Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा समितिका निर्णय र जारी निर्देशिकाहरू कार्यान्वयन गर्न निर्देशन

बीमा समितिका निर्णय र जारी निर्देशिकाहरू कार्यान्वयन गर्न निर्देशन


काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताएका छन् । त्यसका लागि समितिका निर्णय र जारी निर्देशिकाहरू बीमा कम्पनीहरूले कार्यान्वयन गर्नैपर्ने उनले बताए ।

बीमा समितिले निर्जीवन बीमासम्बन्धी समसामयिक विषयमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग शुक्रबार गरेको अन्तरक्रिया कार्यक्रममा उनले बीमा क्षेत्रका कहाँ कहाँ कमी कमजोरीहरू छन् भन्ने बीमा समितिले देखाएको र त्यस्ता कमीकमजोरीहरूलाई दोहोरिन नदिई सुधार गरेर अघि बढ्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिए । साथै उनले समितिले विभिन्न विषयमा निर्णय गर्नु र निर्देशिकाहरू जारी गर्नुभन्दा अगाडि बीमा कम्पनीहरूसँग पर्याप्त छलफल गरी सुझावहरू लिएर मात्र गर्ने गरेको उल्लेख गर्दै समितिका निर्णय र जारी निर्देशिकाहरू अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

बीमा कम्पनीहरूलाई सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न, तोकिएको दरभन्दा कममा बीमा नगर्न, जोखिमांकनमा कमीकमजोरी हुन नदिन, तोकिएको समयमा बीमादाबी भुक्तानी गर्न र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा गएर बीमाको प्रचार प्रसारमा समेत योगदान पुग्ने गरी काम गर्न उनले निर्देशन दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमा व्यवसायमा देखिएका समस्याहरूका बारेमा छलफल गरी त्यस्ता समस्याहरू समाधान गर्दै जाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यकारी निर्देशक पौडेलले विशेषगरी कृषि तथा पशुपन्छी बीमामा दाबी भुक्तानी नपाएको भन्ने धेरै गुनासाहरू आउने गरेको र सम्पत्ति बीमा, सामुद्रिक बीमा तथा दुर्घटना बीमामा पनि समस्याहरू देखिएको उल्लेख गर्दैै ती समस्याहरूको समाधान खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमकको सुपरीवेक्षण, कृषि, लघु तथा पुनर्बीमा, निर्देशक पूजन ढुंगेल (अधिकारी)ले बीमालेखसम्बन्धी समस्या र समाधानका उपाय तथा निर्देशक दिनेश कुमार लालले जोखिमांकनमा देखिएका समस्या एवं चुनौती र समाधानका उपाय सम्बन्धमा छुट्टा–छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिका क्रममा उनीहरूले बीमा क्षेत्रबाट पूर्वाधार र राष्ट्रिय महत्वका क्षेत्रमा लगानी नगरिनु, लगानी स्वीकृतिका लागि बीमा समितिमा पेस गर्दा जोखिमको विश्लेषण नगरिनु, तोकिएको रेटिङभन्दा कमसल पुनर्बीमा कम्पनीसँग कारोबार गरिनु, कृषि तथा पशुपन्छी बीमामा साना साना दाबीको भुक्तानी नदिइनु, बीमालेख विकास गर्दा पर्याप्त अध्ययन एवं अनुसन्धान नगरिनु, समितिमा बीमालेख स्वीकृतिका लागि पेस गर्दा पर्याप्त कागजात पेस नगरिनु, जोखिम व्यवस्थापन प्रभावकारी नहुनु, सूचना प्रविधिको उचित प्रयोग नगरिनु, बीमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता नदिइनु, शंकास्पद कारोबार पहिचानसम्बन्धी संयन्त्र स्थापना नगरिनु र बीमकले आफ्ना शाखा कार्यालयहरूमा पर्याप्त अधिकार प्रत्यायोजन नगर्नुलगायतका विभिन्न समस्याहरू रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिबाट भएका निर्णय र जारी निर्देशिकाहरू कार्यान्वयन गर्न कम्पनीहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय पूर्वाधारका क्षेत्रमा लगानी गर्न निर्जीवन बीमा कम्पनीहरू तयार रहेको, कृषि तथा पशुपन्छी बीमामा सरकारले घोषणा गरेको अनुदान आउन ढिलाइ हुनेगरेको गुनासो गरे । कार्यक्रममा सबै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x