Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरको दरमा नैतिकता बिक्री गरेका अर्थमन्त्री शर्मा

करको दरमा नैतिकता बिक्री गरेका अर्थमन्त्री शर्मा

संसदीय छानबिनको माग गर्दै एमालेद्वारा संसद् अवरोध


काठमाडौं । अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा अघिल्लो वर्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार धेरै शक्तिशाली थियो । विवाद भए पनि ओली सरकारसँग करिब दुई तिहाइको समर्थन थियो । त्यही सरकारका एक जना सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि भ्रष्टाचारको प्रश्न उठ्यो । उक्त प्रश्नको सत्यता कति थियो त्यो त छानबिन र भविष्यले नै निर्क्यौल गर्ला तर उनीमाथि प्रश्न उठेपछि मन्त्री पदबाट तत्काल राजीनामा दिए । छानबिनका लागि सहजता प्रदान गरिदिए ।

बाँस्कोटाले राजीनामा देलान् र उच्च नैतिकता प्रदर्शन गर्लान् भनेर विपक्षीले मात्र होइन तत्कालीन नेकपाकै नेताहरुले पनि सोचेका थिएनन् । तर, बाँस्कोटाले राजीनामा दिएपछि पनि उनको नैतिकतामाथि प्रश्न उठाइयो । प्रधानमन्त्री ओलीबाट चोख्याउन गरिएको प्रपञ्च भनियो । तर, ओलीले उनका बारे उठेको प्रश्नको बारेमा सामान्य बचावट गरे तर बाँस्कोटालाई पुनः मन्त्री बनाएनन् । बाँस्कोटाले भ्रष्टाचार प्रमाणित गर्न खुला चुनौती अझै पनि दिँदै आएका छन् । त्यतिबेला बाँस्कोटालाई टिक्न नदिनेहरु अहिले सत्तामा छन् तर बाँस्कोटामाथि छानबिनको ‘छ’ पनि अगाडि बढाउने हिम्मत गर्न सकिरहेका छैनन् ।

सर्वोच्च अदालतको परमादेशपछि ओली सरकार विस्थापित भयो र देउवाको नेतृत्वमा सरकार बन्यो । देउवा नेतृत्वको सरकारले कुनै प्रश्न नउठ्ने गरी काम गर्ला भनेर धेरैले आश गरेका थिए, तर दुर्भाग्य ! देउवा सरकारका अधिकांश मन्त्रीको बारेमा जनस्तरबाट प्रश्नमाथि प्रश्न उठिरहेको छ । विभिन्न काण्डमा मन्त्रीहरु मुछिएका छन् उनीहरुले कुनै नैतिकता देखाएका छैनन् । बास्कोटालाई प्रश्न गर्नेहरु अहिले देउवा सरकारका मन्त्रीहरुलाई प्रश्न होइन बचाउने प्रयासमा छन् । नैतिकता प्रदर्शन गर्न कसैले पनि सुझाव वा सल्लाह दिएका छैनन् ।

पछिल्लो समयमा गम्भीर नैतिक प्रश्न उठेका मन्त्री हुन्, जनार्दन शर्मा । उनले देशको अर्थमन्त्रीको जिम्मेवारी लिएका छन् । तर, अर्थतन्त्रका बारेमा भन्दा देशलाई आर्थिक रुपमा अधोगतितर्फ धकेल्ने मात्र ज्ञान उनमा देखिन्छ । अर्थमन्त्री भएपछि पहिलो पटक नै उनले आफ्नो अर्धज्ञान देखाएर देशभर झण्डै २७ सय योजनालाई ठेक्कापट्टामा जानबाट रोके । त्यसको सिकार अहिले देशको पुँजीगत खर्चको बजेट भएको छ ।

पुँजीगत बजेट खर्च हुन नसकेपछि देशको आर्थिक वृद्धिदरमै नकारात्मक असर पारेको छ । तर, पनि उनले नैतिकता देखाएनन् । योजनाहरुलाई ठेक्कापट्टामा जानबाट रोकेपछि उनको आलोचना भयो अनि बोलिदिए, मासिक दश प्रतिशतका दरले पुँजीगत खर्च गरेर देखाइदिन्छु । जुन कुरा अर्थतन्त्रको विषयमा सामान्य जानकार व्यक्तिले बोल्नैसक्ने अवस्था थिएन । तर, उनी अर्थमन्त्रीकै कुर्सीमा बसेर बोलिदिए । उनको बोलीअनुसार पुँजीगत बजेट खर्चमा प्रगति भएन । यसले पनि उनमा अर्थतन्त्रको कत्तिको राम्रो ज्ञान रहेछ भन्ने प्रष्टै भएको छ ।

देश निर्माण र आर्थिक विकासको मेरुदण्ड भनेकै सडक निर्माण हो । जो विश्वभर प्रमाणित विषय पनि हो । तर, यही जेठ १६ गते मन्त्रालयमा पत्रकार सम्मेलन गरेर बजेट र विकास भनेको सडक निर्माण होइन भनेर बोलिदिए । उनले अर्थ मन्त्रालयमा मन्त्रीको रुपमा पाइला टेकेपछि ओरालो लागेको सेयर बजार जेठ ३१ गतेसम्म आइपुग्दा पनि उकालो लाग्नसकेको छैन । झण्डै ३२ सय अंकमा पुगेको सेयरबजार अहिले १९ सयको हाराहारीमा आइपुगेको छ । सर्वसाधारणले समेत सेयरबजारबाट अर्बौँ रुपैयाँ गुमाइसकेका छन् । तर, सेयर बजारको बारेमा उनले स्पष्ट योजना नै ल्याउन सकेनन् । त्यही भएर १९ सयबाट उकालो लाग्नलागेको सेयरबजार उनकै पालामा १९ सयमै आएको छ । उनी जति समय अर्थमन्त्रीको कुर्सीमा बस्छन् त्यति नै तीव्र रुपमा सेयरबजार ओरालो लागिरहन्छ भन्ने संकेतहरु मिलेका छन् ।

कुनै बेला अहिलेका अर्थमन्त्री शर्माको बारेमा धेरै किस्साहरु सुन्न पाइन्थ्यो । उनमा इमानदारिता छ, माओवादीको अध्यक्षसम्म बन्नसक्ने क्षमता छ, नैतिकता भएका नेतामा पर्छन्, देश र जनताको अहित हुने काम नगर्ने मात्र होइन अहित नै चिताउँदैनन्, नैतिकतामाथि प्रश्न उठ्यो भने त्यसलाई प्रमाणित गर्न बाटो खुला गरिदिन्छन् आदि/इत्यादि ।

तर, अहिले उनीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ, नियोजित रुपमा करका दर परिवर्तन, कर लगाउने र नलगाउने तथा छुट दिने/नदिने वस्तुको व्यक्तिअनुसार वर्गीकरण गरेको । बजेट बनाउँदा व्यक्तिलाई दीर्घकालीन लाभ र हानि हुने काम गरेको आदि । उनले बजेटको अघिल्लो दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई ल्याएर करका दरमा चलखेल गरेको अन्नपूर्ण पोष्ट दैनिकले नै मुख्य समाचार बनायो । कसलाई ल्याएर करका दरमा चलखेल गरियो भनेर समेत किटान गरियो । यो विषयलाई लिएर अर्थमन्त्री शर्मामाथि गम्भीर प्रश्न उठेको छ । उनले व्यक्तिगत लाभ र हानि हेरेर कसलाई कर लगाउने र कसलाई कर छुट दिने भनेर आर्थिक विधेयक तयार पारेर संसद्मा पेश गरेका छन् । बजेट पाससँगै यो विधेयक ‘आर्थिक ऐन, २०७९’ हुनेछ । यसमा उल्लेख भएका करका दरले कानुनी रुप लिनेछ । बजेट वक्तव्य कानुनी दस्तावेज होइन तर आर्थिक ऐन कानुनी दस्तावेज हो । उक्त कानुनमा उल्लेख भएका करका दर र छुट संशोधन गर्न कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर, बजेट वक्तव्य कार्यान्वयन नभएमा कानुनी प्रश्न उठ्दैन । आर्थिक ऐनविपरीत भने कोही पनि जान सक्तैन । गयो भने कानुनअनुसार ऐन उल्लंघन गरेबापत कारबाही हुन्छ ।

करमा चलखेल गरेर अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई आफ्नो निजी स्वार्थ पूरा गर्ने एउटा अस्त्र बनाएका छन् । अर्थमन्त्री शर्माको कारण देशको आर्थिक अवस्था धराशायी हुने देखिएको छ । उनले एक किसिमको राज्य विप्लवविरुद्धको कसुर गरेको देखिएको छ । तर, उनले अझै पनि राजीनामा दिएका छैनन् । उनी राजीनामा दिनेभन्दा पनि आफूले गरेको अपराधलाई ढाकछोप गर्ने प्रयास गरिरहेका छन् । शर्माले बजेट निर्माण गर्दा राज्यविरुद्ध गरेको अपराधको बारेमा अर्थ मन्त्रालयमा रहेको सीसी क्यामेराले गरेको रेकर्ड सार्वजनिक गर्न नेकपा एमालेले माग गरेको छ ।

प्रमुख प्रतिपक्ष एमालेले मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री शर्माको राजीनामा माग मात्र गरेको छैन उनीमाथि संसदीय छानबिन समिति गठन गर्न समेत माग गरेको छ । मंगलबारको संसद्को बैठकमा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले करमा स्वार्थी समूहलाई प्रयोग गरेर चलाउनु गम्भीर अपराध भन्दै नैतिक रुपमा शर्मा अर्थमन्त्रीको रुपमा बस्न नहुने र बसेमा प्रधानमन्त्रीले नै उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

पाण्डेले राजीनामा मागेपछि संसद्मा बोलेका एमाले प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्मामाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै समिति गठन नभएसम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए । बजेट निर्माणको क्रममा भएका हस्तक्षेपले केही व्यक्तिलाई लाभ दिएको प्रमुख सचेतक भट्टराईको दाबी छ । कानुनले नचिनेको व्यक्तिलाई कर कानुन बनाउँदा अर्थ मन्त्रालयमा बोलाएर उसले भनेजसरी कर निर्धारण र छुट दिनेलगायतका काम गर्नु गम्भीर अपराध भन्दै यस्तो राष्ट्रिय गद्दारी गर्ने राष्ट्रघातीलाई अर्थमन्त्रीको रुपमा स्वीकार गर्न नसक्ने प्रमुख सचेतक भट्टराईको माग थियो । भट्टराईले पटक–पटक सीसीटीभी मगाएर त्यसलाई संसद्ले हेर्न पाउनुपर्ने माग गरेका थिए ।

अर्थमन्त्री शर्माले वित्तीय अपराध गरेर आफ्नो नैतिकता करको दरसँग बिक्री गरेको आशंका सांसदहरुले गरेका छन् । एमाले प्रमुख सचेतक भट्टराईले योभन्दा ठूलो वित्तीय अपराध केही हुन सक्तैन भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने अडान लिए । नैतिकता भएका भए यसरी प्रश्न उठेपछि राजीनामा दिनुपर्नेमा अझै पदमा बसिरहेको भन्दै उनले सरकारकै कडा आलोचना गरे । सभामुखको अग्रसरतामा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै उनको प्रस्टीकरण सुन्न आवश्यक नभएको बताएका थिए । संसदीय छानबिन समिति गठन नभएसम्म सदन अगाडि बढ्न सक्तैन भन्दै प्रमुख सचेतकले भनाइ राखेपछि एमाले सांसदहरु संसदमा उभिएर विरोध गरेका थिए । एमाले सांसदहरुले विरोध जारी राखेको कारण संसद्को बैठक स्थगित गरिएको छ । आज बुधबार पनि अर्थमन्त्रीको तर्फबाट निकासा नआएमा ससद् बैठक अवरोध हुने एक एमाले सांसदले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x