Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमोरङ प्रहरीले पक्राउ गरेको आठ गाडी सुपारीमा प्रधानमन्त्री कार्यालयको चासो

मोरङ प्रहरीले पक्राउ गरेको आठ गाडी सुपारीमा प्रधानमन्त्री कार्यालयको चासो


विराटनगर । गत हप्ता विराटनगरका चर्चित सुपारी व्यवसायीले भारत निकासी गरेको आठ बट्टा सुपारी बोकेका कन्टेनर नेपाल प्रहरीले राजस्व अनुसन्धानमा बुझाएपछि अहिले राजस्व अनुसन्धान कार्यालय सुनसरीले आफ्नो अनुसन्धान अगाडि बढाएको छ ।

विराटनगर भन्सार र भारतीय कस्टमले समेत जाँचपास गरी रीरुट भएर भारत लैजाने क्रममा भारतीय सीमानजिकै रहेको नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको उक्त सुपारी राजस्व अनुसन्धानमा बुझाएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले सुपारी निकासी गर्ने विराटनगरको मनोकामना ट्रेडर्सलाई एक पत्र पठाई सुपारीको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेपछि अहिले राजस्व अनुसन्धान इटहरीले सुपारी निकासीको अनुसन्धान सुरु गरेको हो । राजस्व अनुसन्धानले २०७९–०८० चलानी नम्बर ३९ को पत्रद्वारा प्रोप्राइटर नवीन घिमिरे रहेको मनोकामना ट्रेडर्सले हालसम्म खरिद गरेको र भारत निकासी गरेको सुपारीको सम्पूर्ण विवरणसहितको कागजात यथाशीघ्र उपलब्ध गराउन भन्दै निर्देशन नै दिएको छ ।

प्रधानमन्त्री कार्यलय मातहतमा रहेको राजस्व अनुसन्धानले आफ्नो अनुसन्धान थालेपछि विराटनगरमा रहेका सुपारीका कारोबारी दिनेश राठी, प्रदिप मुरारका र दिपक पोखरेलसँगको सेटिङका बारेमा विभिन्न आशंका बढेर गएको स्रोतको दाबी छ । गत हप्ता मात्रै भारत निकासी गर्न ठिक्क पारेको दुर्ई लाख १९ हजार पाँच सय ९३ केजी सुपारी लोड गरेको भारतीय नम्बरका आठवटा गाडी मोरङ प्रहरीले नियन्त्रणमा लिई इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो ।

तेस्रो मुलुकबाट आयातित सुपारी नेपालमा उत्पादित भएको भन्ने नक्कली कागजात बनाएर विराटनगर र झापाका सुपारी कारोबारीले भारत निकासी गर्न थालेपछि सो विषयमा प्रधानमन्त्री कार्यालयसहित सरोकारवाला सबै निकायको ध्यानाकर्षण भएको छ । राजस्व अनुसन्धानले उत्पादन प्रमाणीकरणदेखि लिएर ‘सर्टिफिकेट अफ ओरीजिन’ जारी गर्नेसम्मका कागजात र निकासीपश्चात् बैंकमार्फत भारतीय रूपैयाँ भुक्तानी भयो कि भएन भन्ने सम्मको अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै पत्राचार गरेपछि सुपारी कारोबारीको होस हवास नै हराएको दाबी पनि स्रोतले गरेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट उक्त सुपारी निकासी प्रकरणमा नक्कली कागजात बनाएर निकासी गरिएको हो वा होइन भन्ने यकिन अनुसन्धान गर्न निर्देशन नै भएको छ । स्रोतका अनुसार बालुटारको निर्देशनअनुसार नै राजस्व अनुसन्धानले पनि छानबिन थालेको बताइएको छ । सम्बन्धित व्यापारीहरूको भने सुपारी छुटाउन भित्रभित्रै खेल सुरू भइसकेको छ । यसरी गैरकानुनी ढंगबाट भन्सारकै बाटो प्रयोग गरेर भारत लैजान लागिएको सुपारीसहितको आठवटा ट्रक प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाए पनि बालुवाटारको सेटिङपश्चात् उक्त सुपारी अनुसन्धान नै नसकी छुट्नसक्ने सम्भावना बढेर गएको पनि व्यवसायीस्रोतको दाबी छ ।

मोरङ प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धानमा बुझाएका आठ बट्टा भारतीय ट्रकहरूमा एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, यूपी ५० बीटी ७२७७, यूपी ६२ बीटी ८१२१, यूपी ५४ टी ६४२९, यूपी ५० एटी ३१५८, यूपी ६२ सीटी ०६२७, यूपी ४५ टी १६२४ नम्बरको ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीमा राखिएको छ । ती ट्रकमा दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम सुपारी रहेको प्रहरीले जानकारी दिएको थियो । अर्कोतिर उक्त सुपारी निकासी गर्ने मनोकामना ट्रेडर्सका सञ्चालक नविन घिमिरे सुपारी व्यवसायी दिपक पोखरेलको पारिवारिक नाता पर्ने भएको हुँदा सुपारी कारोबारी दिनेश राठी र प्रदिप मुरारका दिपक पोखरेलको कारोबारी पार्टनर भएको दाबी पनि स्रोतले गरेको छ ।

यसरी सुपारी कारोबारीको कनेक्सन देखिएपछि विराटनगरमा रहेका सुपारीका कारोबारी दिनेश राठी र प्रदिप मुरारका आफैँ विवादित व्यवसायी भएका कारण यो सुपारी निकासी प्रकरण प्रधानमन्त्री कार्यालयका लागि थप पेचिलो बनेर गएको बताइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x