Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरिसंघले तयार पारेको बजेट कार्यान्वयन योजना सार्वजनिक

परिसंघले तयार पारेको बजेट कार्यान्वयन योजना सार्वजनिक


काठमाडौं । नेपाल उद्योग परिसंघले तयार गरेको बजेट कार्यान्वयन योजना सार्वजनिक गरिएको छ । परिसंघको १९औँ वार्षिक साधारणसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले चालू आर्थिक वर्षको बजेटमा समावेश भएका विषयवस्तुहरुको प्रभावकारी कार्यान्वयन गर्न तयार पारिएको उक्त योजनालाई सार्वजानिक गरेका हुन् ।

बजेट कार्यान्वयनको अवस्था कमजोर रहने गरेको अनुभवबाट पाठ सिक्दै पहिलो पटक परिसंघले बजेटमा गरिएको व्यवस्था कार्यान्वयनका लागि स्पष्ट खाका तयार पारेको हो । परिसंघले बजेटले निर्दिष्ट गरेका लक्ष्यहरू हासिल गर्न सघाउ पुग्ने गरी औद्योगिक विकास, मेक इन नेपालः स्वदेशी, भूमि, ऊर्जा, नवप्रवर्तन, निर्यात प्रवर्द्धन, प्रत्यक्ष वैदेशिक लगानी, कृषि, पूर्वाधार, पर्यटन, साना तथा मझौला उद्योग, सार्वजनिक निजी साझेदारीसम्बन्धी बजेटमा समावेश भएका ५१ वटा बुँदाहरूलाई कार्यान्वयन गर्न एक मार्गचित्र तर्जुमा गरेको छ । यस्तै साधारणसभामा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा सीएनआई प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका थिए । परिसंघले निर्यात प्रवर्द्धनमा योगदान पु-याएबापत गणपति वनस्पति र रिलाइन्स स्पिनिङ मिल्सलाई सीएनआई एक्सपोर्ट अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै परिसंघको राष्ट्रिय परिषद् सदस्य छायाँ शर्मा, परिसंघको राजस्व समिति, परिसंघ प्रदेश नम्बर एक तथा परिसंघको युवा उद्यमी मञ्चलाई समेत सम्मान गरिएको थियो ।

साधारणसभामा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसंघले दिएको सुझाव समेत समेटी राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रवर्द्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधि २०७८ तत्काल पास गरी कार्यान्वयनमा लैजान सरकारसँग माग गरेका छन् । यस्तै उनले निर्यात प्रवर्द्धनका लागि सरकारले हाल निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेकोले इतिहासमै पहिलो पटक नेपालबाट भारतमा सिमेन्ट र छडको निर्यात सुरु भएको बताए । अब विस्तारै अन्य स्वदेशी उत्पादन पनि विदेश निर्यात हुने उनको भनाइ छ । यस्तो सुविधा मूल्य अभिवृद्धि गर्ने अन्य स्वदेशी उत्पादनहरुलाई पनि दिनुपर्ने परिसंघको सुझाव छ ।

यसैगरी उनले कोभिडको असरबाट बिस्तारै बाहिर आउन लागिरहेको बेलामा लगानी योग्य रकमको अभावले उद्योगी व्यवसायीलाई पिरोलेको बताए । बजारमा माग घटिरहेको र जसरी कोडिभको बेलामा अर्थतन्त्र चलायमान हुन नसक्दा अर्थतन्त्र ऋणात्मक रहन पुग्यो, त्यसैगरी अहिले लगानी विस्तार हुन नसक्दा, मागमा निरन्तर गिरावट आउँदा अर्थतन्त्रमा थप जोखिम पर्नसक्ने चिन्ता बढेको उनको भनाइ थियो । उनका अनुसार लगानीयोग्य तरलताको अभाव, भुक्तानी असन्तुलन, विश्व भू–राजनीति र मूल्यवृद्धि, औद्योगीकरण, निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन र खुम्चिँदो समग्र माग अर्थतन्त्रका विद्यमान चुनौती हुन् ।

अर्थतन्त्रका यस्ता चुनौती सामना गर्दै सरकारले बजेटमार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी र उद्योग क्षेत्रमा दोस्रो चरणको आर्थिक सुधारको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यस्तै उनले घ्यू, तेल, वायर रड, स्यानेटरी प्याड, कपडालगायतका उद्योगहरूलाई स्वदेशी एवं भारतीय नीतिका कारण निकै अप्ठ्यारोमा पारेको बताए । खर्बौँको लगानी भएका र हजारौँलाई रोजगारी दिइरहेका यस्ता उद्योगहरूको संरक्षणका लागि उनले प्रधानमन्त्रीसँग आग्रह गरे ।

कार्यक्रममा उनले सूचना प्रविधि क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्ने प्रचुर अवसर रहेको भन्दै सूचना प्रविधि निर्यातमा शतप्रतिशत मूल्यअभिवृद्धि (भ्यालु एडिसन) हुने भएकाले यस क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सूचना प्रविधि (आईटी) पार्कको अवधारणालाई कार्यान्वयन गरी निजी क्षेत्रको सहभागितामा बनाउन पनि उनले अग्रह गरे । यस्तै उनले विद्युत् व्यापारमा निजी क्षेत्रको संलग्नता सुनिश्चित गर्न माग गरे । यस्तै उनले चालू आर्थिक वर्षका लागि सार्वजनिक भएको मौद्रिक नीति कसिलो भएको बताए । हरेक तीन महिनामा समीक्षा हुने मौद्रिक नीतिले उद्योग तथा निर्यातयोग्य उत्पादनलाई सहजता प्रदान गर्ने नीति अवलम्बन गर्नुपर्ने उनको सुझाव छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको साधारणसभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठ, परिसंघका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीलगायत प्रतिष्ठित, उच्च सरकारी अधिकारीहरु, प्रतिष्ठित उद्योगी व्यवसायीहरुलगायत सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x