Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनौ महिनामा धेरै राम्रा काम गरें : मन्त्री आले

नौ महिनामा धेरै राम्रा काम गरें : मन्त्री आले


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नौ महिनाको अवधिमा आफूले धेरै राम्रो काम गरेको दाबी गरेका छन् । मन्त्रीपदबाट राजीनामा दिएर आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो नौ महिने कार्यकालमा भएका कामहरूको बारेमा जानकारी गराएका थिए ।

मन्त्री पदका हैसियतमा आफुले गरेका कामबाट आफू ९० प्रतिशत सन्तुष्ट भएको उनले बताए । उनले भने, ‘म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्रीजीले गर्नुहुनेछ भन्ने आसा लिएको छु ।’ विमानस्थलहरूको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्नेजस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरू आफूले गरेको उनले बताए ।

यसैगरी भीआईपीहरूको हेलिकोप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम पनि लागू गराएको मन्त्री आलेले दाबी गरे । यस्तै उनले कतिपय कामहरू आफूले चाहेर पनि गर्न नसकेको बताए । उनले भने, ‘मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकेन, ती अधुरा काम अन्य दिनमा हुनेछन् ।’ यसैगरी मन्त्री आलेले आफ्नो कार्यकालमा जुगौँजुग स्मरण गर्ने खालका काम भएको दाबी गरे ।

बुद्ध जयन्तीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल बोलाएर बुद्धको जन्मस्थानको बारेमा रहेको भ्रम र अन्यौलतालाई चिरेका समेत उनले बताए । यसैगरी उनले नेपालमा पहिलो पटक पाँच हजार क्षमताको ध्यानकेन्द्र निर्माण, लुम्बिनीलाई प्राकृतिक वनको रूपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातिका ४० हजार वृक्षरोपण, पशुपतिक्षेत्रमा विश्वरूपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्ताहरूमा सौन्दर्यीकरणका लागि चित्रलेखन तथा रङ्गरोगन, सरसफाइलगायतका कार्यहरू आफ्नो कार्यकालमा भएको बताए ।

साथै नेपालबाट हराएका ८६ वटा मूर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको समेत उनले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७८ असोज २२ गते आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x