Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपशुपतिको गुरुयोजना निर्माण अन्तिम चरणमा

पशुपतिको गुरुयोजना निर्माण अन्तिम चरणमा


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको बताएका छन् । उनले गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुने पनि जानकारी दिए ।

पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहीबार पशुपति क्षेत्र पुगेका उनले नेपालको सभ्यता र पहिचान बोकेको संस्कृति तथा मूर्त/अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना आवश्यक रहेको बताए । धार्मिक र आध्यात्मिक तीर्थस्थलको रुपमा रहेको पशुपति क्षेत्र विकास कोषमा अनियमितताको सन्देश जानु दुःखद पक्ष रहेको मन्त्री श्रेष्ठको भनाइ छ । कोषका कर्मचारीहरुलाई सेवा भावले काम गर्न उनले निर्देशन समेत दिए ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउनुपर्ने बताए । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा पनि ध्यान दिन कोषका पदाधिकारीहरुलाई उनले निर्देशन दिए । पशुपति क्षेत्रको विकासले धार्मिक पर्यटन विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ मन्दिर क्षेत्रमा पुनर्निर्माणको अवस्था तथा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सञ्चालित कार्यक्रमबारे जानकारी दिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै पशुपतिनाथ मन्दिर क्षेत्रमा निरीक्षण तथा अनुगमन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x