Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्धनमा भएको भारी मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा : महासंघ

इन्धनमा भएको भारी मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा : महासंघ


काठमाडौं । देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा भइरहेको भारी मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । इन्धनमा भएको मूल्यवृद्धिसँगै निर्माणसामग्रीहरूको समेत अत्यधिक मूल्यवृद्धि भएकोले निर्माण उद्योग ठप्प हुन लागेको महासंघको भनाइ छ ।

पछिल्लो पटक पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा २७ रूपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप आक्रान्त भएको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । विगत केही महिनाको आँकडा हेर्ने हो भने इन्धनमा शतप्रतिशत मूल्यवृद्धि भएका कारण मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू एवं अति जरुरीका निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघको भनाइ छ । पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी तथा चुहावटको समस्या समाधान नगरेर केवल अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरो रूपमा उपभोक्ताको ढाड सेकिने गरी भइरहेको मूल्यवृद्धिले देशको समग्र विकासमा अत्यन्त नकरात्मक असर पर्ने महासंघको ठहर छ ।

यसैबीच बीमा निर्देशिका—२०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बीमा कम्पनीलाई पोस्ने काम सरकारले गरेको महासंघले जनाएको छ । उक्त निर्देशिकामा टेरिफलाई ननटेरिफ नगरेको खण्डमा महासंघ, बीमा समितिविरुद्ध पुनः कडा आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा जनाइएको छ । निर्माण व्यवसायीहरू अहिले पनि म्याद थपको जटिलता, भुक्तानी नपाउने समस्याबाट पीडित रहेका बेला सार्वजनिक निकायहरूले बैंक ग्यारेन्टी दाबी गरी ठेक्का तोडी, कालोसूचीमा राख्न सिफारिस गर्नेजस्ता कार्यगरी व्यवसायीहरूलाई आतङ्कित बनाउने काम भइरहेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन होलिडे’ का बीच पनि मुलुकभर सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरू समेत बन्द गर्ने महासंघले चेतावनी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x