Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनआईसी एसिया बैंकको निक्षेप ह्वात्तै घट्यो

एनआईसी एसिया बैंकको निक्षेप ह्वात्तै घट्यो

व्यवस्थापनमा ‘आलोकाँचो र रबरस्ट्याम्प’को असर देखिन सुरु


काठमाडौं । वर्षभरमा वाणिज्य बैंकहरुले तीन खर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गर्दा ग्राहकहरुसँग बेइमानी र धोखाधडी गरेर विश्वास गुमाउँदै गएकाले एनआईसी एसिया बैंकको निक्षेप संकलन ह्वात्तै घटेको छ ।

नेपाल बैंकर एसोसिएसनले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालनमा रहेका २६ वटा बैंकहरुमध्ये २४ वटा बैंकहरुको निक्षेप रकम बढ्दा निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरुमा एनआईसी एसियाको र सरकारी स्वामित्वमा सञ्चालित बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप घटेको छ । एसोसिएसनको तथ्यांकअनुसार एनआईसी एसियाले २०७८ असार असार मसान्तसम्ममा तीन खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा २०७९ असार मसान्तमा यस्तो निक्षेप पाँच अर्ब २७ करोड रुपैयाँले घटेर दुई खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँमा सीमित रहेको छ ।

आव २०७८/०७९ मा निक्षेप घटे पनि एनआईसी एसियाले कर्जा रकम भने बढाएको छ । २०७८ असारमा दुई खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको एनआईसीले २०७९ असार मसान्तसम्ममा एक दशमलव २८ प्रतिशतले कर्जा बढाएर दुई खर्ब ६८ अर्ब २४ करोड रुपैयाँ पु-याएको छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकले पनि २०७८ असार मसान्तसम्ममा दुई खर्ब ६४ अर्ब एक करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा २०७९ असार मसान्तमा बैंकको यस्तो निक्षेप सात अर्ब ४६ करोड रुपैैयाँले घटेर दुई खर्ब ५६ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ । निक्षेप घटे पनि वाणिज्य बैंकले पछिल्लो अवधिमा कर्जा रकम भने बढाएको छ । २०७८ असार मसान्तसम्ममा एक खर्ब ९९ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको वाणिज्य बैंक २०७९ असार मसान्तसम्ममा यस्तो कर्जा १४ दशमलव ४६ प्रतिशतले बढाएर दुई खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ पु-याएको छ ।

एनआईसी एसिया बैंकले आफूलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुनपुगेको भन्दै भ्रम फैलाए पनि बैंकको पछिल्लो वित्तीय अवस्था हेर्दा यस्तो भ्रमको पर्दा क्रमशः च्यातिँदै गएको देखिएको छ । उक्त बैंकले आफूलाई देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई एनआईसी बैंकमार्फत सेवा दिन बैंक सफल भएको दाबी गर्दै प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको भन्न पनि पछि परेको छैन ।

यसैगरी वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले दाबी छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको भन्दै बैंकले भ्रम फैलाएको छ । यी यसरी भ्रम फैलाउनुको प्रमुख कारण नै बैंकमा सबैभन्दा बढी निक्षेप आओस् भन्नुको खातिर हो । तर अहिले भने क्रमिकरुपमा आम नागरिकले एनआईसी एसियाको ग्राहक फसाउने रणनीति बुझ्दै गएको देखिएको छ । आम नागरिकको यही बुझाइको प्रतिफल नै एनआईसी एसियाको घट्दो निक्षेप हो ।

एनआईसी एसियाले आकर्षक बचत योजना ल्याएर जनतालाई भ्रम छर्दै गएको छ । उक्त बैंकको सञ्चालक समूहमा भारतीयमूलका विशुद्ध व्यापारी रहेको र ती व्यापारीको एउटै उद्देश्य बढीभन्दा बढी नाफा मात्र रहेकाले एनआईसी एसियालाई उक्त समूहले आफ्नो स्वार्थअनुरुप मात्र चलाएको छ । यो चलाइमा बैंकका व्यवस्थापन प्रमुख भने आलोकाँचो र रबरस्ट्याम्पको रुपमा रहेका छन् । यसले गर्दा पनि एनआईसी एसियाको साख पछिल्लो समय गिर्दै गएको छ ।

आर्थिक वर्ष २०७८/०७९ सम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम भने ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको यस्तो निक्षेप ४१ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यसैगरी आव २०७८/०७९ सम्ममा वाणिज्य बैंकहरुको कुल कर्जा रकम ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकहरुको यस्तो कर्जा ३६ खर्ब ४९ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी आव २०७८/०७९ मात्र वाणिज्य बैंकहरुले तीन खर्ब ४० अर्ब पाँच करोड रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ५४ अर्ब नौ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले आफ्नो वार्षिक निक्षेपभन्दा एक खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । आव २०७८/०७९ मा निक्षेप तथा कर्जा प्रवाह दुवैमा नबिल बैंक अगाडि देखिएको छ । दोस्रो, तेस्रो, चौथो र पाँचौँमा क्रमशः एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक परेका छन् । सोमध्ये एनआईसी एसिया, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप तथा कर्जा रकम दुई खर्ब रुपैयाँभन्दा माथि रहेको छ । यीबाहेकका सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, कुमारीसहितका २१ वटा बैंकहरुको निक्षेप तथा कर्जा रकम भने एक खर्ब रुपैयाँकै हाराहारीमा रहेको छ । 

Open photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x