Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयल निगमलाई डिजेलमा प्रतिलिटर ३७ र पेट्रोलमा ३१ रुपैयाँ घाटा

आयल निगमलाई डिजेलमा प्रतिलिटर ३७ र पेट्रोलमा ३१ रुपैयाँ घाटा


काठमाडौँ । भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपाल आयल निगमलाई डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा देखिएको छ । नेपालले भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने गरेको छ ।

भारतीय आयल कर्पोरेसनले नेपाललाई महिनाको दुईपटक १५/१५ दिनमा अन्तर्राष्ट्रिय मूल्यअनुसारको मूल्यसूची पठाउने गर्छ । सोहीअनुसार नेपाल आयल निगमले मूल्य समायोजन गरेमा मात्र उसलाई घाटा लाग्नेछैन । तर, नेपालमा निगमले स्वचालित मूल्य तोक्न सकिरहेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको कारण नेपाल पनि त्यसको मारमा परेको छ । पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारणको रुपमा रुस–युक्रेन युद्धलाई लिइएको छ । विश्वका अधिकांश देशले रुससँग पेट्रोलियम पदार्थ खरिद नगरेको कारण बजारमा मागअनुसार आपूर्ति हुनसकेको छैन । सोही कारण मूल्यवृद्धि भइरहेको हो ।

पेट्रोल र डिजेलसँगै आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँ ७० पैसा घाटामा छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटामा छ । अन्तर्राष्ट्रियतर्फका हवाइ इन्धन र मट्टितेलमा मात्र आयल निगम नाफामा छ । निगमका अनुसार मट्टितेल प्रतिलिटर १७ रुपैयाँ एक पैसा र बाह्य उडानतर्फको हवाइ इन्धन प्रतिलिटर ४४ रुपैयाँ ६३ पैसा नाफामा छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूचीअनुसार निगमले भारतबाट पेट्रोल प्रतिलिटर दुई सय नौ रुपैयाँ २८ पैसामा खरिद गरेर हाल एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यस्तै, डिजेल दुई सय दुई रुपैयाँ छ पैसामा खरिद गरेर एक सय ६५ रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै, मट्टितेल एक सय ४७ रुपैयाँ ९९ पैसामा खरिद गरेर एक सय ६५ रुपैयाँमा बिक्री गरिरहेको छ ।

आन्तरिकतर्फको हवाइ इन्धन प्रतिलिटर एक सय ६८ रुपैयाँ ७० पैसामा खरिद गरेर एक सय ६६ रुपैयाँमा बिक्री गरिरहेको छ । बाह्य उडानको हवाइ इन्धन प्रतिलिटर एक सय ४७ रुपैयाँ ८९ रुपैयाँमा खरिद गरेर एक अमेरिकी डलर पाँच सय ४५ सेन्टमा बिक्री गरिरहेको छ । एलपी ग्यास प्रतिसिलिण्डर २५ सय ५१ रुपैयाँ १५ पैसामा खरिद गरेर १८ सयमा बिक्री गरिरहेको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x