Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्ततः छुटे सरकारी जग्गा कीर्ते–काण्डमा फसाइएका ७२ वर्षीय वृद्ध

अन्ततः छुटे सरकारी जग्गा कीर्ते–काण्डमा फसाइएका ७२ वर्षीय वृद्ध


काठमाडौं । अन्ततः सरकारी जग्गा कीर्ते–काण्डमा पक्राउ परेका भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ७२ वर्षीय वृद्ध केशव प्रसाद अधिकारी छुटेका छन् । मुद्दा विचाराधीन अवस्थामा उनी धरौटीमा छुटेका हुन् ।

एउटा वृद्ध शरीर, त्यसमाथि प्रेसरसँगै अन्य स्वास्थ्य समस्या, त्यसमाथि पनि कसैले हुँदै नभएको घटनालाई पैसा र पहुँचको आधारमा प्रशासन समेतलाई पंगू बनाएर समाजको प्रतिष्ठित ज्येष्ठ नागरिकलाई दिएको मानसिक पीडा कस्तो हुँदो हो ? आम नागरिकको कल्पनाभन्दा बाहिरको कुरा हो । तर यस्तै नियतिभोगेका छन्, भक्तपुर चाँगु नारायणका ७२ वर्षीय वृद्धा केशव प्रसाद अधिकारीले । बुढेसकालमा पनि सामाजिक कार्यमा निकै सक्रिय अधिकारी राप्रपा नेपाल भक्तपुरका कोषाध्यक्ष पनि हुन् । २०७९ जेठ १३ गते अधिकारीको लागि निकै नराम्रो दिन बन्यो । उनी राप्रपा जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी थिए । केही व्यक्तिहरु आए । आफूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रहरी भएको र अधिकारीउपर सरकारी जग्गा कीर्ते–काण्डमा पक्राउ पुर्जी जारी भएको भन्दै पक्राउ पुर्जी देखाए । भएको एउटा मोबाइल र आफन्त समेत भेट्न नदिई ७२ वर्षीय वृद्धलाई प्रहरीले लिएर गयो । प्रहरी कार्यालयमा लिएर गएपछि विभिन्न सोधपुछ र अनुसन्धानहरु भए । उनको बूढो शरीरले प्रहरीको कस्टडीमा बस्न सकेन । हस्पिटल भर्ना भए । त्यहीँबाट अनुसन्धानको लागि कहिले कता, कहिले कता लगियो । बयान लिइयो ।उजुरीमा भनेजस्तो सरकारी जग्गा कीर्ते भन्ने कहीँ कतै देखिएन । पहिला व्यक्तिको जग्गा पछि बाटोकोरुपमा प्रयोगमा आएपछि सार्वजनिक बाटोकोरुपमा सरकारी नाउँमा गएको देखियो । त्यसमा अन्य कुनै कैफियत देखिएन ।

पछि जसले सरकारी जग्गा किर्तेसम्बन्धी मुद्दा दायर गरेर गलतरुपमा प्रशासनको दुरुपयोग गर्र्दै अधिकारीलाई पक्राउ गर्न लगाएको थियो । त्यो पक्षसँग मिलापत्र भयो । जग्गा किनबेचका क्रममा दिनुपर्ने, बुझाउनुपर्ने रकम बुझाएपछि मुद्दा टुंगियो । ७२ वर्षीय अधिकारी आफूमाथि लागेको सरकारी जग्गा कीर्तेसम्बन्धी प्रकरणमा प्रहरीबाट छुट्कारा पाए ।

ओरालो लागेको मृगलाई हरिणले पनि खेद्छ भनेझैँ अप्ठ्यारोमा पारेको व्यक्तिलाई झन् अप्ठ्यारोमा पार्न अर्को समूह आइपुग्यो । उक्त समूहले पनि जालझेल गरी वर्षौँअघिको सेयर खरिदबिक्रीसम्बन्धी कार्यमा अधिकारीले सेयर खरिदबापतको रकम नदिएको भन्दै मुद्दा दायर गरियो । अर्बिट इन्टरनेशनल एजुकेसनसँगको सेयर खरिद प्रकरणमा आफू पीडित भएको भन्दै अर्को समूहले ७२ वर्षीय अधिकारीविरुद्ध ठगीको जाहेरी थियो । यथेष्ट प्रमाण नभएको र उक्त जाहेरी कपोकल्पित भएको भन्दै प्रहरीले जाहेरी लिन मानेन । उक्त घटनामा पनि ७२ वर्षीय अधिकारीविरुद्ध केही व्यक्तिहरुले प्रशासनको दुरुपयोग गरे । ती व्यक्तिहरुले सरकारी वकिलमार्फत जाहेरी दर्ता गराएर ७२ वर्षीय अधिकारीलाई पक्राउ गर्न सफल भए । एउटा घटनाबाट भर्खर छुट्कारा पाएका अधिकारी अर्को व्यक्तिको जालझेलमा परे । विनाकारण वषौं पहिला र आफ्नो कुनै गल्ती नै नभएको विषयमा विवादमा तानिए । केही दिन प्रहरीको हिरासतको रुपमा वीर हस्पिटलमा बिताए । उक्त मुद्दामा पनि अधिकारीले सफाइ पाए । यद्यपि यो मुद्दा अहिले टुंगिसकेको छैन, विचाराधीन नै अवस्थामा छ । तर यो बीचमा अधिकारी अदालतले मागेको धरौटी बुझाएर छुटिसकेका छन् ।

वास्तवमा यी दुई घटना त्यस्ता घटना, जसमा पैसा र पहुँचको आधारमा प्रशासनको दुरुपयोग गरिएको छ । आफ्नै व्यावसायिक साझेदार त्यसमाथि पनि ७२ वर्षीय वृद्धालाई केही समूहले आफ्नो स्वार्थसिद्ध गर्न कानुनी तथा प्रशासनिक झमेला दिएको छ । काम गर्दा भएको सानो तलमाथिलाई आधार बनाएर सिंगो सामाजिक प्रतिष्ठा र पेसागत जीवनमा नै आँच आउने गरी प्रशासनको दुरुपयोग गरेको छ । यी यस्ता समूह हाम्रै समाजमा यत्रतत्र, सर्वत्र छरिएर रहेका हुन सक्छन् । यो समूहसँगको हिजोका दिनमा ७२ वर्षीय वृद्धा फसे, सायद अरुपनि फसेका हुन सक्छन्, भोलि अरु पनि फस्न सक्छन्, यी यस्ता तत्वहरुबाट सबैले सचेत हुनुपर्ने बेला आएको छ ।

घटना यस्तो थियो ? काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले यही जेठ १३ गते शुक्रबार सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा दुई जना पाका व्यक्तिहरुलाई पक्राउ ग-यो । पक्राउ पर्नेहरुमा एक जना भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ७२ वर्षीय केशव प्रसाद अधिकारी थिए भने अर्का व्यक्ति भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजु थिए ।

उक्त कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार ७२ वर्षीय केशव प्रसाद अधिकारी समेतले भक्तपुर साबिक सुडाल गाविस–४ ‘क’मा रहेको विभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसँग अनुमति नलिई अनुमति लिएको छौँ भनी झुक्याउनुका साथै कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैनाबापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको भन्ने खबर कार्यालयमा आएको थियो । उक्त खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई भक्तपुर नगरपालिका–१० मालपोत गेटबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई उक्त कार्यालयले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको थियो ।

पक्राउ परेका दुई जनामध्ये एक जना ७२ वर्षीय अधिकारी अहिले कमजोर स्वास्थ्यका कारण अस्पतालमा भर्ना भए । राप्रपाका भक्तपुर जिल्लाका कोषाध्यक्ष समेत रहेका अधिकारीलाई प्रहरीले निकै हतास र केही स्वार्थप्रेरित व्यक्तिहरुको उक्साहटमा दुई दिन लगातार सार्वजनिक विदा हुने अघिल्लो दिन पक्राउ गरेको देखियो । प्रहरीले सरकारी जग्गा कीर्ते समेत गरेको आधारमा पक्राउ गरेको भनी ७२ वर्षीय वृद्धको फोटो नै सार्वजनिक गरेर सामाजिक जीवनमा नै असर पर्नेगरी निकै हतारमा विज्ञप्ति जारी ग-यो । तर उक्त घटना भने विज्ञप्तिमा उल्लेख भएअनुसार नभएको पारिवारिक स्रोतले दाबी ग-यो ।

प्रहरीले सार्वजनिक गरेको सुडाल गाविस ४ ‘क’को ३९९ नम्बर कित्ता जग्गा सार्वजनिक भएको उल्लेख गरी उक्त जग्गा बिक्रीका लागि बैना गरी ठगी गरेको आरोपमा अधिकारी र गाइजूलाई पक्राउ गरिएको थियो । तर उक्त जग्गा पहिला व्यक्तिको भएको र केही समयअघि मात्र नेपाल सरकारको नाउँमा भक्तपुर मालपोत कार्यालयमा दर्ता भएको जानकारी भक्तपुर मालपोतले दियो । भक्तपुर मालपोतका अनुसार सार्वजनिक भनिएको साबिकको सुडाल गाविस ४ ‘क’को ३९९ नम्बरको जग्गा वि.सं. २०७८ पुस २३ गते मात्र नेपाल सरकारको नाउँमा कायम भएको हो ।

पारिवारिक स्रोतका अनुसार जुन समयमा उक्त जग्गा किनबेच भयो त्यो समयमा कि.नं. ३९९ को जग्गा व्यक्तिको नाउँमा नै रहेको थियो । अंशबण्डाको क्रममा कि.नं.३९९ को जग्गा हाल नगरपालिकाको बन्दै गरेको फास्ट ट्रयाकमा परेको जग्गा हो । उक्त जग्गा बाटोको मापदण्डमा पूरै जाने भएपछि जग्गाधनी कृष्ण बहादुर ढुकुछुको नामबाट बाटो कायम भई सार्वजनिक जग्गा भएको देखियो ।

पारिवारिक स्रोत र उक्त जग्गासम्बन्धी प्राप्त कागजातअनुसार बाटोमा पर्ने भएपछि उक्त जग्गा नेपाल सरकारको नाममा गएको खुलेपनि २०७७ चैत ३० गते जाहेरीवाला खोटाङको बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ बस्ने धनिराम राई र रुप सुन्दर चाम्लिङलाई बैना गर्दा व्यक्तिको नाममा नै रहेको जिल्ला मालपोत कार्यालय भक्तपुरबाट प्राप्त कागजातहरुबाट खुल्यो ।

उक्त जग्गा लेनदेनसम्बन्धी जाहेरीवाला र पक्राउ परेका अधिकारीको बीचमा भएको सम्झौतापत्र अनुसार राई र चाम्लिङले छ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्त जग्गा खरिदबिक्रीको लागि बैनापट्टा गरिएको देखियो । बैना गरेको निकै लामो समयसम्म पनि जाहेरीवाला राई समूहले उक्त जग्गा खरिद गर्न नसकेको र बैनाको लागि दिएको चेक समेत बाउन्स भएपछि जग्गा खरिदबिक्रीको विषयमा दुवै पक्षबीच सामान्य विवाद भएको थियो । बैनाबापतको रकम निकाल्न नपाए पनि अधिकारी समूह कारोबारमा मनमुटाव हुन सक्छन्, आपसी समझादारीमा नै सुल्झाउनुपर्छ भन्दै चेक बाउन्स हुँदा समेत मुद्दा मामिलालगायतका कानुनी प्रक्रियामा गएको थिएन ।

छ महिनासम्म राई समूहले जग्गाा पास गर्न नसकेपछि पटक–पटक भाखा सार्दै गएको देखियो । त्यसो गर्दा जग्गा खरिदको लागि विभिन्न सहकारी संस्थाबाट लिएको कर्जाको ब्याज समेत बढ्दै गएको थेग्नै नसक्ने भएपछि अधिकारी समूहले उक्त जग्गा अर्कैसमूहलाई बिक्री गरेको थियो । पछि दोस्रो समूह जसले उक्त जग्गा खरिद गरेको थियो । त्यो समूहले उक्त जग्गालाई विकसित घडेरीकोरुपमा विकास ग-यो । तर यसरी विकास गर्दा कि.नं. ३९९ को पूरै कित्ता जग्गा बाटोमा पर्ने भएपछि उक्त जग्गा नेपाल सरकारको नाउँमा वि.सं. २०७८ पुस २३ गते कायम भएको देखिएको छ ।

अनि सुरु भयो राई र अधिकारी समूहबीच विवाद
राई समूहले जग्गा बैना गरे पनि किन्न नसकेको र लामो समयसम्म जग्गा होल्ड मात्र गरी झुलाएको पारिवारिक अधिकारी समूहको भनाइ छ ।उक्त समूहले बैनाबापत दिएको चेक पनि बाउन्स भएपछि अधिकारी समूहले उक्त जग्गा अर्को समूहलाई बिक्री गरेको हो । त्यसपछि अधिकारी समूहले राई समूहलाई बैनाबापत पहिला दिएको सबै रकम दिए पनि उक्त समूहले रकम लिन नमानेको र प्लानिङको आधा हिस्सा नै चााहियो भनेर अनेकौँ मुद्दा मामिलामा गएको देखियो । अदालतले पनि राई समूहले लगानी गरेको तीन करोडको मात्र हिस्सा दिलाउने देखेपछि राई समूहले अधिकारीलगायत अन्य छ जनालाई मुद्दा नै नलाग्ने विषयमा प्रशासनका केही उच्च व्यक्तिहरु समेतलाई गुमराहमा पारेर पक्राउ गर्न सफल भयो ।

अनि आयो अर्बिट इन्टरनेशलको सेयरको विषय
सरकारी जग्गा कीर्ते–काण्डबाट छुट्कारा पाएलगत्तै ७२ वर्षीय वृद्ध अधिकारीलाई अप्ठ्यारोमा पारेर केही रकम असुल्न पाइन्छ कि भनेर कुनै पनि समस्या नै नभएको अर्बिट इन्टरनेशनलको सेयर खरिद प्रकरणलाई उछालेर एउटा समूह अधिकारलाई थप पीडा दिन उत्रियो ।

उक्त मुद्दामा पनि ठोस प्रमाणविना नै कुनै व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच पु-याउन खोजिएको देखिएको आधारमा प्रहरीले ७२ वर्षीय अधिकारीको विरुद्धको मुद्दामा जाहेरी लिन मानेन । पछि उक्त समूहले प्रशासनको दुरुपयोग गर्दै सरकारी वकिलमार्फत जाहेरी दर्ता गरायो । विवाद नै नभएको विषयमा विवाद निकालेर त्यो समूहले अधिकारीलाई केही समय प्रहरीकै चौघरामा राख्न सफल भयो । अहिले सबुद प्रमाण र तथ्यका आधारमा उक्त मुद्दा टुंगोमा पुग्ने प्रक्रियामा छ । ७२ वर्षीय वृद्ध अधिकारी भने धरौटीमा छुटेका छन् ।

‘खाँदै नखाएको विष लगाउन खोजियो, कहाँ लाग्छ र ?’
आफ्नो चरित्रमा यो उमेरमा आएर लागेको दाग, आफ्नो सामाजिक प्रतिष्ठामा आएको आँचले उनलाई कहीँ कतै बिझाइरहेको छ । यी बिझाइबीच उनी अहिले पूर्ववत् आफ्नो काममा फर्किएका छन् । नियमितरुपमा आफ्नो पूजापाठ, गाई दुहुने, सामाजिक कार्यहरु, छरछिमेकको गाह्रोसाह्रो फुकाउने, धर्मकर्म आदिमा लागेका छन् । ‘खाएको विष पो लाग्छ, खाँदै नखाएको विष लगाउन खोजियो, कहाँ लाग्छ होइन र ?’, ७२ वर्षीय वृद्ध अधिकारीको प्रश्न छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x