Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाललाई कम भ्रष्टाचार हुने देशका रूपमा स्थापित गराउन सरकार अग्रसर

नेपाललाई कम भ्रष्टाचार हुने देशका रूपमा स्थापित गराउन सरकार अग्रसर


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई कम भ्रष्टाचार हुने देशका रूपमा स्थापित गराउन सरकार लागि परेको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले आइतरबार आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास : केही विवेचना’ विषयक कार्यक्रममा उनले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको दाबी गरे ।

दण्ड र पुरस्कारलाई साथ साथ नलगे समाज अनुशासित नहुने भन्दै उनले सरकारलाई पारदर्शी र जवाफदेही बनाउन सबैले आफ्ना स्थानबाट घच्घच्याउनुपर्ने बताए । स्थानीय र प्रदेश सरकारलाई पनि जवाफदेही बनाउन लाग्ने दायित्व नागरिक समाजको भएको उनको भनाइ थियो । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेको सरकारले प्रदेश र केन्द्रीय निर्वाचन पनि संविधानले तोकेकै समयमा सम्पन्न गर्ने मन्त्री कार्कीले प्रतिबद्धता जनाए । यस्तै उनले अर्थतन्त्रमा चुनौती आए पनि संकट भने नरहेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका पूर्वउपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले छोराछोरी पढाउन र स्वास्थ्य सुविधामा भएको महँगीका कारण भ्रष्टाचार बढेकाले दुवैले सरकारले व्यवस्थित गर्नुपर्ने बताइन् । त्यसको सुरुवात आफूले उपप्रमुख भएका बेला महानगरपालिकाबाट सुरु गरेको उनको भनाइ थियो । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले संसारभर निर्वाचित सरकार अधिनायकवादतर्फ अग्रसर भएको उल्लेख गर्दै यसले सरकारप्रतिको विश्वसनीयतामा कमी आएको बताए । विधिको असमान प्रयोगले जनतामा निराशा बढेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वसचिव भरत थापा, पूर्वनायब महालेखापरीक्षक रामबाबु नेपाल, पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्ण प्रसाईं, टीआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठलगायतले सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएकाले यसप्रति बेलैमा ध्यान जानुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x