Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको आयात र उपभोगको दर बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास

पेट्रोलियम पदार्थको आयात र उपभोगको दर बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास


काडमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पेट्रोलियम पदार्थको आयात र उपभोगको दर बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा ह्रास आएको बताएका छन् । मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थामा रहेकोले सबैले हातेमालो गरी वर्तमान चुनौतीको समाधानको बाटो खोज्नुपर्नेमा उनले जोड दिएका छन् । साथै उनले स्वदेशी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी बढ्न नसकेकोमा समेत चिन्ता व्यक्त गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका उपायहरूका विषयमा भएको उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठले वित्तीय क्षेत्रलाई बलियो र दिगो बनाउन जलविद्युत्, कृषि, घरेलु, साना तथा मझौला उद्योग, स्वास्थ्य तथा शिक्षाजस्ता सम्भावित क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए ।

वर्तमान चुनौतीलाई सम्बोधन गर्नका लागि विभिन्न मन्त्रालयबाट ल्याइएका वातावरणीय सुधारका नीतिहरू अहिलेको आवश्यकता भएको बताउँदै उनले अर्थतन्त्रलाई चलायमान र दिगो बनाउन उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने विषयमा जोड दिए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले अर्थतन्त्रमा देखिएको असहजताप्रति चिन्ता प्रकट गर्दै, कृषि तथा वनमा आधारित उत्पादनको गुणस्तरमा सुधार गर्ने, उत्पादनको लागत घटाउने र निर्यात बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए । यस्तै उनले उत्पादनशील क्षेत्र बलियो हुनुपर्ने र त्यसका लागि वित्तीय क्षेत्रलाई समेत बलियो बनाई लगानी बढाउन जरुरी रहेको बताए ।

कार्यक्रममा मुख्यसचिव शंकर बैरागीले क्षेत्रगत सुधारका लागि विभिन्न मन्त्रालयले मिलेर काम गर्नुपर्नेमा सुझाव दिए । आ–आफ्नो क्षेत्रबाट सेवाग्राहीको आवश्यकता र अपेक्षाअनुसारको सेवा प्रवाह गर्न/गराउने विषयमा नेपालमा उपयुक्त सूचना प्रणाली नभएको हुँदा सबै मन्त्रालय र सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले व्यापार र लगानीको लागि भन्सार प्रशासनमा सुधार गर्नुपर्ने बताउँदै अर्थतन्त्रको सुधार तथा सबलीकरणका लागि स्थानीय ज्ञान, सीप र उत्पादनको उपयोगमा सधैँ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

सीबीफिनका अध्यक्ष पवन कुमार गोल्यानले हाल अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले अहिलेको संकट समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । मुलुकको आर्थिक परिसूचक सकारात्मक नभइरहेको अवस्थामा सीबीफिनले त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा विप्रेषण र बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जाले व्यापारघाटामा पारेका प्रभावका विषयमा अध्ययन गरी प्रतिवेदनसमेत सम्बन्धित निकायहरूमा पेस गरिसकेको उल्लेख गर्दै उक्त अध्ययन प्रतिवेदनले औँल्याएका सुझावहरू नीतिगतरूपमा सम्बोधन गरिनुपर्नेमा उनले जोड दिए ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश भट्टराई तथा लक्ष्मण अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायतले व्यापार तथा व्यावसायिक क्षेत्रले उठाएका विषयवस्तुहरू सकारात्मक रहेका बताउँदै कर्जामा सहज पहुँच, बजार व्यवस्थापन, भन्सार कठिनाइ र अन्य प्रशासनिक प्रक्रियामा देखिएका वास्तविक समस्याहरूको पहिचान गरी समाधानतर्फ उन्मुख हुन सरकारका निकायहरू सकारात्मक रहेको र समग्र अर्थतन्त्र सुधार गर्ने विषयमा सामूहिकरूपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

इपानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईले जलविद्युत् क्षेत्रमा निजी क्षेत्रलाई अनुमति दिइनुपर्ने, जलविद्युत्का लागि पीपीए ग्यारेन्टी गरिनुपर्ने र निजी क्षेत्रको प्रवद्र्धन गर्न मन्त्रालयबाटै सहजीकरणको पहल गर्नुपर्ने बताए । अहिले जलविद्युत् क्षेत्रले ऊर्जा निकासी गरेर विदेशी मुद्रा आर्जन गर्न थालेकोले निजी क्षेत्रका विद्युत् उत्पादकलाई सरकारबाट आवश्यक प्रोत्साहन तथा ऊर्जा निकासीमा समेत अवसर दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशी, कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणा, नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीलगायतले राष्ट्रलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन र रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका स्थानीय उद्योग व्यवसायको प्रवर्द्धनका लागि सरकारले विशेष सहयोग र सहजीकरण गर्नुपर्नेे औँल्याए ।

त्यसैगरी कार्यक्रममा आवश्यक वस्तुको उत्पादनमा भइरहेको कमी, बैंक तथा वित्तीय क्षेत्रको लगानी र प्रतिफल, आर्थिक, वित्तीय एवं व्यावसायिक क्षेत्रको सुधार तथा स्तरोन्नतिका लागि सरकारबाट हुनुपर्ने सहजीकरण तथा सहकार्य, स्थानीय उत्पादनहरूमा वृद्धि, निर्यात प्रवद्र्धन, वस्तुको उचित मूल्य निर्धारण, ब्रान्डिङ, गुणस्तर नियन्त्रण, कच्चा पदार्थको उपलब्धता, बजार व्यवस्थापन तथा विकास, अन्तर्राष्ट्रिय मान्यता तथा अभ्यासहरूको प्रयोग, करसम्बन्धी समस्या, मूल्य अभिवृद्धि, प्रविधि विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका प्रयोगशालाको दिगो व्यवस्थापनलगायतका विषयहरूमा रहेका समस्या र समाधानका उपायहरूका बारेमा समेत छलफल भएको थियो ।

कार्यक्रममा सीबीफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले तरलता संकट, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, लगानी व्यवस्थापन, व्यापारघाटाको न्यूनीकरण, उत्पादन तथा रोजगारीमा अभिवृद्धि गर्ने उद्योग तथा व्यावसायिक क्षेत्रलाई सहज कर्जाको उपलब्धतामा टेवा पु-याउनेलगायतका विषयलाई सीबीफिनले निरन्तर उठाइरहेको बताए । ‘सीबीफिनले गरेको अध्ययनले पनि अहिलेको कठिनाइबाट अर्थतन्त्रलाई लयमा फर्काउनका लागि होसियारीपूर्वक ऋण दिन, उत्पादनशील क्षेत्रमा बढी लगानी गर्न, उत्पादनशील क्षेत्रमा रेमिट्यान्सको सही सदुपयोग गर्न सुझाव दिएको छ,’ शाहले भने । राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षता भएको उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री, राज्यमन्त्री, मुख्य सचिव, विभिन्न मन्त्रालयका छ जना सचिवहरू र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x