Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमुलुकको आर्थिक अवस्था सुधार र बजेटको सफल कार्यान्वयनका लागि परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

मुलुकको आर्थिक अवस्था सुधार र बजेटको सफल कार्यान्वयनका लागि परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बिहीबार प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नवप्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा छलफल भएको हो ।

यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय सञ्चिती, लगानी प्रवद्र्धन गर्न तत्काल एवं दीर्घकालीनरूपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको परिसंघले जनाएको छ ।

यसैगरी विश्वव्यापी रूपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको थियो । परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमका विषयमा ध्यानकर्षण गराएका थिए । तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने उनको सुझाव थियो ।

यस्तै अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी भदौं २३ र २४ गते हुने पूर्वाधार सम्मेलनलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिकसम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउँदै उनले युवाहरूमा उद्यमी बन्ने चासो निकै बढेको बताए । उक्त फेस्टमा पाँच हजार युवाहरूको सहभागिता रहेको र सातवटा उत्कृष्ट स्टार्टअप्सका लागि २४ करोड ५० रूपैयाँ लगानी प्रतिबद्धता भएको उनले जानकारी गराएका थिए । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न पनि परिसंघले आग्रह गरेको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले परिसंघले उठाएका विषयलाई गम्भीररूपमा लिँदै सकारात्मक सम्बोधन गर्ने आश्वासन दिएका थिए । छलफलमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष च्याङ अग्रवाललगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x