Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा प्रशोधन केन्द्र निर्माण’

‘वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा प्रशोधन केन्द्र निर्माण’


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्मती नदीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन् । खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आइबार उद्घाटन गर्दै उनले पशुपति क्षेत्रमा स्वच्छ पानी बग्न थालेपछि धार्मिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने बताए ।

पशुपति क्षेत्रको वाग्मतीमा स्वच्छ पानी बगाउन विसं २०५८ मा सुरु भएको एक करोड ६० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माणले केही सहयोग गरेको र नयाँ प्रशोधन केन्द्रबाट तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन भएपछि यस क्षेत्रको वाग्मतीमा सङ्लो पानी बग्ने आशा गरिएको उनको भनाइ थियो ।

गुह्येश्वरीको फोहर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्णलगायत स्थानमा निर्माण सुरु भएको केन्द्र निर्माणमा पनि तीव्रता दिन प्रधानमन्त्री देउवाले निर्देशन दिए । कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकाको बढ्दो सहरीकरणका कारण पवित्र वाग्मती नदी र यसका सहायक नदीलाई स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरु भएको बताए ।

सरकारको १५औँ योजनाअनुसार प्रशोधनसहितको फोहर पानीबाट लाभान्वित जनसंख्या २० प्रतिशत तथा दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको उनले जानकारी दिए । सरकारको ध्यान सम्पूर्ण नेपाली जनतालाई खानेपानी उपलब्ध गराउनेतर्फ केन्द्रित रहेको भन्दै उनले फोहर पानी प्रशोधनलाई पनि प्राथमिकताका साथ एकीकृतरूपमा अगाडि बढाउनु आजको आवश्यकता रहेको उल्लेख गरे ।

ढल तथा फोहर पानी व्यवस्थापन गर्ने काम विभिन्न निकायबाट भइरहेको र यी निकायबीच उपयुक्त समन्वयको अभावमा अपेक्षित लक्ष्य हासिल गर्न नसकिको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले नयाँ सहरमा अनिवार्य रूपमा फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि योजना बनाइने प्रतिबद्धता जनाए । यस्तै पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानले काठमाडौँ उपत्यकाको वास्तविक सभ्यता वाग्मती र विष्णुमती नदी रहेको उल्लेख गर्दै विष्णुमतीमा पनि फोहर पानी प्रशोधन केन्द्र निर्माण सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राजधानी सहरमा ढलबाट सिधै नदीमा ढल हालिएकाले नदी फोहर बनेको बताए । ढल र वर्षाको पानी छुट्याउन सरोकार भएका निकायले काम गर्नुपर्ने उनको भनाइ छ ।

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले हालसम्म फोहर पानी प्रशोधनमा न्यून उपलब्धि तीन प्रतिशत मात्र भएकामा केन्द्रको निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यसमा वृद्धि हुने बताए । एसियाली विकास बैंकका देशीय निर्देशक आर्नोभ कुशवाहले केन्द्र सञ्चालन भएपछि नदीको फोहर कम गर्न सहयोग मिल्ने र पशुपतिनाथको धार्मिक महत्व बढाउन र वाग्मतीमा स्वच्छ पानी बगाउन सहयोग पुग्ने बताए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले फोहर पानी प्रशोधन गरेर गन्धरहित ग्यास वातावरणमा छोडिने जानकारी दिए । फोहर पानी प्रशोधनबाट निस्किएको ग्यासले विद्युत् निकाली केन्द्र सञ्चालनमा ५० प्रतिशत विद्युत् आपूर्ति हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x