Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुचारु

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुचारु


काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मतदाता नामावली निर्वाचन व्यवस्थापनको मूल आधारस्तम्भ रहेको हुँदा आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधबारदेखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न लागेको हो ।

आयोगका अनुसार सबै निर्वाचन कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिनेछ । यस्तै पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने आयोगले जनाएको छ । यसैगरी मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममितिलगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी)ले आवश्यक निर्णय गरी त्रुटि सच्याउनेछन् ।

यस्तै झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको उजुरी आएमा नाम दर्ता अधिकारीले छानबिन गरी नाम हटाउने, विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको ठेगाना परिवर्तन गर्न परेमा साबिकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने, निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदनउपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने, मतदाताले आफ्नो नाम रहेको मतदानस्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिएमा सोहीबमोजिम स्थानान्तरण गरिदिने आयोगको भनाइ छ ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका ईमेल वा फ्याक्समार्फत निर्वाचन कार्यालयमा निवेदन दिएमा कागजात हेरी प्रमाण पुगेका आधारमा सम्बन्धित नाम दर्ता अधिकारीले नामावली अद्यावधिक गरिदिने पनि आयोगले जनाएको छ ।

यस्तै आयोगले दोहोरो दर्ता नहुनेतर्फ सचेत हुन पनि आग्रह गरेको छ । मतदाताले दोहोरो नाम परेको भनी हटाउन निवेदन दिएमा जिल्लाभित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रूजु गरी अघिल्लो दर्तालाई हटाई पछिल्लो पटक दर्ता भएको नाम मतदाता नामावलीमा कायम गरिदिने तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाउन आयोगले आग्रह गरेको छ । फोटोसहितको मतदाता नामावली संकलन भएबमोजिम आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिदिने आयोगको भनाइ छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणाअगाडि नै नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तत्कालै घोषणा हुने सम्भावना रहेकोले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकहरूलाई आफ्नो नाम दर्ता गराउन र यस कार्यमा सहयोग र सहजीकरण गर्न आयोगले सबै राजनीतिक दल एवं सरोकारवालाहरूलाई समेत आयोगले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x