Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुमा पैसा जम्मा गर्ने बढे

बैंकहरुमा पैसा जम्मा गर्ने बढे

दुई खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा पाँच खर्ब ५३ अर्ब रुपैयाँ कर्जा


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप पाँच दशमलव सात प्रतिशतले बढेको हो । यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा १३ दशमलव पाँच प्रतिशतले विस्तार भएको छ ।

राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ को ११ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले दुई खर्ब ६६ अर्ब निक्षेप संकलन गरी पाँच खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले पाँच खर्ब ८८ अर्ब निक्षेप संकलन गरी सात खर्ब ९९ अर्ब कर्जा प्रवाह गरेका थिए । आर्थिक वर्ष आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा बैंक तथा वित्तीय फाइनान्स कम्पनीहरुले २३ अर्ब ३८ करोडको ऋणपत्र जारी गरी वित्तीय स्रोत परिचालन गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ३७ अर्ब १० करोडको ऋणपत्र जारी गरेका थिए । २०७८ चैत मसान्तमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात एक दशमलव ३२ प्रतिशत, विकास बैंकहरुको एक दशमलव ४९ प्रतिशत र फाइनान्स कम्पनीहरुको सात प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः एक दशमलव ४१ प्रतिशत, एक दशमलव ३० प्रतिशत र छ दशमलव १९ प्रतिशत रहेका थिए ।

बैंकले वित्तीय क्षेत्र सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने तथा गाभिने नीतिगत व्यवस्था गरेपश्चात् २०७९ असार मसान्तसम्म कुुल दुई सय ४५ बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने प्रक्रियामा सामेल भएका छन् । यीमध्ये एक सय ७८ संस्थाहरुको इजाजत खारेज भई ६७ संस्था कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । आव आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा एउटा वाणिज्य बैंकले अर्को वाणिज्य बैंक प्राप्ति गरी एकीकृत कारोबार सुरु भएको छ । त्यसैगरी, चारवटा वाणिज्य बैंकहरु एक आपसमा गाभिएर दुई वाणिज्य बैंक बन्ने सैद्धान्तिक सहमति प्रदान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा थप दुईवटा वाणिज्य बैंकहरु गाभ्ने तथा प्राप्ति प्रक्रियामा सहभागी हुने गरी समझदारी सम्पन्न राष्ट्र बैंकको भनाइ छ ।

यसैगरी राष्ट्र बैंकले पछिल्लो अवधिमा वित्तीय पहुँच पनि बढ्दै गएको जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार छ सय ८३ वटा रहेकोमा २०७९ असार मसान्तमा यस्तो शाखा संख्या ११ हजार पाँच सय २८ पुगेको छ । शाखा विस्तारसँगै उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या दुई हजार आठ सय ४४ बाट घटेर दुई हजार पाँच सय ३२ कायम भएको छ । राष्ट्र बैंकका अनुसार सातवटा प्रदेशका ७७ वटा जिल्लामा रहेका सात सय ५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखाहरु विस्तार भएका छन् । सो अनुसार अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या एउटा मात्र रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x