Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व हिनामिना आरोपमा मेयरसहित दर्जन बढी वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

राजस्व हिनामिना आरोपमा मेयरसहित दर्जन बढी वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरसहित दर्जन बढी वडा अध्यक्षहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राजस्व हिनामिना गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका, नगरकार्यपालिका रौतहटका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादव, तत्कालीन नगर उपप्रमुख कान्ती देवी वडा नम्बर १ का तत्कालीन वडा अध्यक्ष संजय प्रसाद, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष भविछन राय यादव, वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष दिपनारायण साह, वडा नम्बर ५ का तत्कालीन र हालका वडा अध्यक्ष शेख एजाज अहमद, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष हिरा राय यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यस्तै, अख्तियारले सोही घटनामा संलग्न वडा नम्बर ८ का तत्कालीन वडा अध्यक्ष र हालका नगर कार्यपालिकाका सदस्य उमाशंकर साह कलवानर, वडा नम्बर ९ का तत्कालीन वडा अध्यक्ष दिपनारायाण चौधरी, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष योगेन्द्र प्रसाद चौधरी, वडा नम्बर ११ का तत्कालीन र हालका वडा अध्यक्ष ज्ञानेन्द्र चौधरी, नगर कार्यपालिका तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, तत्कालीन नगर कार्यपालिका सदस्य सुन्दरी माझी, तत्कालीन सदस्य फुल कुमारी देवी, संजुदेवी जयसवाल, शशी कुमार साह र रविन्द्र कुमार निधिविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । लाल बकैया नदीको ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आम्दानीमा विजयपुर नगरपालिकाले ऐनविपरीत ठेक्का रद्द गर्ने निर्णय गरेको थियो ।

उनीहरुले नगरपालिकालाई आम्दानी गर्ने एक करोड ५३ लाख ५० हजार एक सय ९९ रुपैयाँमा हानि/नोक्सानी पु-याएको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सरकारी हानि/नोक्सानी कसुर गरेकोले मेयर तथा वडा अध्यक्षविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम एक करोड ५३ लाख ५० हजार एक सय ९९ रुपैयाँ बिगो कायम गर्दै सजायको माग गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको छ । उनीहरुबाट असुलउपर गरी फतुवा विजयपुर नगरपालिका र गुजरा नगरपालिकालाई क्रमशः ६० प्रतिशत र ४० प्रतिशत रकम दिलाई भराई पाउने समेत अख्तियारले मागदाबी गरेको छ ।

मेयर तथा वडा अध्यक्षहरुमाथि २०७५ पुस १५ मा लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको नगर कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा अमानतबाट राजस्व राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको र २०७५ फागुन १७ मा नगर कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता दिने निर्णय गरेको कारण नगरपालिकको आन्तरिक आयमा एक करोड ५३ लाख ५० हजार एक सय ९९ रुपैयाँ हानि÷नोक्सानी गर्ने मनसाय राखेको आरोप लगोको छ ।

मेयर तथा वडाअध्यक्षहरुले बदनियत राखी कार्यपालिकाको बैठकबाट २०७५ पुस १५ को निर्णय कार्यान्वयन नगराई नगरपालिकाको आम्दानी गुमाउने र २०७५ फागुन १७ मा धरौटी फिर्ता दिने निर्णय गरी सरकारी हानि नोक्सानी गराई भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै, सोही कार्यमा नगर कार्यपालिका रौतहटका तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साहको हकमा भने सागर कुमार रोका र गोकुल ढुंगेल समेतको संलग्नता रहेको छ । उनीहरुले पनि धरौटी फिर्ता दिने निर्णय गरी नगरपालिकाको आम्दानी गुमाउने मनसाय राखी भ्रष्टाचार गरेको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेललगायतका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको बैठकको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको, सम्झौता गर्नको लागि सात दिनको म्याद दिइएकोमा सो म्याद समाप्त हुँदासमेत नियमानुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया बढाउन धरौटी जफत गर्ने कार्य नगरेको, पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौताका गर्न इन्कार गरेपछि निजको धरौटी जफत गरी दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि निजको धरौटी जफत गरी दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौताको लागि बोलाउनुपर्ने भनी रकम र सरकारी ठेक्का बन्दोबस्ती ऐनको दफा १५ उपदफा (३) को कानुनी व्यवस्थाविपरीत अमानतबाट राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको र धरौटी जफतको लािग कुनै पनि पहल नगरेको र रन्जना साहले २०७५ फागुन १७ मा नगर कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता दिने निर्णय गरेको कारण नगरपालिकाको आन्तरिक आयमा हानि नोक्सानी गर्ने मनसायले बदनियत राखी भ्रष्टाचार गरेका प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।

सागर कुमार रोका, गोकुल ढुंगेल र रन्जना साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम बिगो एक करोड ५३ लाख ५० हजार एक सय ९९ रुपैयाँ कामय गरी ऐनको दफा ३ बमोजिम सजाय र हानि नोक्सानी भएको बिगो रकमसमेत उनीहरुबाट असुलउपर गरी फतुवा विजयपुर नगरपालिका र गुजरा नगरपालिकालाई क्रमशः ६० प्रतिशत र ४० प्रतिशत रकम दिलाई भराई पाउन मागदाबी लिइएको छ । आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत, काठमाडौंमा आइतबार आरोपपत्र दायर गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x