Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारत, बंगलादेश र भुटानसँग बढ्यो व्यापारघाटा

भारत, बंगलादेश र भुटानसँग बढ्यो व्यापारघाटा


झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बंगलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट ३६ अर्ब १८ करोड रुपैयाँ मूल्यबराबरको सामान आयात भएको छ भने नेपालबाट १० अर्ब ६९ करोड ९५ लाख रुपैयाँको सामान मात्र निर्यात भएको छ । निर्यातभन्दा आयात बढी भएको कारण भारतसँग काँकडभिट्टा नाकामार्फत नेपालको व्यापारघाटा २५ अर्ब ४८ करोड २७ लाख रुपैयाँ भएको देखिन्छ ।

काँकडभिट्टा नाकामार्फत हुने व्यापारमा बंगलादेश र भुटानसँग नेपालको व्यापार घाटा क्रमशः १० अर्ब नौ करोड ९९ लाख रुपैयाँ र ७४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । आव २०७८/०७९ मा १० अर्ब ६५ करोड ३५ लाख रुपैयाँ बराबरको सामान बंगलादेशबाट आयात भएको थियो भने नेपालबाट ६० करोड ४५ लाख रुपैयाँको मात्र सामान निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । सोही अवधिमा भुटानबाट एक अर्ब २० करोड ५३ लाख रुपैयाँको सामान आयात भएको थियो भने ४५ करोड ६५ लाख रुपैयाँका मात्र सामान निर्यात भएको थियो । बंगलादेश र भुटानसँग नेपालले यही नाकामार्फत व्यापार गर्दै आएको छ । भारतसँग अरु नाकाबाट पनि व्यापार सञ्चालन हुन्छ । बंगलादेशसँगको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ । बंगलादेशसँग नेपालले आव २०७७/०७८ मा छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार रुपैयाँ र आव २०७६/०७७ मा तीन अर्ब ९९ करोड ४३ लाख ११ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

राजस्व असुली लक्ष्यभन्दा बढी : मेची भन्सार कार्यालय काँकरभिट्टाले आव २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । प्रमुख भन्सार अधिकृत ओलीले सो आवमा १७ अर्ब ५३ करोड १९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको बताए । भन्सारले १५ अर्ब ७५ करोड ४७ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ सय ११ दशमलव २८ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख ओलीले जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थ र सुपारीको आयात पूर्वी नाकाबाट बढी भएका कारण राजस्व संकलनमा वृद्धि भएको हो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x