Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमूल्यवृद्धि हालसम्मकै उच्च

मूल्यवृद्धि हालसम्मकै उच्च


काठमाडौं । पछिल्लो समय बजार महँगो बन्दै गएको छ । हरेक प्रकारको उपभोग्य सामग्रीको मूल्य बढ्दै गएसँगै बजार महँगो बन्दै गएको हो । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५६ प्रतिशत पुगेको छ । जुन हालसम्मकै उच्च मूल्यवृद्धि हो । गत वर्ष सोही अवधिमा यस्तो मूल्य वृद्धिदर चार दशमलव १९ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि सात दशमलव ४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि नौ दशमलव ४४ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मूल्यवृद्धि दर छ प्रतिशत छ ।

अघिल्लो आर्थिक वर्षको जेठ महिनाको तुलनामा चालू आर्थिक वर्षको जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल २२ दशमलव ६० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ११ दशमलव २२ प्रतिशत, सुर्तीजन्य पदार्थ नौ दशमलव ७० प्रतिशत, मदिराजन्य पेयपदार्थ नौ दशमलव ६८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि नौ दशमलव १३ प्रतिशत छ ।

साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात २५ दशमलव ७९ प्रतिशत, शिक्षा ११ दशमलव ६४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु आठ दशमलव ३० प्रतिशत, मनोरञ्जन तथा संस्कृति आठ दशमलव २१ प्रतिशत र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मूल्यवृद्धि सात दशमलव ८४ प्रतिशत छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा आठ दशमलव ३२ प्रतिशत, तराईमा आठ दशमलव २९ प्रतिशत, पहाडमा नौ दशमलव २८ प्रतिशत र हिमालमा आठ दशमलव ९२ प्रतिशत मूल्यवृद्धि रह्यो । अघिल्ला आर्थिक वर्षको ११ महिनाको अवधिमा ती क्षेत्रहरुमा क्रमशः तीन दशमलव ८७ प्रतिशत, चार दशमलव ४७ प्रतिशत, चार दशमलव ३२ प्रतिशत र एक दशमलव ७२ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

उपभोक्ता मूल्यमा आधारित उक्त मूल्यवृद्धिले नागरिकलाई दैनिक सञ्चालनमा भने मार पार्ने गरेको छ । हरेक सामग्रीको मूल्य आकाशिँदै जाँदा उपभोग्य सामग्रीको उपभोगमा कमी आउने गर्दछ । अर्कोतर्फ नियामक निकायको अनुगमन प्रभावकारी नहुँदा समेत मूल्यवृद्धि हुने गरेको छ ।

मूल्यवृद्धि बढ्दै जाँदा बजारमा सामग्रीको भाउ आकाशिएको छ । सोही क्रममा थोक मूल्यवृद्धि समेत वृद्धि भएको छ । ११ महिनाको अवधिमा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि १४ दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर नौ प्रतिशत रहेको थियो । जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत थोक उपभोक्ता मूल्यवृद्धि नौ दशमलव २६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५ दशमलव ८४ प्रतिशत र १५ दशमलव ३४ प्रतिशत र सात दशमलव ८३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ दशमलव २५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा खाद्य तथा पेय पदार्थमा सात दशमलव १३ प्रतिशतर गैर–खाद्य तथा सेवामा आठ दशमलव ४५ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।

संघ, प्रदेश र स्थानीय तहलाई बजार अनुगमन र नियन्त्रण गर्ने संविधान प्रदत्त अधिकार प्रदान गरिएको भए पनि महँगी नियन्त्रणमा ती निकायहरु प्रभावकारी बन्नसकेका छैनन् । जसले गर्दा मनलाग्दो बजार भाउका कारण सर्वसाधारणहरु मारमा पर्ने गरेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x