Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपर्यटन पुनरुत्थानमा तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजना आवश्यक

पर्यटन पुनरुत्थानमा तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजना आवश्यक


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनमा तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजना आवश्यक रहेको बताएका छन् । पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा मन्त्री श्रेष्ठले शुक्रबार उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका थिए । कार्यक्रममा उनले तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।

पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजना सुनाउँदै उनले उपत्यकाका महानगर र नगरपालिकाको पनि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए । उनले कार्ययोजनामा रहेको स्थानीय तहसँग समन्वयमा गरिने विषयहरुबारे जानकारी दिँदै सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए । पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदायात्राको सुरुवात गर्ने योजना छ । साथै विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने, पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ’होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना रहेको बताउँदै उनले स्थानीय तहबाट सहयोगको अपेक्षा गरे । महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्न लागिएको पनि उनले बताए ।

पर्यटन आगमन विन्दुहरुमा शौचालय तथा विश्राम कक्ष निर्माण गर्ने, विमानस्थलदेखि उपात्यकामा मुख्य स्थानहरुमा विद्युतीय बस सञ्चालन गर्ने, उपत्यकाभित्रका मुख्य ऐतिहासिक सम्पदाहरु घुम्ने पर्यटकको सुविधाका लागि एकद्वार प्रणालीबाट प्रवेश अनुमति दिने, पर्यटक बसपार्क निर्माण गर्ने लगायत विषयमा छलफल भएको थियो । सो अवसरमा रात्रिकालीन पर्यटन प्रारम्भ र प्रवर्द्धनमा हुने चुनौतीबारे पनि छलफल भएको थियो ।

महानगर र नगरपालिकाका प्रमुखहरुले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, पूर्वाधारका रूपमा पुरातात्विक तथा सांस्कृतिक पदमार्ग निर्माण, साइकलिङ र अन्य पर्यटन पूर्वाधार निर्माणमा हुनसक्ने सहकार्यबारे धारणा राखेका थिए । उनीहरुले सम्पदा र पर्यटकीय दृष्टिकोणले आफ्नो नगरपालिका क्षेत्रमा भएका सम्भावनाहरुबारे पनि जानकारी दिएका थिए । पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र व्यवस्थापनमा साझा योजनासहित अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x