Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुद्रा भित्र्याउन सहजीकरण गर्ने

विदेशी मुद्रा भित्र्याउन सहजीकरण गर्ने


काठमाडौं । कोरोना–१९ महामारी र रसिया–युक्रेन युद्धका कारण विश्व परिवेशमा देखापरेको आर्थिक समस्या नेपालले पनि भोग्नुप-यो । कोरोना र युद्धका कारण नेपालको विदेशी मुद्रा आर्जन हुने क्षेत्रहरु सुस्त हुनपुग्दा विदेशी मुद्रा सञ्चितिमा समेत असर प-यो जसले गर्दा सरकारले आयातमा रोक लगाउनुपर्ने बाध्यकारी कदम चाल्यो ।

यसैबीच सरकारले राष्ट्र बैंकमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउन सहजीकरण गर्ने बताएको छ । प्रत्यक्ष विदेशी लगानी, विप्रेषण, प्रविधिजन्य व्यापार, नगद मार्जिन लगायतका व्यवस्थामा सहजीकरण गर्दै विदेशी मुद्रा मुलुकमा भित्र्याउन राष्ट्र बैंकले सहजीकरण गर्ने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत जनाएको छ । यसका लागि हाल भएको व्यवस्था तथा नियमलाई संशोधन तथा पुनरवलोकन समेत गरिने बताइएको छ ।

विदेशी विनिमय व्यवस्थापन गर्ने क्रममा विदेशी लगानी आप्रवाहलाई थप स्वचालित गर्न, विदेशी लगानीको समर्थन शाखा कार्यालयको नाफा रिप्याट्रिएसन तथा अन्य देशमा हुने रिप्याट्रिएसनलगायतका विषयमा थप सहजीकरण गर्दा विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा आवश्यक संशोधन गरिने शुक्रबार आर्थिक वर्ष २०७९/०८० मो मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले बाह्य मुलुकबाट विदेशी मुद्रामा ऋण परिचालन गर्ने कार्यलाई सहजीकरण गर्न विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने प्रयोजनका लागि डेरिभेटिभ्ससम्बन्धी विद्यमान नीतिगत व्यवस्थामा पुनरवलोकन गरिनेछ । नेपाल भित्रिने विप्रेषण आप्रवाहको दायरा फराकिलो पार्न नेपाली नागरिक, विदेशी नागरिक र विदेशस्थित संघ/संस्था आदि समेतबाट नेपाली नागरिक र संघ/संस्था समेतले विप्रेषण रकम प्राप्त गर्न सहज हुने गरी विप्रेषणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गरिनेछ तथा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुले विदेशी मुद्रा सटही सुविधा प्राप्त गर्न अनिवार्य रुपमा बैंक खाता हुनुपर्ने लगायत विप्रेषण औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

यस्तै, विदेशी विनिमय व्यवस्थापनको क्रममा नेपाली बैंकिङ भुक्तानी कार्डमार्फत विप्रेषण प्राप्त गर्नसक्ने व्यवस्था समेत गरिने बताइएको छ । बैंकिङ भुक्तानी उपकरणमा विद्यमान विभिन्न विद्युतीय तथा डिजिटल कार्ड धारकले विदेशी बैंकबाट जारी यस्तै कार्डबाट नेपाली बैंक तथा वित्तीय संस्थाले जारी गरेको कार्डमा विप्रेषण प्राप्त गर्न सक्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ । सूचना प्रविधिलगायतका सेवा निर्यात गरी परिवत्र्य विदेशी मुद्रा भित्र्याउने कार्यलाई प्रोत्साहित गर्न आवश्यक नीतिगत व्यवस्था गरिने बताइएको छ ।

यसैबीच केही वस्तुहरुको आयातको लागि प्रतीत पत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रुपमा पुनरवलोकन गर्दै लगिनेछ तथा बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लािग ड्राफट, टीटी जारी गर्दा वा प्रतीत पत्र खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा मूल्यबीच विश्लेषण गरेर मात्र जारी गर्ने÷खोल्नुपर्ने व्यवस्था गरिनेछ । वस्तु तथा सेवा आयातनिर्यातका विधि, यसमा प्रयोग हुने भुक्तानीका तरिका तथा देशगत रुपमा सामान चलान र कर्जा विश्लेषणसँग सम्बन्धित आधारभूत विषयमा बैंक तथा वित्तीय संस्थाहरुमा ट्रेड फाइनान्स तथा कर्जा प्रवाहसम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न कर्मचारीले नियमति रुपमा तालिम लिनुपर्ने व्यवस्था गरिनेछ ।

विदेशी मुद्रा बजारमा हुने जोखिम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । यी व्यवस्थाहरुले गर्दा मुलुकमा आउने विदेशी मुद्रामा बढोत्तरी गर्ने सञ्चितिमा वृद्धि गर्ने राष्ट्र बैंकको लक्ष्य रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x