Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगी सुरानाद्वारा लिक्विड युरिया मलको आयात : १५ जिल्लाबाट बिक्री सुरु

उद्योगी सुरानाद्वारा लिक्विड युरिया मलको आयात : १५ जिल्लाबाट बिक्री सुरु


विराटनगर । विराटनगरका एक उद्योगीले लिक्विड युरिया मल बजारमा ल्याएका छन् । नेपालमा धान रोप्ने समय नजिक आइरहेको बेला सरकारले मलको खरिद गर्न नसकिरहेको समयमा उद्योगी राकेश सुरानाले लिक्विड युरिया मल बजारमा ल्याएका हुन् ।

किसानको धान रोप्ने सिजन सुरू हुनै लाग्दा समेत संघीय सरकारले मल ल्याउन नसकेपछि समस्यामा रहेका किसानहरूलाई थोरै भए पनि राहत दिने उद्देश्यले आफूले लिक्विड युरिया बजारमा ल्याएको उनले बताए । उद्योगी सुरानाका अनुसार एक बोरा युरियाबराबरको काम पाँच सय ग्रामको लिक्विडले गर्नेछ । नेपालमा उक्त मलको मुख्य विक्रेता नेपाल मल्टी ट्रेड सेन्टर रहेको छ । उक्त सेन्टरका सञ्चालक पनि सुराना नै रहेका छन् । देशमा हरेक वर्ष दोहोरिने मल अभावको समस्या सुल्झाउन तरल युरिया सहयोगी हुने उनले दाबी गरे । तरल युरिया देशभर अब सहजै उपलब्ध हुने भन्दै उनले ठोस युरियाको आधा हिस्सा यसले धान्ने उत्पादनकर्ता कम्पनीले आफूलाई जानकारी दिएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत परीक्षण गरेर प्रयोग गर्न मिल्ने प्रमाणित गरेपछि सरकारले आफूलाई उक्त मलको आयात अनुमति दिएको उनको भनाइ छ । नार्ककै सिफारिसका आधारमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो मलको प्रयोग नेपालमा खुला गरेको हुँदा आफूले मल्टी ट्रेड सेन्टर कम्पनीमार्फत लिक्विड मलको बिक्रीवितरण सुरु गरेको जानकारी दिए ।

भारतमा सफल प्रयोग भइसकेको इफको नानो झोल युरिया मल विराटनगरमा एक कार्यक्रममार्फत प्रदेश १ का कृषिमन्त्री झलकबहादुर दर्लामीले गरेका थिए । मन्त्री दर्लामीले कम्पनीले दाबी गरेअनुसारकै मलले काम गर्ने हो भने नेपालमा अब मल अभावको समस्या धेरै हदसम्म कम हुने बताए । भारतको गुजरातस्थित इफको कृषि सहकारी संस्थामार्फत भारतीय कृषि वैज्ञानिकहरूले बनाएको यो झोल युरिया त्यहाँ एक वर्ष अघिदेखि प्रयोगमा आइसकेको बताइएको छ । दुई वर्षसम्म भारतका ११ हजार कृषि केन्द्रहरूमा परीक्षण गरेपछि भारत सरकारले मल प्रयोगको अनुमति दिएपछि मात्र कम्पनीले आफूलाई नेपालमा मल बिक्रीका लागि आधिकारिकता दिएको सुरानाले बताए ।

यो लिक्विड मलको बिक्रीवितरण गर्न नेपालमा तत्कालका लागि १५ जिल्लामा आधिकारिक विक्रेता नियुक्ति गरिएको र खुलारूपमा मलको बिक्रीवितरण सुरु गरिसकेको सुरानाले जानकारी दिए । उनका अनुसार यो मल नेपाल, श्रीलंका, नाइजेरियालगायत विश्वका ११ मुलुकमा पुग्न लागेको छ । यो मलमा किसानहरूको अत्यधिक रूचि बढ्ने पनि उनको दाबी छ । यसले ठोस युरियाको अभाव टार्ने र किसानलाई राहत पुग्ने उनको भनाइ छ । एक बोतल नानो झोल युरियालाई चार सय रूपैयाँ मूल्य तोकिएको उनले जानकारी दिए । नानो तरल युरिया पानीमा घोलेर कुनै पनि बालीको पातमा पर्नेगरी छर्कने र ठोस युरिया प्रयोग गरिने जुनसुकै बालीमा तरल युरिया प्रयोग गर्न सकिने उनले बताए । कुनै पनि बाली लगाएको ३० या ३५ दिन पूरा भएपछि मात्र यसलाई प्रयोग गर्न सकिनेछ ।

३० दिनपछि धानको पात राम्ररी विकास भइसकेको हुने हुनाले नानो प्रयोग गर्न सकिन्छ । उनका अनुसार धान, मकै वा अन्य बालीको फूल खेल्नुभन्दा एक साताअघि नै यो मल प्रयोग गर्नुपर्ने हुन्छ । एक लिटर तरल युरियामा दुई सय लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्ने बताइएको छ । इफको नानो युरिया झोलको प्रयोगले बालीको उत्पादकत्व बढाउने, उत्पादनको पोषक तत्वमा वृद्धि गर्ने, पारम्परिक युरियाको आवश्यकतालाई ५० प्रतिशतसम्म कम गर्ने, उत्पादनको गुणस्तर बढाउनेलगायतका फाइदा हुने दाबी उत्पादक कम्पनीले गरेको सुरानाले जानकारी दिए । तर मल स्प्रे गर्नका लागि कृषि ड्रोनको आवश्यक्ता पर्ने हुँदा ड्रोन आयातका लागि सरकारबाट आफूलाई सहयोग नभएको उनले गुनासो गरे । कृषि ड्रोन आयातका लागि झन्झटिलो कानुनी प्रावधानका कारण आफूले कृषि ड्रोन आयात नगरेको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x