Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखाद्यान्न र पानीलगायत दैनिक उपभोग्य सामग्री नै गुणस्तरहीन

खाद्यान्न र पानीलगायत दैनिक उपभोग्य सामग्री नै गुणस्तरहीन

११५ वटा मुद्दा दायर


काठमाडौं । हाम्रो बजारमा न्यून गुणस्तरीय सामग्रीहरु छयाप्छयाप्ती पाइन्छ । यसमा दैनिक उपभोग्य सामग्रीदेखि लिएर पटके प्रयोगका सामग्रीहरु समेत रहेको पाइन्छ । सरकारी अनुगमन अभावको फाइदा उठाउँदै बजारमा यस्ता सामग्रीको दबदबा हुने गरेको छ ।

यसैबीच गत आर्थिक वर्षमा मात्र खाद्यान्न, पानी, दूध, दानालगायतका पदार्थ गुणस्तरहीन भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सय १५ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको थियो । जसमा खाद्यान्न एवं दलहन तथा सोबाट बनेको पदार्थसँग सम्बन्धित ३० वटा, दूध तथा दुग्ध पदार्थका १९ वटा, दानाको १८ वटा, प्रशोधित पानीको १४ वटा, चिया/कफीको आठवटा, फल तथा सागपातका सातवटा, मसला पदार्थका पाँचवटा, मसला पदार्थका पाँचवटा, गुलियो पदार्थका तीनवटा, तेल तथा घ्यूजन्यको दुईवटा, सोयससको एउटा र अन्य आठवटा मुद्दा दायर गरिएको थियो । सो अवधिमा खाद्य ऐन तथा नियम एवं न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको आरोप ती उत्पादनकर्ताहरुलाई लागेको थियो । विभागले आफ्नो नियमित काम अर्थात् खाद्य तथा दाना उद्योग एवं बजार निरीक्षण अनुगमन र गुणस्तर नियमन कार्यक्रमअन्तर्गत उक्त काम गरेको विभागका प्रवक्ता मोहन कृष्णा मर्हजनले जानकारी दिए ।

अहिले पनि विभागले बजारमा खाद्य स्वच्छता कायम गर्नसकेको पाइँदैन । काठमाडौं उपत्यकाका मुख्य तरकारीको स्रोत भनेको कालीमाटी फलफूल तथा तरकारी बजार हो । तर त्यहाँ सडेगलेको तरकारी र स्वच्छ तरकारी सँगै रहेको पाइन्छ । अर्कोतर्फ व्यवसायीहरुले सडेगलेको तरकारी समेत बेचेको पाइन्छ । उपत्यकाको हकमा सडकपेटीमा समेत तरकारी पसल राखी किनबेच समेत गर्ने गरेको पाइन्छ । भने भोजनालय, खाजा पसल, होटल तथा रेष्टुरेन्ट समेतमा खाद्य स्वच्छता कायम नगरको सर्वसाधारण अमित आचार्य बताउँछन् । भोजनालय तथा खाजा पसलहरुमा खाद्य स्वच्छताका लागि त्यहाँ कार्यरत कर्मचारीले केही पनि प्रयास गरेको पाइँदैन । तै पनि सोही खानेकुरा खानुपर्ने हाम्रो बाध्यता रहेको उनी बताउँछन् ।

यस्तै, प्रवक्ता महर्जनले गत आर्थिक वर्षमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमअनुसार चार हजार छ सय ६० वटा नमूनाहरु संकलन गरेको बताएका छन् । संकलित नमूनाहरुमध्ये खाद्यान्न÷दलहनजन्यका एक हजार तीन सय १४ वटा, तेल तथा घ्यूजन्यका चार सय ५६ वटा, फल तथा सागपात जन्य पदार्थका पाँच सय १९ वटा, मसलाका तीन सय ७९ वटा, दाना पदार्थका तीन सय सातवटा, चिया कफीका दुई सय १३ वटा, प्रशोधित पिउने पानीको एक सय ८९ वटा, गुलियो पदार्थका एक सय ४२ वटा, दूध तथा दुग्धजन्य एक सय १० वटा, कन्फेक्सनरीका एक सय दुईवटा, नुनका ५३ वटा, मासु तथा मासुजन्यका २७ वटा र अन्य दुई सय २६ वटा गरी कुल चार हजार एक सय २७ वटा नमूनाहरुको विश्लेषण परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये फल तथा सागपातजन्य पदार्थका ६१ वटा, खाद्यान्न/दलहनजन्यका ५३ वटा, प्रशोधित पिउने पानीको २९ वटा, दाना पदार्थका १७ वटा, दूध तथा दुग्ध पदार्थका १५ वटा, तेल तथा घ्यूजन्यका १४ वटा, चिया कफीका १३ वटा, मसलाका छ वटा, गुलियो पदार्थका चारवटा, मासु तथा मासुजन्यको एउटा र अन्य ११ वटा गरी कुल दुई सय २४ वटा नमूनाहरुको परीक्षण प्रतिवेदन प्रतिकूल पाइएको थियो ।

यस्तै, विभागले गत आर्थिक वर्षमा उत्पादन दर्ता र नवीकरण समेत एक हजार छ सय ९० वटा आहारपूरक खाद्य पदार्थ नियमन गरेको छ । गत वर्ष सात सय तीन वटा उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, एक हजार चार सय ८१ वटा उद्योगलाई अनुज्ञापत्र नवीकरण तथा एक हजार छ सय १३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको छ ।

विभागकाले खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको सहकार्यमा श्रीतारा फुड्स र स्पर्श वेकरी उद्योगमा छापा मारी खाद्य अनुज्ञापत्र नलिई सञ्चालनमा रहेको पत्ता लगाएको थियो । थप अनुसन्धानको क्रममा मह उत्पादकको बेकरी समेत रहेका खुल्न आउनुको साथै करिब एक सय २० बोरा म्याद नाघेको, सडेगलेको पाउरोटी सुकाएर पुनः प्रयोग गरेकोले नष्ट गरी हिरासतमा राखी कारबाही अघि बढाएको थियो । यस्तै, मह लक्षित विशेष अनुगमन क्रममा ८९ पटक उद्योग तथा बजार निरीक्षण तथा अनुगमन गरी एक सय २० वटा नमूना संकलन गरिएको थियो । जसमा ३७ वटा नमूनाहरु प्रतिकूल पाइएको थियो ।

अनुगमनकै क्रममा विभागले गर्मी मौसम तथा वर्षायामका कारण झाडापखला लगायत विभिन्न संक्रमित रोगहरु काठमाडौं उपत्यकाका केही स्थानमा देखिएसँगै बजार तथा उद्योग निरीक्षण कार्यलाई तीव्रता दिएको थियो । सो क्रममा दुईवटा खाद्य निरीक्षकको अनुगमन टोलीहरु प्रशोधित पिउने पानी तथा होटल रेष्टुरेन्ट र क्यान्टिनमा बिक्रीवितरण गरिने खाद्य पदार्थको अनुगमन निरीक्षण गरेको थियो । विभागका यस्ता अनुगमन पर्याप्त हुनुपर्ने सरोकारावालाहरु बताउँछन् । विभागको पर्याप्त अनुगमन नहुँदा उपभोक्ताहरु अस्वस्थ खाद्य पदार्थ, पानी लगायतका सामग्री प्रयोग गर्न बाध्य भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x