर्फ ७३ अर्ब ७१ करोड रुपैयाँ रहेको महालेखाको भनाइ छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व आठ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश छ । यसमध्ये कर राजस्वतर्फ सात खर्ब ९९ अर्ब ६६ करोड र गैरकर राजस्वतर्फ ६६ अर्ब चार करोड परिचालन भएको महालेखाले जनाएको छ ।

Open photo

संघीय सरकारले चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा ट्रेजरी बिलमार्फत ७५ अर्ब, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत ९७ करोड परिचालन गरी जम्मा एक खर्ब ३० अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ । समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति एक खर्ब ४४ अर्ब ३३ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी एक खर्ब पाँच अर्ब ९० करोड रुपैयाँ छ ।

प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३८ अर्ब ४३ करोड छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ९४ अर्ब ८९ करोड रुपैयाँ रहेको महालेखाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x