Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगरसँग जोडिएको भारतीय बजारको अवैध सीमा नाकाबाट व्यापक तस्करी

विराटनगरसँग जोडिएको भारतीय बजारको अवैध सीमा नाकाबाट व्यापक तस्करी


विराटनगर । नेपाल र भारतबीचमा खुला सीमा नाका हुँदा केही समयदेखि नेपाली व्यापारीहरूको सेटिङमा नै खाद्यान्यलगायतका सामग्रीहरू व्यापकरूपमा तस्करी हुनेगरेको रहस्य खुलेको छ ।

विश्व बजारलगायत अधिकांश मुलुकमा पछिल्ला केही दिनदेखि खाद्यान्य संकट बढ्न थालेपछि नेपालमा पनि खाद्यान्य संकट आउन सक्ने भन्दै विश्व खाद्य कार्यक्रमबाट सचेत रहन आग्रह गरिएको छ । उक्त आग्रहपछि विराटनगर बजारमा नै खाद्यान्यको मूल्य एक्कासि आकाशिन पुगेको छ । बजारमा खाद्यान्यको मूल्य आकाशिन थालेसँगै केही दिनअगाडि मोरङ प्रहरीले विराटनगर महानगरपालिका ६ स्थित एक जना व्यापारीको गोदाममा छापा हानेर ठूलोे परिमाणमा भन्सार छली गरी ल्याएको खाद्यान्यका सामान समेत बरामद गरेको छ । व्यापारी र सीमा सुरक्षाको जिम्मा लिएर बसेको सशस्त्र प्रहरीको बीओपीबीचमा हुने सेटिङपश्चात् विराटनगरलगायत सुनसरी, मोरङ र झापा जिल्लामा रहेका खुला सीमा नाकाबाट पछिल्लो समय डरलाग्दो रूपमा खाद्यान्यको तस्करी भइरहेको उक्त घटनालाई पुष्टि समेत गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विराटनगरका व्यापारी विनोद केशरीको गोदाममा छापा हानेर ठूलो परिमाणमा खाद्यान्यलगायतका सामान बरामद गरेपछि अहिले व्यापारी र ससस्त्र प्रहरी दुवै विवादमा मुछिएका छन् । प्रहरीले छापा हानेर व्यापारी केशरीको गोदामबाट चिनी ४७ बोरा, हरियो मटर ३२ बोरा, छोकडा १० बोरा र १० बोरा पानी पुरी बनाउने खाद्यान्य सामग्री बरामद गरेको थियो । प्रहरीले छापा मारेर बरामद गरेको उक्त सामानको हालको बजारमूल्य अनुसार करिब तीन लाख मूल्यभन्दा बढीको हुनेदाबी मोरङ प्रहरीले गरेको छ ।

केही समययता विराटनगरमा रहेका सीमानाकाहरूमध्ये भारतीय बजार जोगबनीसँग जोडिएका इस्लामपुर नाका, मटेरुवा नाका र तरिगामा नाका तस्करीका लागि सुरक्षित नाका भएको दाबी प्रहरीस्रोतले गरेको छ । यी नाकामा नेपालतर्फको भन्सार जाँचपास गर्ने समय सकिएपछि राति आठ बजेदेखी अवैधरूपमा भारत प्रवेश गर्ने सीमा नाकाबाट रातभरि नै सशस्त्र प्रहरीको सेटिङमा नै व्यापारीहरूले तस्करीका लागि प्रयोग गर्ने गरेको दाबी स्रोतले गरेको छ । यी अवैध नाकाबाट राति–राति सटिङसुटिङका कपडादेखि हार्डवेयरका सामान र पछिल्लो समय खाद्यान्य समेतको व्यापक तस्करी हुनेगरेको रहस्य पनि प्रहरीले छापा मारी खाद्यान्य बरामद गरेपछि खुलेको छ ।

मोरङ प्रहरीले छापा हानेर व्यापारी केशरीको गोदामबाट अवैधरूपमा नेपाल ल्याएको खाद्यान्यका सामान बरामद गरे पनि व्यापारी केशरी भने फरार भएका छन् । स्रोतका अनुसार व्यापारी केशरीले अवैध नाकाबाट राति–राति क्यारिङमार्फत भारतीय जोगबनी बजारबाट अवैधरूपमा खाद्यसामग्री ल्याउने र पूर्वी बजारमा पठाउने गरेको दाबी समेत स्रोतले गरेको छ ।

व्यापारी केशरीले क्यारिङ गर्नेलाई निश्चित रकम दिएपछि उनले भनेको ठाउँमा तस्करी गरी नेपाल ल्याएको खाद्यान्य सामग्री पु-याउने र त्यसपछि व्यापारी केशरीले प्रदेश १ मा रहेका ग्रामीण सहरदेखि पूर्वी बजारमा पढाउने गरेको स्रोतको भनाइ छ । यसरी सशस्त्र प्रहरीकै सेटिङमा व्यापारीले चलाएको अवैध सीमा नाकाको तस्करीले पछिल्लो समय विराटनगरलगायत सुनसरी, मोरङ र झापा जिल्ला नै तस्करीका लागि सुरक्षित स्थल बन्न थालेको हैन भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x