Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयुवालाई स्वदेशमै आकर्षण गर्नेगरी सामाजिक सुरक्षा व्यवस्थित गर्नुपर्नेमा जोड

युवालाई स्वदेशमै आकर्षण गर्नेगरी सामाजिक सुरक्षा व्यवस्थित गर्नुपर्नेमा जोड


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवालाई स्वदेशमै आकर्षण गर्नेगरी सामाजिक सुरक्षा व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारका लागि ठूलो संख्यामा युवाहरू पलायन हुने क्रम बढिरहेकोले त्यसलाई रोक्नका लागि सामाजिक सुरक्षाका योजनाहरूलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले बिहीबार राजधानीमा आयोजना गरेको ‘सामाजिक संरक्षणको दिगोपनाको लागि सामाजिक सुरक्षा कोषको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई सबल, सक्षम बनाउने कार्यमा सरकार सक्रिय भएको दाबी गरे । साथै उनले जनतालाई सहुलियत दिने गरी ऐन कानुनहरू सिर्जना गरी जनप्रेमी र जनताको हित हुने खालका योजनाहरू सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले १७ हजार रोजगारदाता संस्था रहेकोमध्ये पाँच हजार संस्थाले मात्र सामाजिक सुरक्षा कोषमा आबद्धता जनाएकोले सबै रोजगारदाता कम्पनीहरूलाई कोषमा आबद्ध हुन आग्रह गरे । सचिव अर्यालले योगदानकर्ताले जीवनको उत्तरार्धमा पेन्सन, दुर्घटना हुँदा उपचार, घर बनाउँदा सहुलियत ऋण, बच्चा पढाउन पैसा पाइने भएकोले सामाजिक सुरक्षा कोष आम श्रमिक वर्गका लागि जीवनपयोगी रहेको उल्लेख गरे ।

आगामी आर्थिक वर्षको सुरुवातदेखि नै थप प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रमहरू ल्याउने सचिव अर्यालले बताए । उनले भदौ १ गतेदेखि लागू हुने योगदानकर्तालाई घर बनाउन सहुलियत ऋण उपलब्ध गराउने तथा वैदेशिक रोजगारमा गएका श्रमिकहरूलाई सामाजिक सुरक्षमा आबद्ध गराउने जानकारी दिए ।

पछिल्लो समय ४५ लाख युवाहरू वैदेशिक रोजगारमा भएका जानकारी गराउँदै उनले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकार सक्रिय भएर लागेको बताए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हालसम्म तीन लाख ५० श्रमिकहरूले कोषमा योगदान गरिरहेको र अन्य श्रमिकहरू पनि आउने क्रम जारी रहेको जानकारी दिए ।

कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नेपालमा सामाजिक सुरक्षा अति आवश्यक रहेको बताए । ललितपुरमा एक श्रमिकमाथि रोजगारदाता कम्पनीले गरेको दर्दनाक घटनाको विषयमा बेलिविस्तार लगाउँदै उनले नेपालमा श्रमिक वर्ग पीडामा रहेकाले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल, श्रम विभागका महानिर्देशक उमाकान्त आचार्य, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठ, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बललगायतले सामाजिक सुरक्षाको महत्व र आवश्यकताका विषयमा औँल्याएका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x